नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको अर्थतन्त्रको केन्द्र वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स बनेको बताएका छन्।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले आयोजना गरेको ‘बधाई, शुभकामना तथा धन्यवाद’कार्यक्रममा उनले नेपालको अर्थतन्त्रको मुख्य माध्यम वैदेशिक रोजगारबाट प्राप्त ‘रेमिट्यान्स’ भएको बताएका हुन्।
महामन्त्री थापाले प्रत्येक वर्ष झण्डै पाँच लाख नेपालीलाई रोजगारी आवश्यक परे पनि देशले रोजगार दिन नसकेका कारण विदेशिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उल्लेख गरे। आगामी एक दशक नेपालका लागि वैदेशिक रोजगार यथार्थ भएको उनको भनाइ थियो।
महामन्त्री थापाले नेपाली कांग्रेसको सङ्गठन विस्तारमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको ठूलो भूमिका रहने बताए। पार्टीले वैदेशिक रोजगारीको क्षेत्रमा नीति बनाउँदै गर्दा एशोसिएसनले महत्त्वपूर्ण राय, सल्लाह सुझाव दिने महामन्त्री थापाले अपेक्षा गरे।
उनले वैदेशिक रोजगार व्यवसायका सम्बन्धमा देखिएका समस्या समाधान गर्नका लागि पार्टी लाग्ने विश्वास व्यक्त गरे। वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, व्यवस्थित, पारदर्शी, मान र सम्मानका साथ सञ्चालनमा लाग्न उनले व्यवसायीलाई आग्रहसमेत गरे।
18
Shares
प्रतिक्रिया