जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले आज पत्रकार सम्मेलन गरेर पार्टी विभाजनबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बुधबार बिहान ११ बजे पत्रकार सम्मेलन राखिएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए।
‘पत्रकार सम्मेलनअघि हाम्रो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको छ,’ प्रवक्ता सुमनले नेपालखबरसँग भने, ‘बैठक सकिएलगत्तै अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन सम्बन्धि आफ्नो धारणा सार्वजनिक गर्नुहुनेछ।’
यादव पक्षले जसपाको विभाजनलाई असंवैधानिक भनेको छ। उसले संसद अधिवेशन आह्वान भइसकेको, दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएको र पार्टीका बहुमत केन्द्रीय सदस्य आफूसँगै रहेको अवस्थामा दल विभाजन हुन नसक्ने ठहरसमेत गरेको छ।
दल विभाजनविरुद्ध यादव पक्ष अदालत जाने सम्भावनासमेत रहेको सो दलका नेताहरुले बताएका छन्।
‘तपाईंहरु पार्टी विभाजनविरुद्ध अदालत जान लाग्नु भएको हो?’ यो प्रश्नमा प्रवक्ता सुमनले भने, ‘यी सबै विषयमा आजको पत्रकार सम्मेलनमा हाम्रो अध्यक्षले आफ्नो धारणा सार्वजनिक गर्नुहुनेछ।’
यादव अमेरिका भ्रमणमा रहेकै बेला गएको सोमबार नेता अशोक राईले आफूसमेत सात जना सांसदलाई साथमा लिएर जसपा विभाजन गरेका हुन्।
पार्टी विभाजनपछि अब उपेन्द्र यादवको पक्षमा ५ जना मात्रै सांसद छन्। अध्यक्ष यादव अहिले सरकारको उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री छन्।
जसपा विभाजनपछि गठन भएको राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले मान्यता दिइसकेको छ।
Shares
प्रतिक्रिया