ad ad

राजनीति


कांग्रेस–एमालेले बाँडे पाँच–पाँच मन्त्रालय, मन्त्री को को?

कांग्रेसले गृहसहित ९ र एमालेले अर्थसहित ८ मन्त्रालय चलाउने समझदारी
कांग्रेस–एमालेले बाँडे पाँच–पाँच मन्त्रालय, मन्त्री को को?

नेपालखबर
असार २९, २०८१ शनिबार १८:५२, काठमाडौँ

आइतबार नयाँ सरकार गठनको गृहकार्यमा जुटेका संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबन्डाको मोटामोटी सहमति भएको छ। आइतबार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नासाथ मन्त्रिपरिषद् विस्तारको तयारीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छन्।

प्रधानमन्त्रीको शपथलगत्तै केही मन्त्रीहरूको पनि शपथ गराउने तयारी छ। 

संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको दाबी पेस गरेका ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पाँच–पाँच वटा मन्त्रालय भागबन्डामा सहमति जुटिसकेको स्रोतले जानकारी दिएको छ। 

एमालेका ओलीनिकट एक नेताका अनुसार, सरकारमा सहभागी भएका दुई ठूला दलका सांसद संख्याका आधारमा मन्त्री भागबन्डा गर्ने मोटामोटी तयारी छ।

‘९/१० सांसद बराबर एक मन्त्री बनाउने गरी छलफल भएको छ,’ ती नेताले भने, ‘यसो हुँदा कांग्रेसले गृहसहित ९ र एमालेले अर्थसहित ८ मन्त्रालय चलाउने गरी अन्तिम सहमति हुन्छ होला।’

अन्य साना दललाई भने ४ सांसद बराबर एक मन्त्री दिने गरी ओलीले प्रस्ताव गर्नेछन्। 

अहिलेसम्म भएको सहमति अनुसार, एमालेले अर्थ, रक्षा, शिक्षा, सञ्चार र उद्योग मन्त्रालय लिनेछ भने नेपाली कांग्रेसले गृह, परराष्ट्र, पर्यटन, स्वास्थ्य र कृषि मन्त्रालय लिनेछ। 

भौतिक पूर्वाधार र ऊर्जा लगायतका मन्त्रालय भने कसले लिने भन्ने टुंगो लागिसकेको छैन।

नेपाली कांग्रेसबाट प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू पठाउने देउवाको तयारी छ। उनलाई उपप्रधानमन्त्रीको जिम्मेवारीसहित क्याबिनेटमा पठाइनेछ। सिंहले भौतिक पूर्वाधार तथा योजना मन्त्रालय मागेका थिए। तर उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भावना देखिएको कांग्रेसका एक नेताले बताए।

गृह मन्त्रालयको जिम्मेवारी कांग्रेसका प्रमुख सचेतक रहेका रमेश लेखकले पाउने लगभग निश्चित छ। त्यस्तै, देउवापत्नी आरजु राणालाई परराष्ट्रमन्त्री बनाउने तयारी छ।

एमालेबाट उपप्रधानमन्त्रीसहित अर्थको जिम्मेवारी दिएर उपाध्यक्ष विष्णु पौडेललाई सामेल गर्ने ओलीको तयारी छ।

त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा योगेश भट्टराईलाई पठाउने ओलीको तयारी भएको एमालेका नेताहरूले बताएका छन्। मन्त्रीपरिषदलाई समावेशी स्वरुप पनि दिन गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मन्त्री बनाउने तयारी भएको नेताहरूले बताएका छन्। 

अन्य नामबारे ओली र देउवा दुवैले पार्टीमा छलफल गर्दै छन्। कांग्रेसले योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलन दृष्टिगत गरी मन्त्री चयन गर्ने निर्णय गरेको छ।

शनिबार पार्टी बैठकमा सभापति देउवाले ओलीसँग भएको समझदारीबारे ब्रिफिङ गरेका थिए। पार्टीमा सहमति जुटाएर सकेसम्म आजै आफ्नो दलबाट मन्त्री हुनेको नाम ओलीलाई पठाउने देउवाको तयारी रहेको स्रोतको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .