ad ad

राजनीति


मिर्गौला प्रत्यारोपणअघि ४८ घण्टा डाक्टरको निगरानीमा बन्द कोठामा रहनेछन् ओली

मिर्गौला प्रत्यारोपणअघि ४८ घण्टा डाक्टरको निगरानीमा बन्द कोठामा रहनेछन् ओली

सागर न्यौपाने
फागुन १९, २०७६ सोमबार १८:१५,

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा सोमबार अरु दिनभन्दा चहलपहल बढि थियो। डाक्टरहरु दौडधुपमा देखिन्थे। 

दुईदिन अगाडिदेखि त्यहाँ प्रहरीले सुरक्षा ह्वात्तै बढाएको थियो। देशकै सबैभन्दा शक्तिशाली व्यक्तिको दोस्रो पटक मिर्गौला प्रत्यारोपण त्यहिँ गर्ने निश्चित भएपछि अरु दिनभन्दा अस्पतालको माहौल फरक भएको हो।

देशका सबै भागबाट सर्वसाधारण सबैखालका उपचारका लागि आइपुग्ने सबैभन्दा ठूलाे मध्येकाे एउटा अस्पताल शिक्षण अस्पतालमा प्रायः भिडभाड भइनैरहन्छ। देशका कुनाकाप्चाबाट आएका  बिरामी र  तिनका कुरूवाहरूले त्याे फरक वातावरणबारे उत्सुकतापूर्वक हेरिरहेका देखिन्थे।

सोमबार साँझ ६ बजेर ११ मिनेटमा प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटकको मिर्गौला प्रत्यारोपण गर्नको लागि भर्ना हुन त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज आइपुगे।

कालो ज्याकेट, आइरन गरेको पाइन्ट र भादगाउँले टोपी लगाएका ओलीले गाडीबाट झर्ने वित्तिकै हात उठाए र स्वभाविक मिठो मुस्कान दिए।

ओलीको मीठो हाँसेर बोल्ने स्वभाव छ। सोमबार साँझ अस्पतालमा भर्ना हुनको लागि आइपुग्दा भने उनी केही बोलेनन्। केही बोल्न खोजेपनि उनी बोल्ने वातावरण बनाउन सुरक्षाकर्मीले दिएका थिएनन्।

प्रधानमन्त्री सोमबार अस्पताल पुग्दा सदाझैं उनमा उच्च आत्मबल देखिन्थ्यो। त्यहाँ पुग्नासाथ सुरक्षाकर्मीले प्रधानमन्त्रीलाई लिफ्टबाट सिधै भर्ना गरिने कोठातर्फ लगे। 

PMtoHospप्रधानमन्त्रीनिवास बालुवाटारबाट अस्पतालतर्फ प्रस्थान गर्दै।

प्रधानमन्त्रीको डाक्टरको प्रत्यक्ष निगरानीमा राखिने कोठाबाट बाहिर सबैभन्दा पहिला बगैँचामा आँखा पर्छ, जहाँ विभिन्न रंगका फुलहरु ढकमक्क फुलेको देखिन्छ। अनि देखिन्छ, सडकमा गुडिरहेका गाडी।

बुधबार उनको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिनेछ। जसका लागि सबै कुरा तयारी अवस्थामा राखिएको छ। डाक्टरहरुका अनुसार विहानकै समयमा प्रत्यारोपण सुरु गर्ने योजना छ।

उनलाई मिर्गौला दिन उनकी भान्जी नाता पर्ने झापाकी एक महिला प्रधानमन्त्री पुग्नुभन्दा केहि घन्टापहिले नै अस्पताल पुगेर भर्ना भइसकेकी थिइन।

दिउँसो ३ बजेर १७ मिनेटमा अस्पताल पुगेकी उनी अस्पतालको नेफ्रोलोजी विभागको भर्ना वार्डमा गएकी थिइन।

उनी सरकारी नम्बर प्लेटको गाडीबाट सुरक्षाकर्मीसँगै झरेर एक पुरुष र एक महिलाको साथमा सोही भवनको चौथो तलामा पुगेकी थिइन।
पुरानो भवनमा रहेको लिफ्ट चढ्ने बेला केही ढिला हुँदा उनले आफन्तसँग केही डर लागेको जस्तो भावना अभिव्यक्त गरेको देखिन्थ्यो।

उनी भर्ना भएको कोठामा अरुलाई प्रवेश निषेध गरिएको छ। उनी बालुवाटारबाट सिधैँ अस्पताल पुगेकी हुन्। ३२ वर्षकी भनिएकी उनको श्रीमान विदेशमा छन् भने उनका दुई सन्तान रहेको बताइएको छ।

प्रधानमन्त्रीको दोस्रो मिर्गौला प्रत्यारोपण नेपालमै त्यसमाथि पनि सरकारी अस्पतलामा गरिन लागेको हो।

टिचिङ अस्पतालले १२ वर्षदेखि मिर्गौला प्रत्यारोपण गरिरहेको अस्पतालका प्रोफेसर डाक्टर प्रेम ज्ञवालीले जानकारी दिए।

उनका अनुसार टिचिङमा दोस्रोपटक मिर्गौला प्रत्यारोण गरिने प्रधानमन्त्री ११औं व्यक्ति हुन्। यसअघि उक्त अस्पतालले १० जनाको सफल प्रत्यारोपण गरेको छ। सोही अनुभवले प्रधानमन्त्री ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण गर्न अस्पताल कस्सिएको हो।

पहिलो पटक २०६४ साउनमा भारतमा मिर्गौला प्रत्यारोपण गराएका ओलीले दोस्रो पटकको प्रत्यारोपणका लागि देशकै एक सरकारी अस्पताल रोजेका छन्।

PMwithFatherअस्पतालतर्फ प्रस्थान गर्ने क्रममा पितासँग बिदा हुँदै।

यसबाट डाक्टरहरु औधी खुशी भएका छन्। उनीहरु प्रधानममन्त्रीको सफल प्रत्यारोपणका लागि हदैसम्म खटिन तयार रहेको बताउँछन्।

सोमबार बिहानैदेखि टिचिङ अस्पतालमा डाक्टरहरु यताउता गरिरहेका थिए। बाहिर रहेका, बिदा बसेका डाक्टर, नर्सहरुलाई अस्पतालमै अनिवार्य उपस्थित गराइएको थियो।

सोमबार विहानै प्रोफसर डा. प्रेम ज्ञवालीले डाक्टरहरुको बैठक राखेर प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपणका लागि सबै तयारी अवस्थामा रहन निर्देशन दिएका थिए।

ज्ञवालीकै नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्दैछ। बाहिर सार्वजनिक नभएपनि उपचारको टीममा १२ जनाभन्दा बढी डाक्टर सामेल हुनेछन्। त्यसमा पनि विशेषज्ञ डाक्टर ६ जना रहनेछन् भने अन्य डाक्टरहरु पनि तयारी अवस्थामा राखिएका छन्।

तर अस्पतालका निर्देशक डा. प्रेम खड्काले भने प्रधानमन्त्रीको उपचारमा संलग्न हुने डाक्टरहरुको टीम तयार नभएको दाबी गरे।
उनले भने, ‘डाक्टरहरुको टीमबारे अझै टुंगो लागिसकेको छैन, भोलि विहान तय हुन्छ।’

उनले त्यसो भनेपनि नयाँ दिल्लीमा रहेका कलेजो रोग विशेषज्ञ प्रोफेसर डा. रमेशसिंह भण्डारी सोमबार अपरान्ह नेपाल आइपुगे।

उनी घर नपुग्दै सिधैँ टिचिङ पुगेका थिए। आफूलाई पनि प्रधानमन्त्रीको उपचार टिममा राखेको जानकारी पाएको उनले बताए।

‘मलाई पनि प्रधानमन्त्रीको उपचार टीममा राखेको भन्ने सुनेको छु, त्यही भएर नयाँ दिल्लीबाट आजै नेपाल आइपुगेको हुँ, सिधैँ यता आउँदैछु,’ उनले भने।

अस्पतालका क्रिटिकल केयर युनिट प्रमुख डा.सुवास आचार्यले पनि आफूहरु तयारी अवस्थामा बसेको बताए। यसअघि प्रधानमन्त्री ओलीलाई मंसिर १० गते अपेन्डिसाइटिस हुँदा तिनै सुवास आचार्यको टीमले उपचार गरेको थियो।

सुवास अस्पतालमा सबैभन्दा जटिल केसको उपचार गर्न दक्षता राख्ने डाक्टर मानिन्छन्। यसका साथै प्रधानमन्त्री ओलीको नीजि चिकित्सक प्राध्यापक डाक्टर दिव्या सिंह शाहपनि प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण गर्ने टीममा रहनेछिन्।

भारतबाट प्राध्यापक डाक्टर अनन्त कुमार पनि आउँदैछन्। उनी ओलीको पहिलोपटक भारतमा गरिएको मिर्गौला प्रत्यारोपण टीममा थिए।
अनन्त कुमार मंगलबार नेपाल आइपुग्ने बताइएको छ। यद्यपी यसबारेमा प्रधानमन्त्रीको सचिवालयले केही बताएको छैन।

प्रधानमन्त्रीको भेटघाट बन्द
मिर्गाैला प्रत्यारोपण अघि ४८ घण्टा डाक्टरहरुको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने भएकोले सोमबार रातीदेखि प्रधानमन्त्री ओलीसँगको भेटघाटलाई डाक्टरहरुले बन्द गराएका छन्। प्रधानमन्त्रीको साथमा श्रीमती राधिका शाक्य र नीजि सचिव राजेश बज्राचार्य रहेका छन्।

अस्पताल स्रोतका अनुसार ‘डाक्टरको अव्जरवेसनमा रहेकाले सबैखालका भेटघाट बन्द गरिएको छ। प्रधानमन्त्रीलाई मानसिकरुपमा तयारी गरिनुपर्ने हुन्छ। अन्य भेटघाट बन्द हुन्छ। संक्रमण हुन्छ भनेर त्यसो गरिएको हो।’,

नेकपाका महासचिव विष्णु पौडेल प्रधानमन्त्री अस्पताल पुगेको केहीवेरपछि पुगेका थिए। उनले केहीबेर बसेर प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेर निस्किएका थिए। अस्पतालमा अन्य नेता भने देखिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .