ad ad

राजनीति


१४ किलो सुन प्रकरणका ७ अभियुक्तलाई छाड्न उच्च अदालतद्वारा अस्वीकार

१४ किलो सुन प्रकरणका ७ अभियुक्तलाई छाड्न उच्च अदालतद्वारा अस्वीकार

फाइल तस्बिर


नेपालखबर
जेठ २४, २०८१ बिहिबार १९:९, काठमाडौँ

१४ किलो सुन तस्करी प्रकरणमा थुनामा रहेका अभियुक्तहरूलाई छाड्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ।

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि थुनमुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका प्रतिवादीहरूलाई छाड्न बिहीबार उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र हेमन्त रावलको इजलासले अस्वीकार गरेको हो। 

इजलासले थुनामा पठाउने जिल्ला अदालतकै आदेश सदर गरिदिएको छ। 

१४ किलो सुन तस्करीको अभियोगमा लेकबहादुर तामाङ, रमेश देउला,अनिल श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ, शेरबहादुर बस्नेत, कृष्णकुमार श्रेष्ठ र मीनबहादुर घले थुनामा छन्। 

२०८० पुस २३ गते जिल्ला अदालत काठमाडौँले पक्राउ परेका ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

यसै प्रकरणका अभियुक्त जीवन गुरुङलाई भने जिल्ला अदालतले नै धरौटीमा छाड्ने आदेश भएकाले उच्चले त्यही सदर गरेको छ।

जिल्लाले उनलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो। उक्त धरौटी रकम चर्को परेकाले सामान्य तारेखमा मुद्दाको पुर्पक्ष गर्न पाऊँ भनी उनी उच्च अदालत गएका थिए। त्यस्तै सरकारी पक्षले उनलाई पनि थुनामै राख्नुपर्ने भन्दै उच्च अदालतमा निवेदन दिएको थियो।

दुवै पक्षको माग अस्वीकार गरी उच्च अदालतले जिल्लाकै सदर गरेको हो।

दुबईबाट १४ किलो सुन लिएर आएका गोरखाका चन्द्र घले सुरुमा पक्राउ परेका थिए। उनको बयानका आधारमा थप प्रतिवादीलाई पक्राउ गरेको थियो। 

यो समूहले १३८ किलो सुन तस्करी गरेको तथ्य फेला परेको प्रहरीको दाबी छ। 

उनीहरूविरुद्ध एक अर्ब ४० करोड ५५ लाख रुपैयाँ बिगो तथा दुईदेखि पाँच वर्षसम्मको कैद सजाय माग गर्दै अभियोग दायर गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .