ad ad

राजनीति


सुमना महिला भएकै कारण हेपेर ओलीले स्त्रीद्वेषी अभिव्यक्ति दिनुभयो : गगन थापा (भिडिओ)

सुमना महिला भएकै कारण हेपेर ओलीले स्त्रीद्वेषी अभिव्यक्ति दिनुभयो : गगन थापा (भिडिओ)

नेपाली कांग्रेसले ओलीको अभिव्यक्ति गलत हो भन्न सक्नुपर्ने महामन्त्री गगन कुमार थापाले भनेका छन्


नेपालखबर
जेठ २६, २०८१ शनिबार १५:१७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि अभद्र टिप्पणी गर्नुभएको आरोप लगाएका छन्। 

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सांसद् समेत रहेका थापाले ओलीले महिला भएकै कारणले स्त्रीद्वेषी अभिव्यक्ति दिएको दाबी गरे। 

‘केही दिनअघि नेपालको एकजना पूर्वप्रधानमन्त्रीले अहिलेको बहालवाला मन्त्रीको बारेमा तुच्छ टिप्पणी गर्नुभयो। महिला भएको कारणले हेपेर टिप्पणी गर्नुभयो। त्यो हेपाई र उहाँले दिएको अभिव्यक्ति स्त्रीद्वेषी पनि थियो,’ महामन्त्री थापाले भने। 

ओलीले मन्त्री श्रेष्ठलाई विदेशीसँग बिहे गरेर नेपाल घुम्न आएको बेलामा मन्त्री भएको टिप्पणी गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त अभिव्यक्ति भाइरल भएपछि शुक्रबार आफैँ चितवन पुगेर ओलीले त्यसको जवाफ पनि दिएका थिए। 

भिडिओ:

भरतपुर विमानस्थलमा सञ्चारकर्मीको जिज्ञासाको जवाफमा ओलीले आफूलाई अनावश्यक रुपमा जोड्नु व्यर्थ रहेको बताएका थिए। 

लगत्तै शनिबार थापाले ओलीको अभिव्यक्ति विभेदपूर्ण, गलत र घृणायुक्त रहेको बताए। उनले यस सम्बन्धमा नेपाली कांग्रेसले ओलीको अभिव्यक्ति गलत हो भन्न सक्नुपर्ने पनि बताएका छन्।

‘त्यो विभेदपूर्ण, गलत र घृणाले भरिएको थियो। नेपाली कांग्रेसको एउटा व्यक्तिले त्यो घटनाका बारेमा धारणा बनाउँदै गर्दा नअल्मलिकन धारणा बनाउनुपर्छ,’ महामन्त्री थापाले भने, ‘एउटा पूर्वप्रधानमन्त्रीले, पार्टीको नेताले अर्को पार्टीको नेता, जो बहालवाला मन्त्री हुनुहुन्छ, उसको बारेमा मात्रै होइन, कुनैपनि नेपाली नागरिक र महिलाका बारेमा गरेको यो टिप्पणी गलत छ। कांग्रेसका आँखाले हेर्दा गलत भन्न सक्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .