ad ad

राजनीति


संक्रमणकालीन न्यायमा राजनीतिक सहमतिप्रति बेलायत खुसी

संक्रमणकालीन न्यायमा राजनीतिक सहमतिप्रति बेलायत खुसी

नेपालखबर
साउन २९, २०८१ मंगलबार १५:५५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले आज शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई देशबीचको शदीऔँदेखिको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री ओलीले नेपालको संघीयता र लोकतन्त्रलाई सबल बनाउँदै सरकारले विकास तथा नीति निर्माणमा युवाहरूको सहभागिता वृद्धि र दिगो विकासका लक्ष्यहरू हासिलका लागि प्राथमिकता दिएको बताए। प्रधानमन्त्री ओलीले सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न पहल गरिरहेको बताए।

उनले दुई ठूला दलबीचको सहकार्यमा सरकार गठन भएकाले यसप्रति जनताले राखेका अपेक्षा पूरा गर्न सरकार कटिबद्ध रहेको पनि स्पष्ट पारे।

राजदूत फेनले संक्रमणकालीन न्यायसम्बन्धी कानुनका विषयलाई राजनीतिक सहमतिका आधारमा टुंगो लाग्न लागेकामा खुसी व्यक्त गर्दै नेपालको विकास, सुशासन र संघीयताको सबलीकरणलगायत क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोग निरन्तर रहने अवगत गराएको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेपालको शान्ति प्रक्रिया एवं संक्रमणकालीन न्यायप्रति बेलायतलगायत अन्तर्राष्ट्रिय समुदायको गहिरो चासो रहँदै आएको छ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका विवादित विषयमा प्रमुख राजनीतिक दलबीच सहमति जुटेको छ। प्रतिनिधि सभाको कानुन, न्याय तथा संसदीय मामिला समितिले विधेयकमा भएको दवाफार छलफलसम्बन्धी प्रतिवेदन सर्वसम्मत पारित गरी सदनमा पठाएको छ।

राजदूत फेनले नेपाली व्यवसायीलाई बेलायतमा वस्तु निर्यातका लागि थप सहजीकरण गर्ने पनि स्पष्ट पारे।

ओली प्रधानमन्त्री भएपछि राजदूत फेनको यो पहिलो औपचारिक भेट हो। दूतावासका अनुसार, यसअघि उनी बिदामा रहेकाले भेट हुन पाएको थिएन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .