ad ad

राजनीति


ओली अस्पतालमा, प्रचण्ड र अरु नेता भित्री भेटघाटमा

ओली अस्पतालमा, प्रचण्ड र अरु नेता भित्री भेटघाटमा

सागर न्यौपाने
फागुन २८, २०७६ बुधबार १३:२३,

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम केही दिनयता बाहिरी कार्यक्रममा देखिएका छैनन्। तर, भित्रभित्रै उनीहरुले राजनीतिक भेटघाट तीव्र पारिरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको फागुन २१ गते दोश्रो मिर्गौला प्रत्यारोपण गरिएपछि उनी अहिले अस्पतालमा छन्। यसबीचमा पार्टीका बैठक बसेका छैनन्।

अमेरिकी सहयोग कार्यक्रम एमसीसीको अनुमोदन, सभामुख चयन, राष्ट्रियसभामा सदस्य सिफारिसलगायत एकपछि अर्को विषयमा तीव्र विवाद हुँदा प्रधानमन्त्री र सत्तारुढ नेकपाका अन्य नेताहरुबीच दूरी बढेको छ।

पार्टी सचिवालयले रिक्त राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमलाई पठाउने सिफारिस गरेका बेला प्रधानमन्त्री ओलीले कार्यकाल सकिएका युवराज खतिवडालाई नै निरन्तरता दिने र उनलाई अर्थमन्त्रीका रुपमा पनि जारी राख्न चाहेपछि शीर्ष नेताहरुबीचको विवाद छताछुल्ल भएको थियो। यही विवादबीच प्रधानमन्त्री ओली जटिल शल्यक्रियाका लागि अस्पताल भर्ना भएका थिए।

फागुन २१ गते मिर्गौलाको प्रत्यारोपणका लागि अपरेसन थिएटरमा जानुअघि प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रुपमा पुर्ननियुक्त गरे।

मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत प्रधानमन्त्रीले खतिवडालाई राष्ट्रियसभाको सदस्य नभएपनि संवैधानिक प्रावधानकै आधारमा मन्त्री नियुक्त गरेका थिए।

यससँगै पार्टीको सचिवालय बैठकबाट वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय भने अन्योलमा परेको छ।

रिक्त पदमा राष्ट्रिय सभाको निर्वाचन गराउँदा सदस्य पदमा जान अस्वीकार गरेका गौतमले पछि अन्य नेताहरुसँग गठबन्धन गरेपछि फेरि सोही पदमा जान आतुरता देखाएका थिए। जसलाई ओलीले रोक्न खोजेका छन्।

ओलीनिकट नेताहरुले सार्वजनिक रुपमै विज्ञलाई राष्ट्रपतिले नियुक्त गर्ने सो पदमा गौतम नै जानैपर्ने किन भनी प्रश्न उठाउन थालेका छन्। तर, सचिवालयको निर्णयलाई प्रधानमन्त्री ओलीले कार्यान्वयन गर्नैपर्ने अडान अन्य नेताहरुको छ।

केही हप्तापहिले आफ्नो निर्वाचन क्षेत्र पुगेका अध्यक्ष प्रचण्डले पार्टीको सर्वसम्मत निर्णय प्रधानमन्त्रीले कार्यान्वयन नगर्ने भन्ने आफूले कल्पना पनि नगरेको बताएका थिए।

‘प्रधानमन्त्रीले पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ, गर्नुहुन्छ,’ उनले भनेका थिए।

प्रधानमन्त्री ओली अस्पताल भर्ना भएपछि नेकपाका अन्य नेताहरु यस विषयमा मौन छन्। तर स्रोतहरुका अनुसार सचिवालयका नेताहरुले व्यक्तिगत छलफल, भेटघाट र परामर्श भने रोकेका छैनन्।

स्वास्थ्य समस्याको कारण देखाउँदै प्रचण्डले सार्वजनिक कार्यक्रम मात्रै होइन राजनीतिक भेटघाट समेत कम गरेको उनको सचिवालयले बताएको थियो।

ओलीलाई भेट्न प्रचण्ड फागुन २० गते साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगे। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी लिए र स्वास्थ्यलाभको कामना गरेर आधा घण्टामै खुमलटार फर्किए।

उनी फागुन २५ गते चितवन पुगे। मातृशोकमा रहेको नेकपा केन्द्रीय सदस्य देवी ज्ञवालीलाई प्रचण्डले घरमै पुगेर भेटे।

त्यहीबेला नेकपाका नेता बद्री तिमल्सिनाको छोरीको बिहेमा पनि उनी सहभागी भएर काठमाडौं फर्किए।

त्यसयता खुमलटारमै रहेका प्रचण्डले निवासमै राजनीतिक भेटघाट गरिरहेका छन्। उनले मंगलबार उपाध्यक्ष वामदेव गौतमसँग भेट परामर्श गरे। आइतबार र सोमबार आफूनिकट सिमित नेतासँग नियमित छलफलमा रहेको एक नेताले बताए।

‘उहाँले केही नेतासँग भेट गर्नुभएको छ। भीडभाड हुनेगरी भेट नभएपनि नेताहरुको आउजाउ त जारी छ,’ स्रोतले नेपालखबरसँग भन्यो।

प्रचण्ड खुमलटारमा राजनीतिक भेटवार्तामा लागिरहेजस्तै नेकपा सचिवालयका अन्य नेताहरुपनि भित्री छलफलमै व्यस्त छन्।

फागुन २६ गते डल्लुस्थित झलनाथ खनालको निवासमा वरिष्ठ नेताद्वय खनाल र माधवकुमार नेपालबीच भेटवार्ता भयो।

एमसीसी सम्झौता अनुमोदन गर्नुअघि संशोधन गर्नेबारे दुई नेताबीच छलफल भएको बताइए पनि अन्य राजनीतिक विषयमा समेत कुराकानी भएको एक नेताले बताए।

खनाल अमेरिकी आर्थिक सहयोग समेटिएको (एमसीसी) अध्ययन गर्ने कार्यदलका संयोजक छन्।

नेता नेपालले पनि एमसीसीलाई जस्ताको तस्तै अनुमोदन गर्न नहुने अडान राख्दै आएका छन्।

माघ १५ देखि १९ गतेसम्म बसेको नेकपाको केन्द्रीय समितिको बैठकले एमसीसीबारे अध्ययन गरी सुझाव दिन खनालकै नेतृत्वमा पार्टीका स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमेत रहेको कार्यदल बनाएको थियो।

नेकपामा एमसीसी सम्झौता अनुमोदन गर्ने कि नगर्ने भन्ने तीव्र विवाद भएपछि अध्ययन गर्ने कार्यदल बनाइएको हो।

कार्यदलले फागुन ९ गते अध्यक्षद्वय ओली र प्रचण्डलाई बालुवाटार पुगेर आफ्नो प्रतिवेदन बुझाएको थियो।

कार्यदलले एमसीसी सम्झौता संशोधन नगरी अनुमोदन गर्न नहुने सुझाव दिएपछि त्यसबारेमा छलफल गर्न नेकपाले फागुन १० गते सचिवालय बैठक बोलाएको थियो।

उक्त बैठकमा संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको नेपाली एजेन्ट्ससँग सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाको लागि ७० करोड मागेको अडियो टेप सार्वजनिक भएपछि बदलिँदो परिस्थितिबारे र एमसीसी सम्झौताबारे कार्यदलको प्रतिवेदन लगायतका विषयमा छलफल भएको थियो।

तर, एमसीसी अनुमोदन गर्ने र गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने विषय अझै पनि टुंगिन सकेका छैनन्।

यी सबै मामिलामा प्रधानमन्त्री ओली एक्लिँदै गएपछि बालुवाटारले माधव नेपालको साथ लिनमा सबै प्रयास केन्द्रित गरेको छ।

ओली अस्पताल भर्ना हुनुअघि देखि नै सुरु भएको यो प्रयास जारी छ।

ओली समूहका नेताहरु नेता नेपाललाई भेट्न लाइनै लागेरै कोटेश्वर पुगिरहेका छन्।

पार्टीमा प्रचण्डले पूर्वमाओवादी खेमालाई एकजुट राख्दै पूर्वएमालेलाई फुटाउन खोजेको हुँदा यो हुन दिन नहुने भन्ने धारणालाई नै ओली गुटका नेताहरुले नेपाल पक्षलाई भन्ने गरेका छन्।

फागुन ११ र फागुन २७ गते सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोटेश्वर निवास पुगेरै नेता नेपालसँग भेट गरे। धेरै समयपछि पोखरेल यसरी नेपाल निवास पुग्नु निकै अर्थपूर्ण रहेको एक पूर्वएमाले नेताले बताए।

केही दिनयता काठमाडौंमै रहेका स्थायी समिति सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि नेपालसँग भेटेर परामर्श गरिरहेका छन्।

फागुन २५ गते प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि कोटेश्वर निवासमै पुगेर वरिष्ठ नेता नेपालसँग भेट गरेका थिए। त्यसको भोलिपल्ट अध्यक्ष ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले पनि नेता नेपालसँग भेट गरे। भटराई नेपाल प्रधानमन्त्री हुँदा उनका पनि परराष्ट्र मामिला सल्लाहकार हुन्।

उता उपाध्यक्ष वामदेव गौतमले पनि सचिवालयको निर्णय कार्यान्वयनमा ढिलाई भएको भन्दै राजनीतिक भेटघाट तीव्र बनाएका छन्।

उनले अध्यक्ष प्रचण्ड र नेता नेपालसँग भेट र छलफल गरिरहेका हुन्।

फागुन १४ गते बसेको नेकपाको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभाको एक सिटमा लैजाने निर्णय गरी सरकारलाई सिफारिस गर्न आग्रह गरेका थियो।

फागुन १८ गते बसेको पार्टीको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउने निर्णय भएको भन्दै प्रधानमन्त्री ओलीको मिर्गौलाको प्रत्यारोपण गर्ने मिति तय गरेर स्वास्थ्यलाभको कामना मात्रै गरी बैठक सकियो।

फागुन १९ गते दिउँसो मन्त्रीपरिषद्को बैठक बसेको थियो। तर, राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने बारेमा कुनै निर्णय नै सरकारले गरेन।

साँझ प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना भए।

त्यसयता नेकपाको कुनै बैठक बस्न सकेको छैन। तर, नेताहरुको भेटवार्ता र भित्री छलफल भने भइरहेको छ।
गौतम आफै पनि त्यसै बसिरहेका छैनन्। उनीनिकट एक नेताले भने ‘राजनीतिक भेटघाट, छलफल, फोनवार्ताहरु त भइहाल्छ नी। गतिबिधि स्वभाविकरुपमा जारी नै छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .