ad ad

राजनीति


जबजबारे ओलीलाई मात्रै दोष दिन मिल्दैन : माधव नेपाल

जबजबारे ओलीलाई मात्रै दोष दिन मिल्दैन : माधव नेपाल

नेपालखबर
जेठ २७, २०८१ आइतबार १५:११, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेलाई जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नु गलत भएको टिप्पणी गरेका छन्।

अध्यक्ष नेपालले एमालेको आठौँ र नवौँ महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्त भनेर पारित गरेकाले त्यसैलाई मानेर हिँडेको भनेर केपी ओलीलाई दोष दिन भने नहुने अध्यक्ष नेपालको भनाई थियो।

आइतबार काठमाडौँमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले समाजवादी युगमा जबजलाई मार्गदर्शक सिद्धान्त भन्न नमिल्ने र यसको औचित्य समाप्त भयो भनेर भन्न पनि नमिल्ने तर्क गरे।

‘वास्तवमा हाम्रो पार्टीले नै अहिलेको नयाँ चरणमा समाजवादी क्रान्तिको चरणमा समाजवादी कार्यक्रम लिनुपर्दछ भन्ने विचार अगाडि सार्‍यो। अरू पार्टीले भन्न सकेका छैनन्। हिजो नवौँ महाधिवेशनले पनि धेरै गलत कुराहरू अगाडि सार्‍यो। जनताको बहुदलीय जनवादी (जबज) लाई मार्गदर्शक सिद्धान्त भनेर अनि त्यही मार्गदर्शक सिद्धान्तमा अहिले केपी ओली चलिरहेका छन्। अब केपी ओलीलाई के दोष दिनु?,’ अध्यक्ष नेपालले भने, ‘महाधिवेशनले नै पास गरिसकेपछि उनलाई दोष दिने कुरा पनि भएन। त्यसो हुनाले त्यही बेलामा गलत विचार अघि सारिएको थियो। तर हामीले मार्ग दर्शक सिद्धान्त भन्ने पनि होइन, त्यसको औचित्य समाप्त भयो भन्ने पनि सकिँदैन।’

अध्यक्ष नेपालले पार्टीले समाजवादी विचारधारा अघि सारेको दाबी समेत गर्दै आफनो पार्टीले वामपन्थी शक्तिहरुलाई एकतावद्ध बनाएर लैजाने बताए। 

‘हामीले सरकारसँग पनि सहकार्य गरिरहेका छौँ। अहिले समाजवादी मोर्चा नयाँ ढंगले चलाउने कुरामा पनि छलफल चलाइरहेका छौँ। यसभित्र नेकपा विप्लव समूह पनि हामी सँगसँगै जाउ भन्दै हुनुहुन्छ। त्यसैगरी अशोक राईको समूहले पनि मिलेर जाउँ भन्दै हुनुहुन्छ,’ उनले भने, ‘अनि नेपाल समाजवादी पार्टीले पनि मिलेर जाउँ भनिरहेका छन्। त्यसकारण माओवादीसहित यी घटक बसेर छलफल पनि गर्नेछौँ। यी सबै बामपन्थी शक्तिहरूलाई मिलाएर एकतावद्ध बनाएर हामी अगाडि बढ्छौँ। तर हामी जोड के दिन चाहन्छौ भने वर्ग संघर्ष अनि राजनीतिक संघर्ष, राजनीतिक मोर्चा। यी सबै क्षेत्रमा हामीले उत्कृष्टता देखाउन सक्नुपर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .