ad ad

राजनीति


‘पुनर्जीवन’ पाएका ओलीलाई सुझावः अब हावा गफ होइन, काम गरेर देखाउनुस्

‘पुनर्जीवन’ पाएका ओलीलाई सुझावः अब हावा गफ होइन, काम गरेर देखाउनुस्

सागर न्यौपाने
फागुन २७, २०७६ मंगलबार १६:२५,

‘मिर्गौलाले काम गर्न थाल्यो। अब मलाई १५–२० वर्ष केही हुँदैन,’ दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेको तीन दिनपछि त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकहरुसँग भने, ‘अब म सक्रिय रुपमा काम गर्न सक्छु, मेरा बा अहिले ९० वर्ष हुनुभयो। म पनि त्यो उमेरसम्म त बाँच्छु।’

स्वास्थ्यले साथ दिए सरकार र पार्टीको काममा झन् बढी क्रियाशील हुने प्रधानमत्री ओलीको चाहना यो भनाइमा पनि प्रष्ट झल्किन्छ।

६९ वर्षको उमेर, विभिन्न रोगका बिरामी प्रधानमन्त्री ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल भएपछि उनले जिन्दगीमा अर्को इनिङ सुरु गरेका छन्। यो इनिङमा उनले पार्टी र सरकार कसरी चलाउलान्, काम गर्न नसकेको आरोप खेपिरहेको उनको सरकारको कार्यशैली फेरिएला कि नफेरिएलाजस्ता चासो आम मानिसमा देखिन्छ।

प्रत्यारोपणपछि ‘पुनर्जन्म’ पाएका ओलीले अब सपना बाँड्न छाडी काम गरेर देखाउनुपर्ने नेकपाका नेता तथा विश्लेषकहरु बताउँछन्। पार्टी र सरकारमा उनले थुप्रै काम गर्न नसकेको नेताहरुको भनाइ छ।

ओली अब जनताले महसुस गर्ने काममा केन्द्रित हुनुपर्ने नेकपा स्थायी समिति सदस्य वेदुराम भुसालको सुझाव छ।

‘प्रधानमन्त्रीले अब योजनामात्रै बनाउने होइन, त्यसलाई कार्यान्वयनमा लगेमात्रै जनताले महसुस गर्न पाउँछन्,’ भुसालले भने।

राजनीतिक विश्लेषक तथा लेखक राजेन्द्र महर्जन प्रधानमन्त्री ओलीले हवाई कल्पना र सपना देखाउन छोडेर वस्तुवादी र यथार्थवादी बन्नुपर्ने सुझाव दिन्छन्।

‘ओली आफैँ पहिला कल्पनाशीलबाट यथार्थवादीमा रुपान्तरण हुनुपर्‍यो र सरकारको प्राथमिकता के हो भनेर गम्भीर रुपमा चिन्तन गर्नुपर्‍यो,’ उनले भने।

व्यक्तिकेन्द्रित भएर राजनीति गर्ने स्वभाव ओलीमा भएको भन्दै अब पनि त्यस्तै समस्या दोहोरिने चिन्ता उनले व्यक्त गरे।

posttransplant

ओलीलाई फापेको पहिलो प्रत्यारोपण
२०६४ साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेपछि ओलीले राजनीतिक जीवनमा ठुल्ठूला उपलब्धि हासिल गरेका थिए।

यही अवधिमा उनी तत्कालीन एमालेको अध्यक्ष निर्वाचित भए। पहिलोपटक प्रधानमन्त्री बने। २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाइ मत ल्याएर दोस्रो पटक स्थायी सरकारको प्रधानमन्त्री बने। र, अर्काे कम्युनिस्ट घटक माओवादी केन्द्रसँग पार्टी एकता गरेर नेकपा गठन गरी पुष्पकमल दाहाल प्रचण्डसँगै आफू पनि अध्यक्ष बने।

प्रत्यारोपणको १२ वर्षपछि उनको मिर्गौलाले काम गर्न छोडेको थियो। कात्तिकयता थुप्रैपटक डायलासिसको सहारामा सरकार र नेकपाको नेतृत्व चलाइरहेका ओली फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।

फागुन २१ गते झण्डै ५ घण्टा लामो शल्यक्रिया गरेर उनको मिर्गौला प्रत्यारोपण गरियो।

हाल उनी अस्पतालमा छन्। उनलाई सामान्य व्यक्तिझैँ नियमित काममा फर्किन ६ महिनासम्म लाग्नसक्ने चिकित्सकहरुले बताएका छन्।

छिटो तंग्रिरहेका ओलीको आत्मविश्वास बलियो देखिन्छ।

‘चुनावका बाचा पूरा गर्ने बेला’
प्रधानमन्त्री ओलीका लागि अबको समय भनेको चुनावी बाचा पूरा गर्ने बेला भएको स्थायी समिति सदस्य भुसालले बताए।

‘दोस्रो पटकको मिर्गौलाको प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीले अब काम गरेर देखाउने बेला आएको छ,’ राष्ट्रियसभा सदस्य समेत रहेका भुसालले भने, ‘चुनावका बेला भनिएका शिक्षा, स्वास्थ्य, यातायात लगायतका कति काम भए त्यसको समीक्षा गरेर नयाँ योजना बनाउनुपर्छ।’

उनले चुनावको बेला गरिएका प्रतिबद्धता एउटापनि पूरा नभएको भुसालले बताए। त्यसलाई तीव्र रुपमा अघि बढाउनुपर्ने उनको मत छ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुझाएको पछिल्ला दुईवटा आर्थिक वर्षको प्रतिवेदन अध्ययन गर्दा नेपालमा भ्रष्टाचार दुईगुणा बढेको भन्दै नेता भुसालले यो विषय प्रधानमन्त्री ओलीको प्राथमिकतामा पर्नुपर्ने बताए।

यो सरकार बनेपछि लुकेका भ्रष्टाचारका काण्ड बाहिर ल्याइएको दाबी प्रधानमन्त्री ओलीले गर्दै आएका छन्।

प्रधानमन्त्रीको सो भनाइलाई लक्षित गर्दै भुसालले भने, ‘तर्क गर्नका लागि जे भनिएपनि त्यो समाधान होइन। भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्रीले विशेष तयारी गर्नैपर्छ, तर्क गरेर छुट पाइदैन।’

प्रधानमन्त्री ओलीका लागि भ्रष्टाचार नियन्त्रण मुख्य चुनौती रहेको उनको भनाइ छ।

यसै महिना कमिसन मागिरहेको अडियो सार्वजनिक भएसँगै ओलीका अत्यन्त निकट मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिनुपरेको थियो।

‘जनताले सरकारको व्यवहार हेर्ने भएकोले जुनसुकै क्षेत्रमा भएको समस्याको खोजी–खोजी पूरा गर्नुपर्‍यो,’ भुसालले भने।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७४/०७५ मा एक सय ९२ वटा भ्रष्टाचार मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष ०७५/०७६ मा ३ सय ५१ मुद्दा दर्ता गरिएको जनाएको छ।

भुसालले पार्टीलाई विधानअनुरुप सञ्चालन गर्न पनि ओलीलाई सुझाव दिए।

सरकारको कामको स्वामित्व पार्टीले लिनुपर्छ: गजुरेल
अर्का स्थायी समिति सदस्य हरिबोल गजुरेलले पार्टीले स्वामित्व लिनेगरी सरकारले काम गर्नुपर्ने राय व्यक्त गरे।

‘यसअघि सरकारको कामको समीक्षा र अबको बाँकी अवधिको योजना बनाई पार्टीमा छलफल चलाउनुपर्‍योे,’ गजुरेलले नेपालखबरसँग भने, ‘पार्टीले स्वामित्व लिनेगरी काम गरेमा कार्यान्वयन गराउन सहज हुन्छ, सरकार पनि सफल बन्छ।’

उनले अहिले सरकार र पार्टी छुट्टाछुट्टै जस्तो भएको र सरकारले गरेका कामहरु पार्टीले प्रचार गर्न नसकेको बताए।

‘यसअघि सरकार र पार्टीबीच सहकार्य देखिएन,’ उनले थपे, ‘अब भने नयाँ ढंगले सहकार्य गर्दै तीनै सरकारबीचमा पनि समन्वय गरेर जाँदा त्यसको प्रभावकारिता देखन्छ।’

गुटको औषधि–सामूहिक नेतृत्व
प्रधानमन्त्री त्यसबेला अस्पताल भर्ना भए, जतिबेला उनी पार्टी सचिवालयमा अल्पमतमा थिए।

राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले मनोनित गर्ने एक पदमा पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई पठाउन पार्टीले गरेको निर्णय कार्यान्वयन नगरिकनै उनी अस्पताल भनाए भएका थिए।

उनको अस्पताल बसाइसँगै नेकपाको आन्तरिक राजनीति ठप्प बनेको छ। बैठक र छलफल हुन सकेको छैन।

स्वास्थ्यलाभपछि ओलीले पार्टी र सरकारमा सक्रियता बढाउँदा गुटउपगुट समस्या झन् चर्किने र ध्रुवीकरण बढ्ने भुसालको चिन्ता छ।

यसमा गजुरेल पनि सहमत छन्।

‘राजनीतिक कोर्स नै बदल्छु भन्नेतिर कोही पनि लाग्नु हुँदैन,’ गजुरेलले भने, ‘ध्रुवीकरण बढाउनुपनि हुँदैन, त्यसले पार्टीलाई टुटफुटतिर लैजान्छ र भएको परिवर्तनलाई असर गर्छ।’

विश्लेषक महर्जन पार्टीभित्र सामूहिक नेतृत्वको अभ्यास नहुँदा गुटको समस्या देखिएको बताउँछन्।

‘पार्टीमा कमसेकम सामूहिक नेतृत्व अपनाए गुटउपगुट बन्दैन,’ उनी भन्छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .