उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट र अवैध ओसार–पसार नियन्त्रणमा देखिने गरी काम गर्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्।
विराटनगरमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रियामा मन्त्री लामिछानेले लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्नु र चुहावट बढ्नुका कारणबारे जानकारी हुँदाहुँदै पनि सरकारी निकायबीचको समन्वय र सम्वद्ध अधिकारीकै तदारुकता अभावमा प्रतिफल प्राप्त नभएको बताएका हुन्।
सबै कार्यालयका प्रमुखले कानूनले दिएको अधिकार मात्रै निर्धक्क प्रयोग गर्ने हो भने पनि अधिकांश समस्या समाधान हुने उनको भनाइ थियो।
कर्मचारीले आफ्नो कार्यकालमा गर्ने कामको प्राथमिकता निर्धारण गरे मात्र पनि प्रतिफल आउने उनले बताएका थिए।
‘भन्सारमा कसरी अवैध काम भइरहेको छ? गैर–व्यवसायिक काममा को–को संलग्न छन्? उनीहरु कानूनको कुन कमजोर पक्षको फाइदा उठाइरहेको छन्?,’ लामिछानेले भने, ‘सबै कुरा जान्दा–जान्दै पनि गलत क्रियाकलाप नियन्त्रण गर्न नसक्नुबारे गम्भीर समीक्षा गरेर सुधारका कार्ययोजना बनाउनुस्।’
जिल्लामा अवैध गतिविधि भइरहने तर नियन्त्रणको कानूनी अधिकार भएका सुरक्षा अधिकारीहरु त्यसैलाई टुलुटुलु हेरिरहने प्रवृत्ति स्वीकार्य नहुने भन्दै मन्त्री लामिछानेले अधिकार प्रयोगमा हिचकिचाउने र जिम्मेवारी पन्छाउने कर्मचारीविरुद्ध कठोर हुने चेतावनी दिएका छन्।
खुला सीमाका कारण अवैध बाटोबाट विदेशी उत्पादन भित्रिदा नेपाली उत्पादनले बजार नपाउने समस्याप्रति गम्भीर बन्न र बजार अनुगमन बढाएर आन्तिरिक उत्पादनलाई प्रोत्साहनको वातावरण बनाउन पनि सुरक्षा अधिकारीलाई निर्देशन पनि दिएका छन्।
Shares
प्रतिक्रिया