उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताएका छन्। साथै उनले सहकारी प्रकरणमा ‘छानबिन समिति बनाए हुन्छ तर संसद्मा बोल्न पाउनुपर्छ’ भने।
आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले सार्वभौम संसद्मा सबैले बोल्न पाउनुपर्ने बताउँदै आफूलाई लागेको आरोप प्रमाणित गर्न चुनौती दिए।
‘छानबिन समिति बनाए पनि हुन्छ। तर संसद्मा बोल्न पाउनुपर्छ’, उनले भने,‘ नेपाली कांग्रेसले संसद् र आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘यसो गर, त्यसो नगर’ भनेर आदेश दिने होइन।’
सहकारी ठगीका मुख्य आरोपित जीबी राईलाई नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए। उनलाई पक्राउ गर्न प्रक्रियागत काम भइरहेका उनले जानकारी दिए।
उनले भने, ‘ राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको छ।’
उक्त देशसँग प्रत्यर्पण सन्धि नभएकाले केही समस्या भएको बताउँदै उनले त्यसलाई समाधान गरेर राईलाई चाँडै पक्राउ गरिने प्रतिबद्धता व्यक्त गरे। रासस
Shares
प्रतिक्रिया