ad ad

राजनीति


बाँस्कोटाको अडियो प्रकरणमा माधव नेपालको प्रश्न, ओलीको यस्तो जवाफ

बाँस्कोटाको अडियो प्रकरणमा माधव नेपालको प्रश्न, ओलीको यस्तो जवाफ

सागर न्यौपाने
फागुन १०, २०७६ शनिबार १६:२२,

नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बाँस्कोटा संलग्न अडियो प्रकरण छानविन गर्न पार्टी सचिवालय बैठकमा माग गरेका छन्।

शनिबार बालुवाटारमा नेपाललाई जवाफ दिँदै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने यो विषयमा पार्टी होइन सरकार जोडिएकाले सरकारले नै छानविन गर्ने बताए।

सुरक्षण प्रेस खरिद सम्बन्धमा स्वीस कम्पनीका नेपाली एजेण्टसँग कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बाँस्कोटाले बिहीबार राजीनामा दिएका थिए।

बाँस्कोटाको राजीनामापछि शनिबार पहिलो पटक बसेको सचिवालय बैठकमा यो विषयले प्राथमिकता पाएको हो। आफ्नो विश्वास पात्र तथा सबभन्दा निकटको सम्बन्ध भएका मन्त्री बाँस्कोटालाई राजीनामा गराएका प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै वरिष्ठ नेता नेपालले छानविन माग गरेका हुन्।

‘बाँस्कोटाले कमिसन मागेको अडियो टेप प्रकरण के हो? यसबारे छानविन गर्नुपर्‍यो’, बैठकमा नेपालको भनाइ उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने, ‘जवाफमा प्रधानमन्त्री ओलीले यसमा पार्टीभन्दा सरकार जोडिन्छ, यो सरकारको विषय भएकाले सरकारले नै छानविन अगाडि बढाउँछ भन्नुभयो।’

पार्टीका अर्का बरिष्ठ नेता झलनाथ खनालले पनि टेप प्रकरणको छानविन गरि छिट्टै वास्तविकता बाहिर ल्याउनु पर्ने माग गरेका छन्।

‘अडियो प्रकरणले पार्टीलाई गम्भीर धक्का लागेको छ, यसबारे छिट्टै वास्तविकता बाहिर नल्याए समस्या पर्छ’, खनाललाई उद्धृत गर्दै अर्का  एक सदस्यले भने।

करिब ५५ अर्बको अमेरिकी आर्थिक सहयोग एमसीसी परियोजना संसदबाट अनुमोदन गर्ने विषयमा सहमती जुटाउन डाकिएको बैठकमा सञ्चारमन्त्री बाँस्कोटाले कमजोरी गरेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराइएको हो।

बैठकमा राष्ट्रियसभामा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने एक जना सदस्यको विषयमा पनि छलफल भएको छ। नेकपा उच्च स्रोतहरूले त्यो कोटामा पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई नै लैजानेबारे छलफल भएको जनाएका छन्।

सचिवालय बैठक लगत्तै अध्यक्ष प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगे। जहाँ उनले राष्ट्रियसभामा मनोनित गर्ने एउटा कोटाको बारेमा कुरा गरेको बुझिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .