सहकारी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश तयार पार्न गठित कार्यदलको बैठक आज (बिहीबार) पनि बस्दै छ।
कार्यदल सदस्य रहेका नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले आज दिउँसो ३ बजे कानुन मन्त्रालयमा कार्यदलको बैठक बस्ने जानकारी दिए।
यसैबीच उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वार्ताका बीच आन्दोलन घोषणा गरेर सहमति नगर्ने संकेत देखाएको टिप्पणी गरेका छन्। त्यसैले आज ‘फाइनल कुरा’ गरिने उनले बताए।
‘उहाँ (कांग्रेस) हरू मिल्न तयारजस्तो देखिएन, त्यत्रो वार्ता भइराख्या छ, आन्दोलन घोषणा गर्नु भो’, उनले भने, ‘आज हामी ड्राफ्ट हाम्रो तहबाट फाइनल कुरा गर्छौँ। हाम्रो मात्र होइन, तपाईंहरूको पनि ड्राफ्ट ल्याउनुस् भनेका छौँ। आज फाइनलै हुन्छ।’
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलमा रास्वपाबाट सांसद शिशिर खनाल, नेपाली कांग्रेसबाट ज्ञानबहादुर कार्की र जीवन परियार तथा नेकपा एमालेबाट प्रमुख सचेतक बर्तौला छन्।
यसअघि २/३ पटक बैठक बसे पनि कार्यादेशमा सहमति हुन सकेन।
कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम किटेरै राख्नुपर्ने अडान राखेको छ भने सत्तापक्षका दलले नाम तोक्न नहुने जिकिर गरिरहेका छन्।
यसैबीच बुधबार कांग्रेसले सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछाने पदमा बस्न नमिल्ने भन्दै सडक आन्दोलन घोषणा गरेको छ।
Shares
प्रतिक्रिया