स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सबै सरकारी अस्पतालहरुको सेवामा सुधार ल्याउने बताएका छन्।
बुधवार अपरान्ह स्वास्थ्य सचिव डा. रोशन पोखरेलसहित वीर अस्पतालको सबै शाखाको अनुगमन गरेपछि सञ्चारकमीमाझ उनले सो प्रतिक्रिया दिएका हुन्।
उनले आफूले वीर अस्पतालबाट सरकारी अस्पतालहरुको अनुगमनको काम शुरु गरेको उल्लेख गर्दै सबै अस्पतालहरुको अनुगमन गरी सुधार गर्ने दृढता व्यक्त गरे। त्यस क्रममा मन्त्री यादवले समयमै आफ्नो ड्युटीमा नआउने चिकित्सकहरुलाई तत्काल कारबाही गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए।
त्यस क्रममा उनले तत्कालिन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सो अस्पतालबाट धेरै जनशक्ति हटाएको विषयमा चासो व्यक्त गर्दै त्यसबारे पनि खोजी गर्ने बताए। मन्त्री यादवले सेवाग्रहीलाई सहज सेवा उपलब्ध गराउन पनि वीर अस्पतालको व्यवस्थापनलाई सचेत गराए। मन्त्री यादवसहितको टोलीले अस्पतालको आकस्मिक सेवा, सर्जरी सेवा, फार्मेसी सेवालगायतको अनुगमन गरेको हो।
अनुगमनपछि मन्त्री यादवले भने, ‘हिजोको दिनमा पनि धेरै जनशक्ति यहाँबाट हटाइयो। के कारणले हटाइयो? त्यो विषयमा पनि म बुझ्छु। र, यसलाई मैले गम्भिरतापूर्वक लिएको छु। मेरो मनले भन्छ–म यो कार्यान्वयन गरेर देखाउँछु।’
त्यस अवसरमा मन्त्री यादवलाई अस्पतालका उपकुलपति प्रा. डा भूपेन्द्रकुमार बस्नेतलगायतका पदाधिकारीहरुले अस्पतालको सेवाको अवस्था र त्यसका लागि प्रवन्ध गर्नुपर्ने व्यवस्थाका विषयमा जानकारी गराएका थिए।
Shares
प्रतिक्रिया