ad ad

राजनीति


अवैध कोइलाखानीमा काम गर्थे मेघालयमा बीभत्स हत्या गरिएका चारै जना

दूतावास भन्छ– त्यो ठाउँमा बाहिरका मान्छेले प्रवेश पाउनै कठिन छ
अवैध कोइलाखानीमा काम गर्थे मेघालयमा बीभत्स हत्या गरिएका चारै जना

मेघालयको पूर्वी जैन्तिया हिल्स (ईजेएच) क्षेत्रमा सञ्चालित एक कोइलाखानी (तस्बिर : वातावरण परिवर्तन र सुरक्षा कार्यक्रम/सीसी–लाइसेन्स)


नेपालखबर
असार २३, २०८१ आइतबार १८:२३, काठमाडौँ

भारतको उत्तरपूर्वी राज्य मेघालयमा नेपालीसहित ४ जनाको बीभत्स हत्या भएको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ। 

घाँटी रेटिएको अवस्थामा भेटिएका शवमध्ये अहिलेसम्म दुईवटाको मात्रै पहिचान खुलेको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) डा. सुरेन्द्र थापाका अनुसार, स्थानीय प्रहरी प्रशासनसँगको समन्वयमा घटनाबारे थप विवरण संकलनको काम भइरहेको छ। 

‘४ जनामध्ये दुई जनाको शव पहिचान भएको छ। एकजना नेपाली र एकजना त्यहीँको स्थानीय हुन्। दुईजनाको पहिचान हुन बाँकी छ,’ आइतबार दिउँसो नेपालखबरसँग टेलिफोन कुराकानीमा थापाले भने, ‘स्थानीय प्रशासनसँग हाम्रो समन्वय भइरहेको छ। प्रहरीसँग पनि कुराकानी गरिरहेका छौँ।’

उनका अनुसार, घटना घटेको ठाउँ नेपालीहरूका लागि अत्यन्तै जोखिमपूर्ण मानिन्छ। 

‘घटना भएको ठाउँ अत्यन्तै खतरनाक क्षेत्र हो। त्यहाँ नेपालीलाई जान जोखिम मानिन्छ,’ थापाले अघि भने, ‘त्यहाँ अवैध कोइला खानीहरू छन्। बाहिरका मान्छेलाई कमै प्रवेश दिन्छन्। यही कारण पनि अनुसन्धानमा समस्या भइरहेको छ।’

मृत अवस्थामा भेटिएका चार जना त्यहीँका अवैध कोइलाखानीमा काम गर्ने गरेको प्रारम्भिक जानकारी आएको उनले बताए। 

‘मृतकहरू पनि कार्यरत कोइला खानीमै हो। इलिगल (अवैध) हो। सायद उहाँहरूको पनि बाध्यता थियो होला,’ उनले भने।

मृत्यु हुनेमा नेपालको इलाम घर भएका रवि राई पनि छन्। यद्यपि उनको यकिन घर ठेगाना पत्ता नलागिसकेको इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताएकी छन्। सुरक्षा संयन्त्रमार्फत ठेगाना पत्ता लगाउने काम भइरहेको उनको भनाइ छ। अन्य पीडितको सनाखत हुने क्रममा रहेको बताइएको छ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर एवं नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले नेपालखबरलाई दिएको जानकारी अनुसार २३ वर्षीय राई आफ्नी दिदीसँग बस्ने गरेका थिए।

यस्तै एकजना धरान र एकजना भोजपुर घर भएका व्यक्ति रहेको प्रारम्भिक जानकारी प्राप्त भएको भनिए पनि त्यसबारे पनि स्पष्ट भइसकेको छैन। 

के भन्छ स्थानीय प्रहरी?
मेघालयको पूर्वी जैन्तिया हिल्स जिल्लामा पर्ने उम्प्लेङ बजार पछाडि शनिबार चार शव फेला परेका थिए। त्यहाँको प्रहरी उपरीक्षकको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार, बिहान साढे ७ बजे टेलफोनबाट शव फेला परेको जानकारी प्राप्त भएको थियो।

तत्कालै घटनास्थलमा पुगेका अधिकारी र कर्मचारीले हात डोरीले बाँधिएको र शरीरमा धारिलो वस्तुले काटिएका धेरै चोटपटक लागेको अवस्थामा चार जनाको शव फेला पारेका थिए। उनीहरूको हत्या भएको देखिएकोले क्राइम सिन युनिट, मोबाइल फोरेन्सिक र मजिस्ट्रेटको संयुक्त प्रयासमा आवश्यक अनुसन्धान एवं कारबाही अघि बढाइएको थियो। त्यस क्रममा घटनास्थलबाट प्रमाण संकलन र स्थानीयबाट जानकारी लिने काम गरिएको थियो।

त्यसपछि पोस्टमार्टमका लागि सबै औपचारिकता पूरा गरी शवलाई सिभिल अस्पताल खिल्हरियात लगिएको थियो। हालसम्म मृतकमध्ये एक जनाको पहिचान रवि राई (२३ वर्ष), इलाम, नेपाल भनेर गरिएको छ।

यस सम्बन्धमा अनुसन्धान भइरहेको र घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रभावकारी अनुसन्धानको लागि अनुसन्धान टोलीलाई सघाउन विशेष टोली गठन गरिएको एसपी कार्यालयको विज्ञप्तिमा उल्लेख छ।

त्यहाँका अधिकारीहरूले मृतकमध्ये तीन जना नेपाली रहेको र एक जना स्थानीय आदिवासी समुदायका व्यक्ति रहेको प्रारम्भिक जानकारी दिएका थिए। त्यसपछि अनुसन्धानबाट प्राप्त कुनै तथ्य प्रहरीले बाहिर ल्याएको छैन।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर एवं नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले प्रहरी र त्यहाँ रहेका अन्य नेपालीबाट घटनाबारे नियमित जानकारी लिइरहेको बताएका छन्।

पूर्वी जैन्तिया हिल्स जिल्लाका प्रहरी उपरीक्षकको कार्यायले जारी गरेको विज्ञप्ति यसप्रकार छ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .