ad ad

राजनीति


सत्तारुढ दलका प्रमुख सचेतकसँगको छलफलमा प्रधानमन्त्री

सत्तारुढ दलका प्रमुख सचेतकसँगको छलफलमा प्रधानमन्त्री

नेपालखबर
जेठ ६, २०८१ आइतबार १८:२, काठमाडौँ

प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रधानमन्त्री प्रचण्डले सचेतकहरूसँग छलफल गरेका हुन्। 

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतकहरूसँग बसेर उनले सदन खुलाउनेबारे छलफल गरेको उनको सचिवालयले जनाएको छ।

दुई पटक स्थगित गरेर अपरान्ह साढे ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक ६ बज्दा पनि सुरु हुन सकेको छैन। 

आजको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्न लगाउने तयारी छ। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा लगाएको आरोपबारे गृहमन्त्री लामिछानेले जवाफ दिन लागेका हुन्। 

जसका लागि केहीबेरमा प्रतिनिधिसभा बैठक सुचारु हुुँदैछ। 

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, आजको बैठकमा गृहमन्त्रीले सम्बोधन गर्नेबाहेकका कुनै कार्यसूची अघि बढ्दैनन्। 

‘गृहमन्त्रीजीले बोल्दा आज प्रतिपक्षीले अवरोध गर्दैन। त्यसपछि आजको हाउस अन्य कार्यसूची रहँदैन,’ उनले भने।

लगत्तै संसदीय छानबिन समितिसम्बन्धी टीओआर लेखन कार्यदलको बैठक बस्ने उनले जानकारी दिए। ‘त्यसपछि पनि बैठक बसेर हामी अघि बढ्छौँ, अहिलेसम्म कुरा टुंगिएको छैन, हामी यो बैठकपछि फेरि बस्छौँ,’ उनले भने। 

आइतबार बिहान झण्डै ९ बजेदेखि सिंहदरबारमा कार्यदलका सदस्यहरू छलफलमा जुटेका थिए। कार्यदलमा सहमति जुट्न नसकेपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखक, केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की लगायतका नेताहरू पुगेका थिए। 

यद्यपि सहमति जुट्न सकेन। 

सहमति नजिक पुगेपनि अझै केही छलफल बाँकी रहेको भन्दै नेताहरू अहिले संसद् भवन पुगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .