ad ad

राजनीति


कांग्रेस–एमालेलाई प्रचण्डको जवाफ– सत्ता माग्न आउँदिन, झगडा परेपछि फकाउन नआउनू

कांग्रेस–एमालेलाई प्रचण्डको जवाफ– सत्ता माग्न आउँदिन, झगडा परेपछि फकाउन नआउनू

नेपालखबर
भदौ ११, २०८१ मंगलबार १५:९, काठमाडौँ

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको खेलमा नलाग्ने उद्घोष गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सत्ताको खेलभन्दा जनताको अधिकारका लागि अघि बढ्ने बताएका हुन्।

‘कांग्रेस–एमालेका साथीहरूलाई म यही रोस्टमबाट सम्बोधन गर्दछु, प्रचण्ड अब सत्ताको खेलमा लाग्नेछैन, तपाईहरूकहाँ सत्तामा हिस्सेदारी माग्न आउनेछैन। माओवादी भनेको पार्टीभन्दा पनि आन्दोलन हो, सीमान्त वर्ग, वर्ण, लिंग र क्षेत्रको आन्दोलन,’ प्रचण्डले भने, ‘म यही संसदबाटै स्वीकार गर्छु, यसबीचमा कमजोरीहरु भए। जनतासँग संवादका कमजोरी भए। व्यवहारका कमजोरी भए। वर्गीय पक्षधरताका कमजोरी भए। त्यही कमजोरीमा खेलेर अब तपाईंहरू सीमान्तहरूका प्राप्त अधिकार खोस्न चलमलाउन थाल्नुभयो। माओवादी कमजोर भयो कि भनेर षड्यन्त्र गर्न थाल्नुभयो। समापन भइसकेको राजनीतिक क्रान्तिको दस्तावेज फेरि उल्टाउन थाल्नुभयो।’

माओवादीको ध्यान अब सत्तामा छैन, षड्यन्त्रको प्रतिरोधमा रहेको उनले दाबी गरे। 

‘आन्दोलनको पुनर्गठनमा छ। त्यही पुनर्गठनका बलमा हामी भोली माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहको पार्टी बनाउनेछौं। पहिला पनि बनाएका हौं, अब पनि बनाउनेछौं।  त्यतिबेलासम्म कृपया तपाईंहरू मिलिदिनुहोला। फेरि बीचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन र फुर्क्याउन नआइदिनुहोला,’ प्रचण्डले भने।

पछिल्ला केही वर्षदेखि यो देशमा माओवादी र प्रचण्ड नै अस्थिरताको मुख्य कारक भएको भाष्य बनाउन एकदमै धेरै मेहनत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘मलाई त्यो मेहनत गरिरहेकाहरुलाई सोध्नु थियो, जेलाई अस्थिरता भनिएको हो, के प्रचण्ड एक्लैले ल्याउन सक्ने अस्थिरता हो? जम्मा ३२ सिट भएको पार्टीले एक्लै ल्याएर ल्याइन्छ अस्थिरता? प्रचण्डले एक्लै फेरेर फेरिन्छन् सरकारहरू? त्यसमा ठूला दलहरूको हुने होइन र मुख्य भूमिका? तर, प्रधानमन्त्री थिएँ, त्यसैले यो प्रश्न सोध्न सक्दैनथेँ। कांग्रेस–एमालेले मलाई आज यो प्रश्न सोध्न सक्ने बनाइदिनुभएको छ। त्यसका लागि धन्यवाद छ।’

साथै, उनले माओवादीले कांग्रेस र एमालेलाई प्रयोग र धोका दिएको सांसदहरूले नै बताउँदै आएको भन्दै प्रश्न गरेका छन्, ‘ए साथी हो, कांग्रेस र एमालेले पटकपटक माओवादीलाई प्रयोग गरेको र धोका दिएको हिसाब खै?’

उनले थपे, ‘माओवादीले पटकपटक कांग्रेस र एमालेलाई सरकारको नेतृत्वमा पु¥याएको विगत खै? माओवादीको साथ पाएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख हासिल गरेको हिसाब खै? कसको सहयोगमा अघिल्लो पटक झन्डै दुई तिहाइको प्रधानमन्त्री हुनुभएको हो केपी ओलीजी? कसले बनाएको हो, उहाँलाई पहिलो पटक प्रधानमन्त्री?’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .