ad ad

राजनीति


मेघालयबाट नेपालीको बयान– उनीहरू चार दिनदेखि काममा गएका रहेनछन्

मेघालयबाट नेपालीको बयान– उनीहरू चार दिनदेखि काममा गएका रहेनछन्

घटनास्थल


नेपालखबर
असार २३, २०८१ आइतबार २२:५, काठमाडौँ

भारतको उत्तरपूर्वी राज्य मेघालयको पूर्वी जैन्तिया हिल्स जिल्लाको उम्प्लेङ बजार पछाडि नेपालीसहित ४ जनाको बीभत्स हत्या भएको घटनाबारे अनुसन्धान सुरु भएको छ। 

४ जनामध्ये अहिलेसम्म इलामका रवि राईको पहिचान खुलेको छ। उनको दिदी नयाँ दिल्लीस्थित नेपाली दूतावासको सम्पर्कमा पुगेपछि राईको पहिचान खुलेको थियो। 

अन्य तीनमध्ये एकजना त्यहीँकै स्थानीय भएको प्रहरीले जनाएको छ। बाँकी दुईजनाको पहिचान खुलेको छैन। दूतावासका अनुसार, स्थानीय प्रहरी र प्रशासनसँगको समन्वयमा घटनाको थप अनुसन्धान अघि बढाइएको छ। 

दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) डा. सुरेन्द्र थापाले बताएअनुसार, सो क्षेत्रमा अवस्थित अवैध कोइलाखानीमा उनीहरू काम गर्थे। 

के कारणले हत्या गरिएको भन्नेबारे अहिलेसम्म केही नखुलेको उनको भनाइ छ। 

शनिबार बिहान सो क्षेत्रमा हात, खुट्टा र टाउको बीभत्स रुपमा काटिएको अवस्थामा ती शवहरू फेला परेका थिए।

सोही क्षेत्रमा २७ वर्षदेखि बस्दै आएका सुनसरीका इन्द्र श्रेष्ठले नेपालखबरलाई दिएको जानकारी अनुसार, उनीहरू हत्या हुनुभन्दा तीन/चार दिन अघिदेखि काममा गएका थिएनन्। 

घटनास्थलबाट फर्कंदै गर्दा केही बेर नेपालखबरसँग टेलिफोनमा जोडिएका श्रेष्ठले भने, ‘दुई अढाइ घण्टा पर जंगलमा काम गर्ने मान्छेहरू आफन्त हुन भन्ने सुनिएको मात्रै छ। जहाँ काम गर्नुहुन्थ्यो, उहाँहरू काममा नगएको तीन/चार दिन भएको थियो भन्ने सुनियो।’

यस्तो छ श्रेष्ठको बयान–
म अहिले मेघालयमा छु। म भएको ठाउँबाट त्यो घटना भएको ठाउँ करिब २ घण्टा पैदल यात्राको दुरीमा छ। म पनि हिजो (शनिबार) घटनास्थलमा पुगेको थिएँ। त्यहाँ भेटिएका शवहरू हेर्दा हात बाँधेर मान्छेहरूलाई काटेको रहेछ। हातहरू टुक्रा टुक्रा भएको थियो।

टाउकोहरू छिन्न आँटेको अवस्थामा थिए। अहिलेसम्म उहाँहरूको परिचय खुलिसकेको छैन। आफन्तहरू दुईजना छन् भन्ने चाहिँ सुनिएको छ। एकजना धरान र एकजना भोजपुरको भन्ने कुरा आएको छ। एकजना त्यहीँकै स्थानीय भन्ने आएको छ।

उनीहरूको आफन्तहरू को हो? भनेर अहिलेसम्म पाउन सकिएको छैन। दुई अढाइ घण्टा पर जंगलमा काम गर्ने मान्छेहरू आफन्त हुन् भन्ने सुनिएको मात्रै छ। 

जहाँ काम गर्नुहुन्थ्यो, उहाँहरू काममा नगएको तीन/चार दिन भएको थियो भन्ने सुनियो। यतातिर धेरै कोइला खानीहरू छन्। सायद उहाँहरू पनि कोइला खानीमै काम गर्नुहुन्थ्यो होला।

भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .