ad ad

राजनीति


प्रधानमन्त्रीका पिता मोहनप्रसाद भन्छन्ः आत्तिने होइन है भनेर अस्पताल पठाएँ

प्रधानमन्त्रीका पिता मोहनप्रसाद भन्छन्ः आत्तिने होइन है भनेर अस्पताल पठाएँ

सागर न्यौपाने
फागुन २५, २०७६ आइतबार १६:४७,

‘बुबा म अस्पताल जान लागेको,’ फागुन १९ गते साँझ ६ बज्नुभन्दा केही बेरअघि प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारमै रहेका पिता मोहनप्रसादसामु पुगेर भने।

प्रधानमन्त्री ओलीले शिर झुकाएर बिदा हुन लाग्दा मोहनप्रसादले आशीर्वाद दिँदै अस्पतालमा नआत्तिन सुझाव दिए।

‘आत्तिने होइन है भनेर पठाएको हुँ,’ मोहनप्रसादले आइतबार नेपालखबरसँग भने, ‘बेलाबेलामा बिरामी परिन्छ। बिमारसँग कोही पनि आत्तिनु हुँदैन। परिवार पनि अत्तालिने होइन।’

स्वास्थ्य समस्यालाई मानिसले स्वभाविक रुपमा लिनुपर्ने उनको बुझाइ छ।

‘काठको खुट्टो, सासको धन भन्छन्। सास भएकालाई बिमार हुन्छ। मान्छेलाई पनि हुन्छ, अरु सबै जीवप्राणी पनि बिरामी हुन्छन्। त्यसबाट डराउने होइन,’ उनले बुझाए।

pmfather8

फागुन २१ गते ४ घण्टाभन्दा बढी समय लगाएर त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्रीको दोश्रो मिर्गौला प्रत्यारोपण सम्पन्न गरिएको थियो। त्यसयता उनी अस्पतालको सघन उपचारकक्षमै छन्।

यता बालुवाटारमा ९० वर्षका पिता मोहनप्रसाद छोराको बिमार निको हुन अलिदिन लाग्ने बताउँदै निश्चिन्त देखिन्छन्।

मोहनप्रसाद जसरी छोरा प्रधानमन्त्रीको स्वास्थ्यमा छिटै प्रगति हुने कुरामा आशावादी देखिए, प्रधानमन्त्रीको स्वास्थ्यमा पनि उसैगरी तीव्र सुधार भइरहेको देखिन्छ।

उपचारमा संलग्न चिकित्सक टोलीले उनको स्वास्थ्य क्रमिकरुपमा सुधार भइरहेको र आइतबारदेखि नियमित सन्तुलित आहार दिनुका साथै हिँडडुल गराउन थालिएको जानकारी दिएको थियो।

प्रधानमन्त्री ओलीको पहिलो पटक २०६४ साउनमा भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसले काम गर्न छोडेपछि दोस्रो पटक नेपालमै मिर्गौला प्रत्यारोपण गरिएको हो।

मिर्गौला प्रत्यारोपणका लागि छोरा अस्पताल जाँदै गर्दा पनि मोहनप्रसादले पीडा पोखेनन्। बरु बालुवाटारमा जम्मा भएका आफन्त र शुभेच्छुकहरुलाई समेत ढाडस दिए।

pmfather7

९० वर्षमा उनी ठमठमी हिँड्छन्। अझैपनि यो खाने त्यो नखाने भन्ने छैन। आफ्नो जीऊमा खासै केही रोग नभएको उनले बताए।

६९ वर्षीय प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा धेरै चिन्ता नलिए पनि उनी खानपानमा ख्याल गर्न सुझाइरहन्छन्।

‘खानपिनमा अलि ख्याल नगर्ने बानीबारे बेलाबेला भन्छु,’ उनले भने।

ओलीको प्रत्यारोपण सफल भएको पर्सिपल्ट (शुक्रबार) मोहनप्रसाद त्रिवि शिक्षण अस्पताल पुगेपनि डाक्टरले भेट्न नहुने बताएपछि उनी फर्किए।

‘झापादेखि आएकी कान्छी बुहारीसँगै गएको थिएँ। डाक्टरहरुले अहिले मिल्दैन भनेपछि फर्कें,’ उनले भने, ‘अब भोलि जाने कुरा छ। भेट्न दिन्छन्, दिँदैनन्।’

भोलि सोमबार पनि उनी झापादेखि आएका आफन्तहरुसँगै अस्पताल जाने योजनामा छन्।

pmfather4

पुराना प्रसंग कोट्याउन रुचाउने मोहनप्रसादले कतिपय विषय श्लोकमै सुनाइरहेका थिए।

कुराकानीका क्रममा उनी दोहोर्‍याइरहेका थिए, ‘छोरोको मन दह्रो छ।’

तीन वर्षकै उमेरमा आमाको निधन भएपछि केपी शर्मा ओलीलाई उनकी हजुरआमाले हुर्काएकी हुन्।

२०११ सालमा आमाको मृत्यु भएपछि ओलीको सबै रेखदेख हजुरआमा राममाया ओलीले गरेकी हुन्। हजुरआमाले उनलाई घरमा ध्रुव भनेर बोलाउँथिन्।

पढाई लेखाइमा टाठो उनी सानो हुञ्जेल परीक्षामा कस्तो नतिजा आउँछ, ढुक्कसँग भन्न सक्थे।

कक्षा ४ मा पढ्दै गर्दा ग्रामीण विद्यालयमा उनको नतिजा सोचेभन्दा फरक आएपछि ओलीले त्यसको प्रतिवाद गरेका थिए।

आफ्नो नतिजामा चित्त नबुझेपछि उतिबेला गाउँका टाठाबाठा जन्तरे प्रसाईंलाई गुहारेका थिए। प्रसाईं मोहनप्रसादलाई पनि लिएर हेडमास्टरकहाँ गए।

त्यहाँ पुगेर फाइल हेर्दा केपीले भनेजस्तै नम्बरमा तलमाथि गरिएको देखियो।

छोरा बोलीको पक्का र साहसी रहेको त्यतिबेलै मोहनप्रसादले भेउ पाएका हुन्।

pmfather2

त्यसपछि केपी ओलीले त्यो स्कुल पढ्न मन गरेनन्। त्यहाँ पढ्दा रिस साँध्न सक्छन् भन्ने बुझेर उनी घैलाडुब्बा स्कुल जान थाले। त्यहीँ उनले पाँच वर्ष पढे।

पढ्दै गर्दा ओलीले गाउँमा धनीमानीले गरेको थिचोमिचोविरुद्ध आवाज उठाएको खबर मोहनप्रसाद सुनिरहन्थे।

‘बलियाले दुब्लालाई घचेटेको र धनीले गरिबलाई हेपेको उसले सानैदेखि मन पराएन, त्यसको सधैँ विरोध गर्‍यो,’ मोहनप्रसादले सम्झे, ‘त्यतिबेलैदेखि ऊ ठूलाबडाको तारो बन्यो, तिनले नै जेलमा पारे।’

छोरा पक्राउ परेको खबर पाएपछि काठमाडौंको सेन्ट्रल जेल आउँदा उनले भेट्न नपाएको तीतो स्मरण पनि सुनाए।

जेलमा बसेदेखि नै छोराको स्वास्थ्य बिग्रेको उनको ठहर छ।

‘उसको स्वास्थ्य झ्यालखानामा बस्दादेखि बिग्रिएको हो,’ उनले भने।

प्रधानमन्त्री ओलीलाई भेट्न यसपाली फागुन ९ गते मोहनप्रसाद काठमाडौं आएका हुन्। उनी वर्षैपिच्छे दशैँमा टीका लगाइदिन र हिउँदमा प्रायः छोरालाई भेट्न काठमाडौं आइरहन्छन्।

फागुन ११ गते छोरासँगै उनीपनि तेह्रथुमको जन्मस्थान गए हेलिकप्टरमा। मोहनप्रसाद र केपी दुवैको जन्मस्थान हो तेह्रथुम। त्यहाँ प्रधानमन्त्रीको जन्मोत्सव विशेषरुपमा मनाइयो।

pmfather6

फागुन १९ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपणको लागि अस्पतालतर्फ जाँदै गर्दा प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्य अवस्था चाँडै सुधार हुनेमा ढुक्क थिए।

‘जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छाड्दैन त्यसैगरी हाम्रा जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्नँ,’ अस्पताल भर्ना हुनुअघि भिडियो सन्देश दिँदै प्रधानमन्त्रीले भनेका थिए।

उनले एक हप्ताभित्रै आफू अस्पतालबाट आएर मन्त्रिपरिषद् बैठक राख्ने र आफ्नो काममा फर्किने बताएका थिए।

प्रधानमन्त्री ओलीको आत्मबल देखेर चिकित्सकहरु पनि चकित परेका थिए। प्रत्यारोपणपछि पनि उनी बालुवाटार आएर नियमित काममा फर्कन आतुर रहेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन्।

मोहनप्रसादका कुरा सुन्दा प्रधानमन्त्रीमा त्यो आत्मविश्वास पिताबाटै सरेको स्पष्टै झल्किन्थ्यो।

आफ्नो परिवारमा सबै लामो आयु बाँच्ने गरेको वृत्तान्त सुनाइरहेका थिए मोहनप्रसाद।

‘मेरी आमा ९९ वर्षमा बित्नुभएको हो,’ उनले भने, ‘मैले पनि आमाकै उमेर पछ्याइरहेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .