ad ad

राजनीति


कार्यदल बसिरहेका बेला जब वामदेवले संविधान संशोधनको ड्राफ्ट पठाए

कार्यदल बसिरहेका बेला जब वामदेवले संविधान संशोधनको ड्राफ्ट पठाए

सागर न्यौपाने
फागुन १३, २०७६ मंगलबार १६:४,

नेकपा उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रियसभा सदस्य भएर प्रधानमन्त्री बन्न सक्नेगरी संविधान संशोधनको ड्राफ्ट नै तयार पारेर कार्यदल संयोजक माधवकुमार नेपाललाई पठाएको खुलेको छ।

उनले नेकपासँग प्रतिनिधिसभामा दुई तिहाई मत नभएपनि संयुक्त सदनमार्फत संविधान संशोधनको प्रस्ताव पारित गराउन सकिने बाटो पनि देखाएका छन्।

गौतमकै हुटहुटीमा नेकपा सचिवालयले शनिबार संविधान संशोधनका लागि वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय अनौपचारिक कार्यदल बनाएको थियो। कार्यदलमा सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य छन्।

शनिबार कार्यदल गठन भएलगत्तै गौतमले संयोजक नेपाललाई संशोधन प्रस्तावको ड्राफ्ट पठाएको नेकपाका एक सचिवालय सदस्यले नेपालखबरलाई बताए।

नेकपाका एक नेताका अनुसार कार्यदल बनेको भोलिपल्ट आइतबार गौतमले नेपाललाई फोन गरेका थिए।

‘मैले संशोधनको ड्राफ्ट पठाएको छु,’ नेपालसँग गौतमको भनाइ उधृत गर्दै ती नेताले भने, ‘कहाँकहाँ संशोधन गर्ने हो, तपाईंहरुले गर्नुहोला।’

गौतमको फोन आएलगत्तै नेपालले इमेल हेरे र फोनमै जवाफ फर्काए, ‘मैले इमेल पाएँ।’

‘प्रधानमन्त्री हुने हुटहुटी वामदेवलाई कति रहेछ भन्ने माधव नेपाललाई पठाएको संविधान संशोधनको ड्राफ्टबाट पनि देखिन्छ’, ती नेताले भने।

गौतमको फोन आउँदा नेता नेपाल कोटेश्वरस्थित आफ्नै घरमा कार्यदलका अन्य दुई सदस्य नेम्वाङ र देवकोटासँग छलफल गरिरहेका थिए।

त्यो फोन संवाद सुनिरहेका नेम्वाङले ठट्टयौलो पारामा नेपाललाई प्रश्न गरे, ‘संविधान यसैगरी संशोधन गर्ने भए हामीलाई कार्यदलमा राखेर किन बेवकुफ बनाएको?’

संविधान संशोधनजस्तो गम्भीर विषयमा भइरहेको अस्वाभाविक गतिविधि देखेर चकित भएका नेम्वाङ यतिमै रोकिएनन्।

‘वामदेवजीले संशोधनको ड्राफ्ट नै तयार गर्नुभएको रहेछ, त्यसैलाई पार्टीको सचिवालयमा लगेर राखेको भए त भइहाल्थ्यो नि’, नेम्वाङको भनाइ उधृत गर्दै यो घटनालाई नजिकबाट देखेका नेकपाका अर्का एक नेता भन्छन्, ‘त्यही प्रस्ताव सचिवालयले ड्याङ्गै पास गरेको भए त भइहाल्थ्यो। सचिवालयले निर्णय गरेपछि कार्यदलमा ल्याइराख्नै पर्दैैनथ्यो।’

स्रोतका अनुसार अनौपचारिक कार्यदल गठनपछि संयोजक नेपाल हौसिएर काममा लागेका थिए। उनले सदस्यहरु नेम्वाङ र देवकोटालाई आइतबार बिहान ११ बजे आफ्नै घरमा डाकेर छलफल गरेका थिए। तर, दुवै सदस्यले कार्यदलको कार्यादेश के हो? एक व्यक्तिका लागि संविधान नै संशोधन किन गरिँदैछ? जस्ता प्रश्न राखेपछि नेपाल हच्किएका थिए।

प्रतिनिधि सभामा दुई तिहाइ नहुँदा पनि संविधान संशोधन गराउन सकिने वामदेवले सुझाएको उपाय झन् रोचक छ। संसदको तल्लो सदन प्रतिनिधिसभामा अहिले नेकपाको दुई तिहाइ बहुमत पुग्दैन। जसका कारण नेकपा एक्लैले अगाडि बढाएको संविधान संशोधनको प्रस्ताव पारित हुन सक्दैन। तर, यस्तो अवस्थामा पनि संशोधन पारित गराउने योजना उपाध्यक्ष गौतमले अघि सारेका हुन्।

‘पहिले संशोधनको प्रस्ताव राष्ट्रियसभामा पेस गर्ने। त्यहाँ नेकपाको दुईतिहाई मत छ,’ वामदेवले सुझाएको विधि उधृृत गर्दै स्रोतले भन्यो, ‘राष्ट्रियसभामा पारित भएपछि सो प्रस्ताव प्रतिनिधिसभामा पेस गर्ने। पर्याप्त मत नभएपछि प्रतिनिधिसभाले त्यसलाई फेल गर्छ। अनि संयुक्त सदनको माग गर्छ।’

हाल ५९ सदस्यीय राष्ट्रियसभामा नेकपाको ५० मत छ। त्यसैगरी २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा नेकपाको मत १ सय ७४ छ। जसमध्ये तीन जना निलम्बनमा छन्। त्यसैले संयुक्त सदनको संख्या यसबेला ३ सय ३१ हुन आउँछ। दुवै सदन गरी नेकपा सांसदको संख्या २ सय २४ हुन्छ। तर, २ सय १९ जनाले नै सदनको दुई तिहाइ पुग्छ।

संयुक्त सदनमा नेकपाको दुई तिहाइ मत हुनाले सहजै संशोधन पारित हुने सुझाव वामदेवले दिएका छन्।

‘प्रतिनिधिसभामा सीधै प्रस्ताव लगे फेल हुने र राष्ट्रियसभाबाट लगे पारित हुने भएकाले यही विधि प्रयोग गर्न गौतमले सुझाव दिनुभएको थियो,’ स्रोतले भन्यो।

गौतम आफ्नो प्रस्ताव दुई अध्यक्षले पारित गराउने अपेक्षामा थिए।

‘दुई अध्यक्षले चाहनुभयो भने यही फर्मुला प्रयोग गरेर संविधान संशोधन गर्न सक्नुहुनेछ। मुख्य कुरा उहाँहरुले चाहनुपर्यो,’ गौतमको भनाइ उधृत गर्दै उनी निकट स्रोतले भन्यो, ‘संविधान संशोधन पार्टीको हातमा छ। र, दुई अध्यक्षले पहिलेदेखि नै वचन दिनुभएको हो।’

गौतमलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्न प्रधानमन्त्री तथा अध्यक्ष ओली पनि सहमत रहेको स्रोतको दाबी छ।

‘सचिवालयले ओली र प्रचण्डको सहमतिकै आधारमा कार्यदल बनाएको हो। यो पार्टीको सर्वसम्मत निर्णय हो,’ स्रोतले भन्यो।

तर, सचिवालयको निर्णय ओलीलाई मन नपरेपनि अल्पमतमा रहेका कारण स्वीकार्न बाध्य भएको एक नेताले बताए।

सचिवालयको यो निर्णय पनि गोप्य राख्ने सहमति भएको थियो। तर, यो विषय सञ्चारमाध्यममा चुहिएपछि नेताहरु अहिले अप्ठेरोमा परेका छन्।

‘यो अलोकप्रिय एजेन्डा सार्वजनिक भएपछि नेकपालाई अहिले समस्या परेको छ,’ ती नेताले भने। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .