ad ad

राजनीति


विकासको लहर ल्याएर कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउनुस् : प्रधानमन्त्री

एउटाबाट अर्काे मन्त्रालयमा गएको फाइलमा तीन दिनभित्र काम गर्न निर्देशन
विकासको लहर ल्याएर कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउनुस् : प्रधानमन्त्री

नेपालखबर
साउन ३१, २०८१ बिहिबार १७:२७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र तीव्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देश गरेका छन्।

नेपाल सरकारका मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य कामबारे आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको प्रस्तुतिपछि सम्बोधन गर्दै उनले देश र जनताका लागि गर्नुपर्ने र गर्न खोजिएका कामका सम्बन्धमा अझ व्यवस्थित र ठोस तयारी गर्न निर्देशन दिएका हुन्।

उनले बजेट कम भएको स्थितिमा सुशासन कायमसहित फटाफट काम गरेर शत् प्रतिशत विकास खर्च गर्ने हो भने अर्थतन्त्र चलायमान हुने  स्पष्ट पारे।

‘हामी जागिर खाइरहेका छैनौँ। हामी देश र जनताको सेवा र विकासका लागि काम गरिरहेका छौँ। भावी सन्ततिका लागि काम गरिरहेका छौँ। यो सेवा हाम्रो तलबसँग तुलना हुन सक्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो लक्ष्य निर्धारण काल्पनिक नहोस्, वस्तुगत होस्। पूरा गर्न कठिन हुन्छ भनेर लक्ष्यहरू नै कमजोर राखिनुहुन्न। हामीले कठिन मेहनताका साथ काम गरेर हरेक कुरामा लक्ष्यमा पुग्नुपर्छ। अबका तीन महिनामा इतिहासका अरू कुनै तीन महिनाभन्दा बढी मेहनत गरेर काम गरौँ। धेरै काम गर्दा समस्या आउला वा अख्तियारमा बयान दिनुपर्ला भनेर नडराऔँ। गल्ती वा भ्रष्टाचार गरिएन भने कुनै समस्या आउँदैन।’

प्रधानमन्त्री ओलीले डिजिटल नेपालको फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन, व्यावसायिक तालिम, विषादी र मिसावटरहित खाद्य पदार्थको आपूर्ति गराउन, उपकरण र स्रोत साधनको पूर्ण उपयोग गर्नमा पनि ध्यान दिन भनेका छन्।

उनले एउटा मन्त्रालयबाट अर्काे मन्त्रालयमा कामका लागि गएको फाइलमा बढीमा तीन दिनभित्र काम गर्न,  सूचना र प्रविधिलाई प्राथमिकता दिन, श्रमिक निर्यातभन्दा पनि उद्यमशीलता र रोजगारी सृजनामा लाग्न, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई जनता रोजगार कार्यक्रममा रूपान्तरण गर्न, मातृशिशु स्वास्थ्यमा सुनौला हजार दिनको मान्यतालाई ध्यान दिन, समग्रमा मान्छेको आम्दानीको बाटो बढाउन सम्बन्धित मन्त्री र सचिवहरूको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .