नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायीत्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्य भएको बताएका छन्।
प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्र माथि नै प्रश्न उठ्न थालेको भन्दै लोकतन्त्रलाई बलियो बनाउन एमाले र कांग्रेस मिल्नुपरेको दाबी गरे।
‘राजनीतिक अस्थिरताले अहिलेको शासकीय व्यवस्थामाथि नै अविश्वास पैदा हुदैँ गयो,’ महासचिव पोखरेलले भने, ‘त्यसको अन्त्य गर्न चुनावी संविधान संशोधन गर्न आवश्यक छ। एक्लै नसकिने भएकाले कांग्रेसको साथ खोजिएको हो।’
महासचिव पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको भन्दै थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने बताए।
सरकार बनाउँदा साना दलले गर्ने बार्गेनिङका कारण सरकार अस्थिर हुने बताउँदै पोखरेलले त्यसको अन्त्य गर्ने अभियानमा एमाले हिँडेको बताए।
Shares
प्रतिक्रिया