ad ad

राजनीति


‘छवि फर्काउन’ श्रीमतीसँग आधार क्षेत्रमा महरा, गएनन् संसद्

‘छवि फर्काउन’ श्रीमतीसँग आधार क्षेत्रमा महरा, गएनन् संसद्

सागर न्यौपाने
फागुन २३, २०७६ शुक्रबार १६:९,

फागुन ५ गते काठमाडौं जिल्ला अदालतबाट सफाई पाएकै दिन सांसद कृष्णबहादुर महरा जेलमुक्त भए।

संयोगले भोलिपल्टै परेको संसद बैठकमा पूर्वसभामुख महरा पक्कै सहभागी हुनेछन् भनी धेरैको ध्यान बानेश्वर संसद भवनतिर केन्द्रित थियो।

महराको सांसद पदको निलम्बन फुकुवा पनि फागुन ६ गते नै गरियो।

तर, उनी ६ गते संसद भवनमा गएनन्, ललितपुर खुमलटारमा रहेको निवासमा उनी शुभेच्छुकहरूबाट घेरिए। बधाई थापे। भेटघाट र कुराकानीमै व्यस्त रहे।

१३५ दिनपछि थुनामुक्त भएका महरा, बलात्कार प्रयास जस्तो गम्भीर आरोपमा मुद्दा झेल्नुपरेको मानसिक तनावमा थिए। उनले शुरुमा नजिकका आफन्त र नेता कार्यकर्ताका धारणा सुन्ने र आफ्ना कुरा बुझाउने कामलाई प्राथमिकता दिए।

त्यसपछि ८ गते बसेको संसद बैठकमा पनि महरा संसद जान चाहेनन्।

बरु खुमलटारमै विभिन्न व्यक्तिबाट बधाई तथा शुभकामना लिँदै उनीहरुसँग अन्तरक्रिया गरे। ती तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भए।

Mahara 2

संसदमा किन अनुपस्थित भइरहेका छन् महरा?
गत असोज ६ गते संसदको रोष्ट्रमबाट वर्षे अधिवेशनको समापन गर्दा महरा सभामुख थिए।

सभामुख रहेकै बेला असोज १२ गते राति संसद सचिवालयमै काम गर्ने महिला कर्मचारीले आफुलाई बलात्कार प्रयास गरेको आरोप लगाएपछि उनले १४ गते पदबाट राजीनामा दिनुपर्‍यो।

त्यसपछि असोज १९ गते उनलाई प्रहरीले पक्राउ गर्‍यो। काठमाडौं जिल्ला अदालतमा विभिन्न चरणमा भएका सुनुवाई र उच्च अदालतको आदेशपछि उनलाई हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिइयो। त्यसपछि उनी पुर्‍याइए काठमाडौंको सदरखोर डिल्लीबजार कारागार।

दशैँ, तिहार लगायत महराका चाड हिरासतमै बिते। सभामुख पदबाट राजीनामा दिएपनि उनी सांसदबाट भने निलम्बन मात्रै भएका थिए। आरोप प्रमाणित नभएपछि जेलबाट छुटे लगत्तै संसद पदमा पुनर्स्थापित भए।

फागुन ५ गते काठमाडौं जिल्ला अदालतले उनीमाथि लगाइएको आरोप पुष्टि हुने प्रमाण नभेटिएको भन्दै सफाई दिएर हिरासतबाट रिहा गर्न आदेश दियो। जेलबाट उनी त्यहि दिन छुटे।

महराको सांसद पद निलम्बन फुकुवा पत्र संसद भवनमा गयो। प्रतिनिधिसभाको बैठक फागुन ६ गते बोलाइएको थियो। आफुमाथि लागेको आरोपबारे उनले संसद बैठकमा कुरा राख्ने धेरैको अनुमान थियो। त्यसबिपरित उनी त्यो बैठकमा अनुपस्थित रहे।

Mahara 1

‘इमेज फर्काउने’ प्रयासमा पहिले निर्वाचन क्षेत्र
केहि दिन खुमलटार निवासमै बिताएपछि फागुन ११ गते महरा सोझै आफ्नो निर्वाचन क्षेत्र दाङ–२ पुगे। जहाँबाट उनी गत चुनावमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।

संसदका बैठक छाडेर दाङ पुगेका महरा यतिबेला आफ्नो गृहजिल्ला रोल्पा र प्युठानतिर चहारिरहेका छन्। र, यसपटक उनी प्रायः सबै कार्यक्रममा श्रीमती सीता महरासँग देखिएका छन्। युद्धकालमा पनि सीता महरासँगै रहेर यसैगरी साथ दिन्थिन्।

फागुन १२ गते दाङको धानखोलाबाट खुला अन्तरक्रिया कार्यक्रममा सहभागी हुन थालेका महराले हापुरे, बंगलाचुली हुँदै कोइलाबास पुगेर फागुन १८ गतेसम्म आफ्नो निर्वाचन क्षेत्रका सर्वसाधारणसँग बिताए।

त्यसपछि फागुन २० गते प्युठान पुगे। दाङदेखि उत्तरतर्फ रहेको प्युठानमा उनले माण्डवी गाउँपालिका लगायतका ठाउँका सर्वसाधारणसँग भेटेर आफ्ना कुरा राखे। त्यहाँ एकदिन बसेर महरा आफ्नो जन्मथलो रोल्पा पुगे।जहाँ उनले अझै केही दिन सर्वसाधारणसँग बिताउने योजना बनाएका छन्।

धेरैको अनुमान के थियो भने यौन दुराचारजस्तो गम्भीर आरोप लागेका महराका लागि फेरि राजनीतिमा यसरी फर्किन कठिन हुनेछ। तर जिल्ला अदालतबाट सफाई पाएलगत्तै उनी आफ्नो राजनीतिक छवि पुर्नस्थापित गर्ने एउटा चुनौतिपूर्ण अभियानमा संलग्न भएका छन्।

कानुनी रुपमा सफाई पाएपनि सर्वसाधारणका नजरमा सफाई पाउन बाँकी छ। राजनीतिकरुपमा अझै पनि गम्भीर संकटमा रहेका महराले केन्द्रीय राजनीति र संसदका बैठकभन्दा जिल्ला र आफ्नो निर्वाचन क्षेत्रका सर्वसाधारणबीच पुग्ने बाटो रोजे।

नेकपाका स्थायी समिति सदस्य तथा महरासँगै राजनीति गरिरहेका हरिबोल गजुरेल महराले आफ्नो निर्वाचन क्षेत्रका जनतासँग आफूमाथि लगाइएको आरोपबारे आफ्नो कुरा राख्ने अवसरको सदुपयोग गरेको बताउँछन्।

‘महराजीले आफ्ना मतदातालाई भेटेर यथार्थ कुरा राख्न जिल्ला भ्रमण गरेका हुन,’ गजुरेलले नेपालखबरसँग भने, ‘आफ्नाबारे नकारात्मक कुरा बाहिर आएपछि त्यसलाई चिर्नका लागि पनि मतदाता भेट्नुपर्छ, उहाँले त्यही गर्नुभयो जुन सकारात्मक छ।’

संसदीय राजनीतिमा मतदातालाई नेताहरुले बेला–बेला भेटिरहनुपर्ने कुरालाई महराले पनि अनुसरण गरेको गजुरेलको बुझाई छ।

महरा २०४८ सालको संसदीय निर्वाचनमा रोल्पाबाट निर्वाचित भएका थिए। माओवादीले सुरु गरेको दशवर्षे युद्धमा उनी नेतृत्व पंक्तिमा थिए। २०६३ मा शान्ति प्रक्रियामा आएपछि महरा अहिलेसम्म निरन्तर सांसद रहेका छन्।

Mahara 8

माओवादीका फेस
माओवादी द्वन्द्व सुरु भएयता केही सीमित माओवादी नेतामात्र सर्वसाधारणमाझ चिनिएका थिए। तीमध्ये बाबुराम भटराई, महरा, पम्फा भुसाल लगायत थिए।

द्वन्द्व चर्केका बेला राज्यपक्षसँग हुने वार्तामा माओवादी तर्फबाट नछुट्ने एकजना वार्ताकार थिए महरा। त्यसपछि माओवादी सरकारमा आएपछि निरन्तर मन्त्री र अन्य महत्वपूर्ण पदमा रहिरहने नेता हुन् उनी।

निरन्तर शक्तिमा रहेको त्यो स्थानबाट अचानक गम्भीर संकटमा पुगेका उनी त्यो इमेज फेरि फर्काउने एउटा कठिन प्रयास अन्तर्गत आफ्नै आधारभूमिमा फर्केका हुन्।

२०७० सालमा रोल्पाबाट चुनाव जितेका उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा दाङ झरे। सभामुख भएका बेला पनि दाङको आफ्नो निर्वाचन क्षेत्र गइरहने महरा यतिबेला भने आफूमाथिको आरोपहरुको खण्डन गर्न गाउँ गाउँ पुगेका हुन्।

दाङ र रोल्पामा पुगेर उनले आफूलाई ‘षडयन्त्र गरेर फसाइएको’ मतदातालाई बताइरहेका छन्।

विभिन्न कार्यक्रममा सम्बोधन गर्दै महराले ‘अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन नगर्दा आफूमाथि ठूलो षडयन्त्र गरी फसाइएको’ दाबी गरिरहेका छन्।

‘मलाई ३ महिना षडयन्त्रकारीले फसाए, त्यो ठूलो षडयन्त्रबाट उम्किए पनि अझै ढुक्क हुने अवस्था छैन,’ धेरै कार्यक्रममा महराले यो भनाई प्रायः छुटाउने गरेका छैनन्, ‘म राष्ट्रिय स्वाधिनताको निम्ति लडेको, देशमा यो व्यवस्था ल्याउन मैले खेलेको भूमिका देखेर केही तत्व आत्तिए।’

शुक्रबार पनि महरा आफ्नो जन्मथलो रोल्पा नगरपालिका १ मेवाङमै विभिन्न कार्यक्रम, बधाई थापिरहेका थिए।

झण्डै एक महिनाजति उनले त्यस क्षेत्रमा बिताउने योजना बनाएका छन्। त्यहाँ रहँदा उनले जनताका समस्या समाधान गर्न लागिपर्ने फेरि दोहोर्याएका छन्।

बलात्कारको आरोप लागेपछि राजनीतिबाट निराश देखिएका महराका लागि फागुन १२ गते दाङमा उर्लिएको जुलुश सायद फेरि आशा जगाउने एउटा आधार बन्यो होला।

एकहप्ता दाङ बसेर प्युठान लाग्दैगर्दा महराले आफूमाथिका आरोपलाई खण्डन गर्न सफल भएको विश्लेषण गरेका छन्। दाङ, प्युठान र रोल्पाका नेता तथा कार्यकर्ता उनीसँगै खटिएका छन्।

फागुन ६ गतेदेखि अहिलेसम्म ९ पटक संसद बैठक बसिसकेको छ। तर सांसद महराका लागि अहिले देशको नीति निर्माणमा भूमिका खेल्नेभन्दा आफ्नो छवि फर्काउने विषय मुख्य प्राथमिकता बनेको छ।

सायद, एक महिने त्यो अभियान पूरा गरेपछि मात्रै उनी आफ्ना मतदाताबाट पुनः अनुमोदन भएर संसद फर्किने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .