ad ad

राजनीति


बालुवाटारमा संघीयता बलियो बनाउनेबारे छलफल

संघीयताविरोधीहरू प्रदेशमा आक्रमण गरेर व्यवस्थाप्रति अनास्था फैलाउने कोसिसमा छन् : प्रधानमन्त्री
बालुवाटारमा संघीयता बलियो बनाउनेबारे छलफल

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार ९:५३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतालाई राम्रो ‘डेलिभरी’ दिएर मात्र संघीयता बलियो हुने उल्लेख गर्दै त्यसका लागि सबैले सकारात्मक पहल गर्नुपर्ने बताएका छन्।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। 

उनले भने, ‘अन्तरप्रदेश व्यवस्थापिका मञ्च बनाएर संसद्‌को भूमिका प्रभावकारी बनाउन जुन भूमिका खेल्नुभएको छ, यो महत्त्वपूर्ण छ। आवधिक रूपमा यस्ता छलफलहरू जरुरी छ। सरकारले मञ्चका निष्कर्षहरूलाई गम्भीरतापूर्वक लिनेछ। अधिकतम सम्बोधनको प्रयास गर्नेछ।’

छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर र विरोधीबीच बहस भइरहेको टिप्पणी गर्दै जनतालाई राम्रो डेलिभरी दिनुपर्ने बताए। 

उनले भने, ‘हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने पक्षका हौँ। यहाँ सङ्घीयताका विरोधीहरू प्रदेशमाथि आक्रमण गरेर व्यवस्थामाथि अनास्था फैलाउने कोसिसमा छन्। त्यस्तो प्रवृत्तिलाई हामीले निरुत्साहित गर्नुपर्छ। जनतालाई राम्रो डेलिभरी दिएर प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ।’

प्रधानमन्त्रीले सङ्घीय निजामती ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पुर्‍याउन आफूले पहल गरिरहेको बताउनुभयो।

उनले भने,  ‘सङ्घीय निजामती सेवा ऐन संसद्‌बाट छिटो पारित गराउन र प्रहरी समायोजनको काम टुंग्याउन मैले पहल गरिरहेको छु। यो निष्कर्षमा पुगेपछि प्रदेश र स्थानीय तह बलियो हुन्छ। सङ्घीयतामाथि प्रश्न उठाउनेहरू कमजोर हुन्छन्।’

छलफलमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि मन्त्री, कानुनमन्त्री, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, सातै प्रदेशका सभामुख र उपसभामुख, नेपाल सरकारका मुख्यसचिवलगायत उपस्थित थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .