ad ad

राजनीति


२८ गतेसम्म मन्त्रालय भागबण्डा टुंगोमा पुग्छ : बर्तौला

२८ गतेसम्म मन्त्रालय भागबण्डा टुंगोमा पुग्छ : बर्तौला

नेपालखबर
असार २३, २०८१ आइतबार १८:३३, काठमाडौँ

नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नयाँ सरकार गठनका लागि केही समय लाग्ने बताएका छन्। 

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक बर्तौलाले कांग्रेससँगको समझदारी अनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भएपनि मन्त्रालय भागबण्डाको विषय भने टुंगोमा पुगिनसकेको बताए। 

‘सरकारको नेतृत्व हाम्रो दलका नेता केपी शर्मा ओलीले गर्नुहुन्छ। त्यो भन्दा बाहेक मन्त्रालयको बारेमा यस बीचमा हामीले छलफल गर्नेछौँ। त्यो छलफल प्रारम्भिक रुपमा त केही अघि बढेको छ। तर, निर्णयमा हामी पुगेका छैनौँ। मेरो विचारमा भोली–पर्सीसम्ममा एउटा हुन्छ,’ उनले भने।

उनले कांग्रेससँग प्रारम्भिक छलफल भएपनि राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरिएकाले कांग्रेससहितका अन्य राजनीतिक दलहरूसँग फेरि छलफल गरेर मात्रै मन्त्रालयको भागबण्डामा टुंगो लगाउने बताए। 

प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी असार २८ गते विश्वासको मत लिने भएकाले सोही दिन बेलुकासम्म मन्त्रालयको भागबण्डा टुंगो लगाउनेगरी काँग्रेस सहितका दलहरुसँग छलफल हुने पनि बताए।

‘मूलतः २८ गते सम्माननीय प्रधानमन्त्रीजीले तत्कालै आज भोलीनै राजीनामा दिएर एउटा सहज मार्ग प्रशस्त गर्नु भयो भने हामी तयारी अवस्थामा नै रहन्छौँ। अन्यथा २८ गतेसम्म नै जानुपर्ने भयो भने २८ गते बेलुकासम्म कसरी जाने भन्ने मन्त्रालयको भागबण्डाको बारेमा हामी टुंगो लगाउँछौँ। अहिले चाहीँ केही छलफल भएको छ,’ बर्तौलाले भने, ‘टुंगो कुनैपनि लागेको अवस्था रहेन। कति दलहरू हाम्रो यो प्रक्रियामा सहभागी हुन्छन्, राष्ट्रिय सरकार निर्माणको प्रक्रियामा भन्नेकुरा त्यो पनि हामीले सबै दललाई आह्वान गरेको कारणले पनि अन्य दलको रेसपोन्सको आधारबाट पनि मन्त्रालय भागबण्डा गर्नेकुरा हुन्छ। त्यसकारण केही दिन यसले समय लिन्छ भन्ने लाग्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .