ad ad

राजनीति


एमालेलाई विश्वप्रकाशको जवाफ– यो कोरिया हैन, आरोपको प्रतिवाद गर्न पाइन्छ

‘रौद्ररुप धारणम् हुँदैगर्दा मौनधारणम् अपेक्षा गर्नु गलत’
एमालेलाई विश्वप्रकाशको जवाफ– यो कोरिया हैन, आरोपको प्रतिवाद गर्न पाइन्छ

नेपालखबर
जेठ १४, २०८१ सोमबार १७:५०, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टी स्टेटबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रौद्ररुप धारण गरेर प्रतिक्रिया दिएपछि आफ्नो पार्टीले त्यसको प्रतिवाद मात्रै गरेको बताएका छन्। 

सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सँगै बसेर संविधान लेखेको स्मरणसमेत गरे। 

एउटै संविधानमा ओलीलाई आरोप लगाउने छुट हुँदा आफूहरूलाई प्रतिवाद गर्ने छुट समेत रहेको बताए। 

एमाले उपाध्यक्ष विष्णु पौडेलले सोमबार बिहान बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो पार्टीका अध्यक्षप्रति कांग्रेसले लगाएको आरोपबारे लिखित माफी नमागेसम्म सम्बन्ध राम्रो नहुने चेतावनी दिएका थिए। 

त्यसप्रति प्रतिक्रिया दिँदै उनले भने, ‘यदि उहाँले भन्नुभएको रहेछ भने, मैले भन्ने यतिमात्रै हो। संविधान सँगै बसेर लेखेका हौँ। गलत आरोप लगाउने छुट उहाँलाई छ भने सहि प्रतिवाद गर्ने छुट पनि कांग्रेसलाई छ। यो उत्तर कोरिया होइन, यो नेपाल हो।’

सर्वोच्च अदालतले गिरिबन्धु प्रकरणमा पूर्णपाठ सार्वजनिक गरेपछि ओलीले नै पहिलो पटक आक्रामक प्रतिक्रिया दिएको उनको भनाइ थियो। 

‘पहिलो प्रतिक्रिया, आक्रमक प्रतिक्रिया, रौद्ररुप धारण गरेर आएको प्रतिक्रिया त सम्माननीय पूर्वप्रधानमन्त्री कमरेड केपी ओलीको थियो,’ शर्माले भने, ‘नेपाली कांग्रेसले ५१ बिगा बेचेर कमिसन खायो भन्नुभयो। सँगै बसेर संविधान बनाएका हौँ नि, उहाँले आरोप लगाउन संविधानले छुटदिने, प्रतिवाद गर्न कांग्रेसले उहाँलाई सोध्नुपर्ने?’

शर्माले ‘सहकारी बन्धु गठबन्धन’ भन्दै ओलीप्रति कटाक्ष गरेका थिए। यसबारे संकेत गर्दै एमाले उपाध्यक्ष पौडेलले लिखित माफी माग्नुपर्ने बताएका थिए। 

‘कांग्रेस हुँदै नभएको कुरामा आरोपित गरेपछि मौन धारणम् भनेर हुँदैन। रौद्ररुप धारणम् उता हुँदैगर्दा मौनधारणम् यता अपेक्षा गर्नु गलत हो,’ पौडेलको जवाफमा शर्माले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .