शिक्षा मन्त्री सुमना श्रेष्ठ लक्षित एमालेका अध्यक्ष केपी शर्मा ओलीको टिप्पणीप्रति रास्वपाले आपत्ति जनाएको छ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सांसद शिशिर खनालले ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्। केही दिनअघि ओलीले ‘नेपाल घुम्न आकी, विदेशको केटासँग बिहे गरेकी केटी मन्त्री पो भइन्,’ भनेर टिप्पणी गरेका थिए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यत्ति बोलेको भिडिओ क्लिप्स सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
संसदमा बोल्दै रास्वपा सांसद खनालले सुमनालाई ‘घुम्दा घुम्दै मन्त्री बनेको’ भनेर ओलीले गरेको टिप्पणी आपत्तिजनक रहेको बताए।
उनले नेपालकै इतिहासमा विदेशीसँग विवाह गर्ने नेपाली महिलाहरू सम्मानित रहेको स्मरण गरे। ‘कुनै एउटा यस्तो युग थियो, जहाँ काठमाडौँकी राजकुमारी तिब्बतका राजासँग बिहे गरिन्। जनकपुरकी राजकुमारी अयोध्याका राजकुमारसँग बिहे गरे र ती दुवै पुज्य भए,’ उनले भने।
हेर्नुहोस् भिडिओमा–
तर पछिल्लो समय विदेशमा पढेको, विदेशीसँग विवाह गरेको जस्ता विषयलाई आधार मानेर नेपाली महिलाप्रति अनावश्यक टिप्पणी हुन थालेको उनको भनाई छ।
‘आज यस्तो जमाना आयो विदेशमा उच्च शिक्षा हासिल गरेकी एउटा महिला नेतृ १० वर्ष अगाडि देश फर्किइन्, भूकम्पको बेला औषधि लिएर गाउँ पुगिन्, नाकाबन्दीको बेला ‘कारपुल’ भनेर सडकमा हिँडिरहेका मानिसहरूलाई यात्राको सुविधा प्रवाह गरिन्, उद्यममार्फत रोजगारी सिर्जना गरिन् र राजनीतिमा आइन्। उनलाई भर्खर घुम्दा घुम्दै मन्त्री बनेको भनिएको छ,’ सांसद खनालले भने।
Shares
प्रतिक्रिया