राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा यात्रा’ सुरु गरेका छन्। पार्टीको नीति, निर्णय र सांगठनिक संरचनाका सबल र दुर्वल पक्ष पहिचानका लागि डा. ढकालले असार ५ गतेसम्म देशभर यात्रा गर्ने रास्वापाले जनाएको छ।
पार्टी केन्द्रीय कार्यालयमा समीक्षा यात्राकाका लागि घण्टी दिएर बिदाइ गर्दै सभापति रवि लामिछानेले महामन्त्री ढकालमार्फत विभिन्न पक्षबाट प्राप्त हुने सुझावले पार्टीलाई चुस्त–दुरुस्त र थप जनमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
वैशाख २१ गते बसेको सचिवालय बैठकले महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाउने निर्णय गरेको थियो। यात्रा क्रममा आफूले पार्टीको राजनीतिक र सांगठनिक अवस्थाबारे प्रदेश र जिल्ला तहबाट रिपोर्टिङ लिने र नागरिकका समस्या बुझ्ने महामन्त्री ढकालले जानकारी दिए।
‘हामीले कहाँ सही र गल्ती गर्यौं, के गर्नु हुन्न र गर्नुपर्छ भन्नेबारे तल्लो तहबाट सुझाव लिन यात्रा गर्न लागेको हुँ’ महामन्त्री ढकालले भने, ‘प्राप्त सुझाव केन्द्रीय समितिमा छलफल गरेर पार्टी सुदृढीकरणको पक्षमा उपयोग गर्छौं।’
महामन्त्री ढकालका अनुसार यात्रामा सांसद र केन्द्रीय सदस्यहरु बीच–बीचमा जोडिने छन्। एक महिने यात्रामा महामन्त्री ढकाल ३२ जिल्ला पुग्नेछन्। काठमाडौंबाट सुरु हुने यात्रा डोल्पा पुगेर टुंगिदासम्म महामन्त्री ढकाल ४८ वटा समीक्षा बैठकरकार्यक्रममा सहभागी हुनेछन्।
Shares
प्रतिक्रिया