ad ad

राजनीति


मधेसका मुख्यमन्त्रीले मागे माओवादीका मन्त्रीसँग राजीनामा

राजीनामा दिँदैनौँ, हटाइदिनुस् भन्यौँ : समीर भट्टराई
मधेसका मुख्यमन्त्रीले मागे माओवादीका मन्त्रीसँग राजीनामा

नेपालखबर
असार २२, २०८१ शनिबार १३:११, काठमाडौँ

मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले माओवादी केन्द्रका मन्त्रीहरुसँग राजीनामा माग गरेका छन्। 

केन्द्रमा कांग्रेस र एमालेबीच भएको सहमति अनुसार मधेस सरकारमा कांग्रेसलाई सहभागी गराउन सिंहले माओवादी केन्द्रका मन्त्रीसँग राजीनामा मागरेका हुन्। उनले माओवादीसँगै एकीकृत समाजवादी र साना दुई दलका दुई मन्त्रीसँग पनि राजीनामा माग गरेका छन्।

सीके राउत नेतृत्वको जनमत पार्टीका नेता सिंह गएको जेठ २५ गते कांग्रेस बाहेकका दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए। तर, केन्द्रमा एमाले र कांग्रेसबीच भएको सहमति पछि मधेस सरकारमा पनि सत्ता गठबन्धन परिवर्तन हुन लागेको हो। 

माओवादी केन्द्रबाट मधेस सरकारमा उद्योग वाणिज्य तथा पर्यटनमन्त्री रहेका समीर भट्टराईले मुख्यमन्त्री सिंहले आफूसँग राजीनामा मागेको बताए। 

‘उहाँ (मुख्यमन्त्री सिंह) हामीलाई राजीनामा दिनुस् भन्दै हुनुहुन्थ्यो,’ भट्टराईले भने, ‘हामीले तपाईँ मुख्मन्त्रीमा नियुक्त हुँदा पनि हामीले मत दिएका थियौँ। अहिले विश्वासको मत लिँन लाग्दा पनि विश्वासको मत दिन्छौँ भनेका छौँ। हामी राजीनामा दिँदैनौँ। तपाईँलाई हटाउन मन लागे हटाउनूस् भनेका छौँ।’ 

कांग्रेसलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री सिंहले माओवादी केन्द्रका २, एकीकृत समाजवादी २, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक एक मन्त्रीलाई सरकारबाट हटाउन लागेका हुन्।

मुख्यमन्त्री सिंहले आजै प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। तर, बिहान ११ बजे नै बैठक बस्ने भनिए पनि प्रदेशसभा बैठक भने अझै सुरु भएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .