गगन थापा जे बोल्छन्, त्यो भाइरल हुन्छ।
एक त सञ्चारमाध्यमका लागि उनी प्रिय छन्। तिनले उनका सबै गतिविधि र वक्तव्य नछुटाई प्रकाशन/प्रसारण गर्छन्। अर्को, सामाजिक सञ्जालमा पनि उनको राम्रो पहुँच छ। ट्विटरमा उनका ९ लाख ५६ हजार र फेसबुकमा ३ लाख १४ हजार फलोअर्स छन्।
त्यसमाथि उनको बोल्ने शैली यति बेजोडको छ, त्यसले सबैको ध्यान तान्छ।
त्यसैले सडकमा होस् या सदनमा, उनले उठाएका हरेक विषयले राष्ट्रिय चर्चा पाउँछन्।
तर, भाषणकलाले मात्रै लोकप्रिय भएका होइनन् उनी। यसका लागि उनले गर्ने मेहनतका बारेमा सायद कमैलाई थाहा होला।
नेपाली नेताहरुले अन्तर्राष्ट्रिय मञ्चमा समेत तयारी नगरी बोल्ने परिचय कमाएका छन्। तर, थापा ती नेताभन्दा अलग देखिन्छन्।
हाम्रै संसदमा बोल्दा होस् वा कुनै सार्वजनिक कार्यक्रम, राम्रोसँग तयारी नगरी उनी कहिल्यै बोल्दैनन्।
‘अध्ययन गरेको छैन भने, म आज बोल्दिनँ भनेर टारिदिन्छु,’ नेपाली कांग्रेसका सांसद गगन थापा भन्छन्, ‘तयारी नगरी जे पायो त्यही बोलेर मलाई विवादमा फस्न मन लाग्दैन।’
आफूले राजनीतिको उचाइ प्राप्त गर्न अझै बाँकी रहेकाले विवादरहित तर्क गर्न मन पराउने उनको भनाइ छ।
थापाले सबैभन्दा बढी ख्याल गर्ने भनेको संसदमा बोल्दा हो। कुनै पनि विषयमा संसदमा बोल्नुअघि आफूले कम्तीमा ३० घण्टा तयारी गर्ने गरेको उनी बताउँछन्। अझ आफ्नो जानकारीबाहिरको विषयमा बढी मिहिनेत गर्ने गरेको उनको भनाइ छ।
‘संसदमा कुनै विषयमा बोल्नुपर्दा मैले समूह नै परिचालित गर्ने गरेको छु,’ थापाले सोमबार नेपालखबरसँग भने, ‘सन्दर्भ सामग्रीको अध्ययन र जानकार व्यक्तिसँग छलफल पनि गर्छु, नेपालमा ज्ञान दिने मानिस थुप्रै छन्।’
किन गर्छन् त उनी यस्तो सघन तयारी?
‘विवादमा पर्ने विषय बोल्नु नपरोस्, बोलेको कुरा नीति नियममा सामेल गराउन सकियोस् र त्यसले विधि निर्माण गरोस् भनेर,’ उनी भन्छन्।
देशका एक जना आशा गरिएका नेता थापाले अध्ययनका लागि एउटा टोली नै बनाएका छन्।
टोलीले पाएको सूचना र तथ्य थापालाई ब्रिफिङ गर्छ। अनि मात्रै उनले के बोल्ने, के नबोल्ने निर्णय गर्छन्।
प्रताप पौडेल यही टोलीमा छन्। उनले थापाका लागि काम गरेको १६ वर्ष भयो।
‘उहाँ सार्वजनिक कार्यक्रममा बोल्दा पनि राम्रो अध्ययन गर्नुहुन्छ,’ पौडेल भन्छन्।
देश विदेशमा भइरहेका घटनाक्रमको जानकारी थापा आफैँ लिने गर्छन्। तैपनि अध्ययन गर्न नपाउँदा वा राजनीतिक कार्यक्रममा व्यस्त थुप्रै विषय छुटिहाल्छन्।
त्यही छुटेका, आफूले जानकारी लिन, अध्ययन गर्न नसकेका सबै खालका विषयबारे जानकारी दिन र सोही आधारमा धारणा बनाउन उनले टोली बनाएका हुन्।
टोलीले गहिरोसँग अध्ययन गरेर दिएको जानकारी तथ्यजाँच भइसकेपछि मात्रै उनी संसदमा बोल्न तयार हुन्छन्।
‘गगन दाइले संसदमा जम्मा ३ मिनेट बोल्न ३० घण्टा बढी तयारी गर्नुहुन्छ,’ पौडेलले भने, ‘टोलीले उहाँलाई हरेक विषयका बारेमा जानकारी दिन्छ। आवश्यक परे उहाँले विज्ञको रायसल्लाह पनि लिनुहुन्छ।’
गगनको टोलीले कसरी गर्छ काम?
काठमाडौंको ज्ञानेश्वरमा थापाले सांसदको कार्यालय खोलेका छन्। उनको टोलीका पाँच जनाले त्यहीँ बसेर काम गर्छन्।
अनुसन्धान गर्ने, राजनीतिक-आर्थिक विषय विश्लेषण गर्ने, सामाजिक सञ्जालमा आएका विषयवस्तुको अध्ययन गर्ने र विज्ञ टोलीबाट सुझाव ल्याउने लगायतको काम यही टोलीले गर्छ। टोलीमा रहेका सबै सम्बन्धित विषयमा मास्टर्स गरेकाहरु छन्। उनीहरुले २०७० देखि थापाका लागि काम गरिरहेका छन्।
‘राजनीतिभन्दा फरक विषयमा बोल्नुपर्दा म उहाँहरुसँग नै बसेर योजना बनाउँछु,’ थापाले भने, ‘त्यही टिमले दिएको सुझावकै आधारमा बोल्छु। थप अध्ययन गर्नुपरे अन्यत्र पनि सोधीखोजी गर्छु।’
दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट जितेपछि थापाले यो टोली बनाएका हुन्।
सांसदको कार्यालय राख्न भने उनले पहिलो संविधानसभामा निर्वाचित भएलगत्तै सुरु गरेका थिए। सुरुमा उनको कार्यालय बानेश्वरमा थियो। दोस्रो संविधानसभामा चाबहिल क्षेत्रमा उनले कार्यालय स्थापना गरेका थिए। २०७४ मा भने उनले कार्यालय ज्ञानेश्वर सारे।
आइतबार सांसदको कार्यालय पुग्दा टोलीमा रहेकाहरु कोरोना भाइरस (कोभिड–१९) ले देशविदेशमा पारेको असरबारे अध्ययन गरिरहेका थिए।
भाइरसले विश्वव्यापी रुपमा पारिरहेको प्रभाव, त्यसको रोकथामका लागि भइरहेको तयारीबारे अध्ययन गर्न एउटा टोली लागिपरेको थियो।
टोलीमा रहेकामध्ये एक युवाले भने, ‘हाम्रो काम भनेको गगन दाइलाई ब्याकग्राउन्ड रिसर्च गरिदिने हो। बाहिर सार्वजनिक भएका राजनीतिक, आर्थिक, सामाजिक लगायतका विषयबारे पनि हाम्रो टिमले अध्ययन गरेर आवश्यक सूचना दिने गर्छ।’
फागुन १८ गते बसेको प्रतिनिधिसभाको बैठकमा सांसद थापाले कोरोना भाइरस संक्रमणको बारेमा नेपालले गर्नुपर्ने तयारीबारे सार्वजनिक महत्वको प्रस्ताव नै पेस गरेका थिए।
त्यसका लागि कम्तीमा पाँच दिन अध्ययन गरेको थापाले बताए।
‘संसदमा जरुरी महत्वको प्रस्ताव पेस गर्ने बेला कोरोनाबारे अध्ययन गर्न १०/१२ जनाको टोली नै परिचालित गरेँ,’ उनले भने।
उनले अर्काे एउटा रोचक प्रसंग पनि सुनाए।
‘एउटा संस्थाले कोरोनाबारे नै एक कार्यक्रममा पाँच मिनेट बोल्न समय दिएको थियो,’ उनले भने, ‘त्यसका लागि दश दिन अध्ययन गरेँ। अन्तिममा आएर कार्यक्रम नै रोकियो।’
गत ६ वर्षदेखि थापा संसदभित्र र बाहिर दमदार भाषण गर्न र सबैलाई प्रभावित तुल्याउन सफल हुनुको पछाडि उनको यो अध्ययन टोलीको ठूलो भूमिका देखिन्छ।
हिँड्दाहिँड्दै फुरेको स्वस्थानी शैली
फागुन ६ गते बसेको संसद बैठकमा थापाले स्वस्थानी व्रत कथाको शैलीमा सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए।
‘कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि,
अब उपरान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नू, थाहा पाइहाले होइन होइन भन्नू।
चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए हत्तपत्त चोरीको सामान फिर्ता गर्नू र दुई पटक विष्णु विष्णु भन्नू।
त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाममा गएर खड्ग उचाल्नू र चार पटक विष्णु विष्णु भन्नू।
त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्नेछैनन्।
इतिश्री अख्तियार पुराणे, कुमार विष्णु संवादे श्रीस्वस्थानी व्रतकथा बालुवाटार वर्णनाम प्रथम अध्याय।
धन्यवाद।’
यो शैली आफूले गाडीमा हिँडिरहेकै बेला तय गरेको उनले बताए।
‘हिँड्दाहिँड्दै आएको हो, मुड फ्रेस भएको बेला म नयाँ एंगल खोजिरहेको हुन्छु,’ थापाले थपे, ‘संसदमा स्वस्थानीको शैलीमा भन्दा बढी प्रभाव होला भनेर यो शैली आफैँ बनाएको हुँ।’
त्यसो त उनको समूहले पनि रोचक र नयाँ शैलीमा बोल्न उनलाई सुझाव दिने गर्छ।
‘कहिलेकाहीँ उहाँलाई कुन शैलीमा भन्ने भनेर हामी पनि सुझाव दिन्छौं,’ उनको टोलीका अर्का युवाले भने, ‘तर, प्रायः दाइ नै नयाँनयाँ शैली निकालिरहनुहुन्छ।’
प्रतिक्रिया