ad ad

राजनीति


अमेरिकी उपविदेशमन्त्री वर्माको ‘लो-प्रोफाइल’ स्वागत, ‘हाइ-प्रोफाइल’ भेटघाट

अमेरिकी उपविदेशमन्त्री वर्माको ‘लो-प्रोफाइल’ स्वागत, ‘हाइ-प्रोफाइल’ भेटघाट

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार १८:२९, काठमाडौँ

व्यवस्थापन र स्रोतसम्बन्धी मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री रिचर्ड वर्मा शुक्रबार नेपाल आइपुगे। आउनासाथ उनले परराष्ट्रमन्त्री डा. आरजु राणासँग मात्र होइन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेटवार्ता गरे। 

अमेरिकी राजदूतावासले उपविदेशमन्त्री वर्मा नेपाल आइपुगेको जानकारीका साथ अमेरिकी राजदूत डिन आर थम्प्सनले स्वागत गर्दै गरेको तस्बिर सार्वजनिक गर्‍यो।

जसमा उपविदेशमन्त्री वर्मालाई नेपालका लागि अमेरिकी राजदूत थम्प्सनले काठमाडौँस्थित अमेरिकी दूतावासमा स्वागत गरेको देखिन्छ।   

स्रोतका अनुसार उपविदेशमन्त्री वर्माको स्वागत राजदूत थम्प्सनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेका होइनन्। विमानस्थलमा वर्माको स्वागतका लागि डेपुटी चिफ अफ मिसन जेसन पी मिक्स पुगेका थिए।  

यो कुराको पुष्टि उपमन्त्री वर्माको एक्स ह्यान्डलमा पोस्ट गरिएको तस्बिरले पनि गर्छ। वर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रष्ट पहिचान हुने गरी दूतावासका दोस्रो अधिकारी मिक्ससँग हात मिलाउँदै गरेको तस्बिर पोस्ट गरेका छन्। 

यो तहका अधिकारी नेपाल भ्रमणमा आउँदा कम्तीमा परराष्ट्र मन्त्रालयको सम्बन्धित मुलुक हेर्ने महाशाखा प्रमुखले विमानस्थलमा स्वागत गर्ने प्रचलन छ। 

उपविदेशमन्त्री वर्माले पोष्ट गरेको फोटोमा परराष्ट्र मन्त्रालयका नायव शिष्टाचार महापाल लेखनाथ गौतमले स्वागत गरेको देखिन्छ। यो कुरा पनि वर्माकै पोस्टबाट देख्न सकिन्छ। 

आफ्नो मुलुकका मन्त्री नेपाल भ्रमणमा आउँदा स्वागतका लागि राजदूत विमानस्थल नपुग्नु हाम्रा लागि अनौठो विषय हो। यदि हाम्रा मन्त्री विदेशमा गए र राजदूत स्वागतका लागि आएनन् भने कस्तो स्थिति सिर्जना हुँदो हो!

परराष्ट्र मन्त्रालयका एक पूर्वशिष्टाचार महापालका भनाइमा स्वागत सम्बन्धी यस्तो अनौठो दृश्य दुई कारणले देखिएको हुनसक्छ। 

एक, उपमन्त्री भए पनि नेपालस्थित राजदूतभन्दा उपमन्त्री वर्मा कनिष्ठ हुन सक्छन्। 

‘अमेरिकामा यो तहका उपमन्त्री कयौँ संख्यामा हुन्छन्, मर्यादाक्रममा उनीहरू राजदूतभन्दा तल पनि हुनसक्छन्,’ नाम उल्लेख गर्न नचाहने ती पूर्व शिष्टाचार महापालले भने, ‘त्यही कारण उपमन्त्री वर्माको स्वागतका लागि राजदूत थम्प्सन नगएका हुन् कि!’
 
सम्भावित दोस्रो कारण हो, सम्बन्धित पक्षले भ्रमणलाई प्रदान गरेको स्तर। त्यसका आधारमा पनि स्वागतको स्तर निर्धारण हुने उनले बताए। 

‘मन्त्रीकै हो भने पनि उद्देश्य सामान्य छ भने भ्रमणलाई लो–प्रोफाइलमा राख्ने प्रचलन विदेशी मुलुकहरूमा छ,’ उनले भने, ‘सामान्य उद्देश्यको भ्रमणको किन धेरै हल्लाखल्ला गर्ने भनेर स्वागत पनि सामान्य स्तरकै गरिएको हुनसक्छ।’  

कारण जे होस्, दुई दिने भ्रमणमा आएका उपमन्त्री वर्मालाई भने नेपाल सरकारले निकै महत्त्व दिएको छ। 

आउनासाथ उनले परराष्ट्रमन्त्री राणा र प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। 

प्रधानमन्त्री ओलीसँगको भेटमा वर्माले नेपालमा विपद् न्युनीकरणका लागि अमेरिकाले दुई हेलिकोप्टर र एउटा स्काइ ट्रक सहयोग गर्ने पनि बताए।

वर्माले ओली र राणासँग जनताको उज्ज्वल, दिगो र समावेशी भविष्य निर्माण गर्ने नेपालको योजनामा समर्थनका साथै अमेरिका नेपाल सम्बन्ध सुदृढीकरणका विषयमा छलफल गरेको अमेरिकी दूतावासले जानकारी दिएको छ।

दुई दिने भ्रमणका सिलसिलामा नेपाल आएका वर्मा शनिबार नयाँदिल्ली प्रस्थान गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .