ad ad

राजनीति


कोरोनाको त्रास : प्रचण्ड र गगनले रोके सामूहिक भेट, पढ्न थाले वामदेव

कोरोनाको त्रास : प्रचण्ड र गगनले रोके सामूहिक भेट, पढ्न थाले वामदेव

सागर न्यौपाने
चैत ६, २०७६ बिहिबार १३:३८,

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबारदेखि दैनिक भेटघाट बन्द गरेको सूचना उनको सचिवालयले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत दियो।

सबेरैदेखि बेलुकी अबेरसम्म दैनिक २ सय भन्दा बढी भेटघाट गर्ने प्रचण्डले कोरोना संक्रमणको जोखिमकै कारण भेटघाट स्थगित गरेको उनको सचिवालयले बतायो।

‘अत्यावश्यक बाहेक अन्य भेट नगर्ने भन्नुभएको छ,’ सचिवालयका एक सदस्यले भने, ‘कसैलाई भेट्नै परे दूरी राखेर भेटिनेछ।’

यसअघि नै प्रचण्ड निवास खुमलटारमा भित्र प्रवेश गर्नुअघि आगन्तुकको ज्वरो नाप्न र स्यानिटाइजर प्रयोग गर्न थालिएको थियो। तैपनि प्रचण्डले ‘थप सावधानी अपनाउन भेटघाट बन्द गर्ने’ निर्णय गरेको सचिवालयले जानकारी दियो।

प्रचण्ड मात्रै होइन, नेपालका सबै राजनीतिक दलका शीर्ष नेताले कोरोना भाइरसबाट जोगिन सतर्कता अपनाएका छन्। उनीहरुले भेटघाट रोकेका छन्। कार्यक्रम रद्द गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च सावधानी अपनाएका छन्। दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण सफल भएपछि आराम गरिरहेका उनले मानिसहरुसँग आवश्यक दूरी राखेर मात्र भेटघाट गरिरहेका छन्।

बुधबार बसेको नेकपा सचिवालय बैठकमा पनि प्रधानमन्त्री ओलीले सबै नेताहरुबीच दूरी राख्न लगाएका थिए। बैठकमा नेताहरु मास्क लगाएर उपस्थित भएका थिए। बैठकमा बस्नुअघि सबैले स्यानिटाइजर प्रयोग गरेका थिए।

कोरोना महामारीको उच्च जोखिममा छ नेपाल। सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ भने २५ जनाभन्दा बढी संख्यामा जम्मा हुन प्रतिबन्धसमेत लगाएको छ। भीडभाड हुने विद्यालय, क्याम्पस बन्द भएका छन्। एसईईलगायत परीक्षा रद्ध गरिएको छ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले नियमित भेटघाटलाई बन्द गरिसकेको बताए।

‘हाललाई अत्यावश्यक, नभेटी नहुने भेटघाटमात्र गर्ने नत्र नेता/कार्यकर्तासँगको भेटलाई बन्द गरेको छु,’ नेपालखबरसँग उनले भने।

घरमा बस्दा पनि आफूले सुरक्षाको विधि अपनाएको उनले बताए।

‘स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाएरै बस्ने गरिरहेको छु,’ उनले भने।

वरिष्ठ नेता माधवकुमार नेपालले भने अहिलेसम्म भेटघाट रोकेका छैनन्। रुपन्देहीमा रहेका नेता नेपालले सावधानीपूर्वक नेता÷कार्यकर्तासँग भेट गरिरहेको उनको सचिवालयले जनाएको छ।

‘भेटघाट रोक्ने कुनै निर्णय भएको छैन, सुरक्षाको उपाय अपनाएर भेट गर्नुहुन्छ,’ सचिवालयका मोहन गौतमले भने, ‘काठमाडौं फर्किएपछि थप निर्णय हुनसक्छ।’

नेकपाकै उपाध्यक्ष वामदेव गौतमले मंगलबारदेखि नै भेटघाट बन्द गरेका छन्। उनका प्रमुख स्वकीय दीपक टमाटाका अनुसार गौतम घरमै बसेका छन्।

‘भेटघाट रोक्नुभएको तीन दिन भइसक्यो, अहिले घरमै बस्ने, किताब पढ्ने गरिरहनुभएको छ,’ नेपालखबरसँग टमाटाले भने, ‘मानिसहरुको भीडमा जाने काम रोकियो, इमर्जेन्सी परे सचेत भएर भेटघाट गर्ने बताउनुभएको छ।’

कोरोनाको संक्रमण हुन नदिन नियमित हात धुने, स्यानिटाइजर प्रयोग गर्नेजस्ता सुरक्षा विधि अपनाइएको टमाटाले जानकारी दिए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि बिहीबारदेखि निर्धारित कार्यक्रम स्थगित गरेका छन्।

‘भीडभाड हुने कार्यक्रममा नजाने भनेर तय भएका कार्यक्रम स्थगित गरिएको छ,’ देउवाका सहयोगी भानु देउवाले नेपालखबरसँग भने, ‘आजदेखि साह्रै कम भेटघाट हुनेछ, महत्वपूर्ण भेट घरमै गर्ने र दूरी राखेर मात्रै भेट गर्ने अभ्यास सुरु भएको छ।’

कांग्रेस सांसद गगन थापाले कोरोनाबाट जोगिन सरकारले सार्वजनिक गरेको सुरक्षाको विधि अपनाएको बताए।

‘कार्यक्रम, बैठक र सामूहिक भेटघाट गर्दिनँ,’ उनले भने, ‘अत्यावश्यक र नियमित काम भने गरिरहने छु।’

कोरोनाको कारण मानिसहरुलाई कामै गर्न नहुने भ्रम रहेको भन्दै सांसद थापाले सावधानी अपनाएर आफूले भने नक्सालमा रहेको कार्यालयमै काम गरिरहेको बताए।

‘मेरो निर्वाचन क्षेत्रमा केही कार्यक्रम तय भएका थिए तर मैले उक्त कार्यक्रममा नजाने निर्णय लिएँ,’ थापाले नेपालखबरसँग भने।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले जिल्लाको सबै कार्यक्रम स्थगित गरेका छन्। बुधबार अध्यक्षमण्डलको संयोजक चयन भएका भण्डारीले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोनाबाट जोगिन सबैलाई सावधानी अपनाउन सुझाव दिएका छन्।

‘सिमित व्यक्तिहरुसँग मात्रै भेट गर्नुहुन्छ,’ भण्डारीको सचिवालयले भन्यो, ‘सकभर घरबाट ननिस्कने उहाँको योजना छ।’

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ट्विटरमा आफ्नो नाम नै परिवर्तन गरेर ‘नियमित हात धोऔं, वास योर ह्यान्ड’ राखेका छन्।

नियमित हात धोए कोरोनाको संक्रमणबाट जोगिन सकिने चिकित्सकहरुको भनाइ छ। त्यसैले सचेतना दिन डा. भट्टराईले नाम परिवर्तन गरेका हुन्।

ढाडमा समस्या आएपछि गंगालाल हृदय केन्द्रमा भर्ना भएका उनी उपचारपछि आफ्नो निवास टोखा फर्किसकेका छन्। घरमा उनले सतर्कताको सबै विधि अपनाएको उनको सचिवालयले जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाका) अध्यक्ष कमल थापाले पनि कोरोनाबाट जोगिने उपाय अपनाउन सुरु गरेका छन्।

‘मास्क लगाएर मात्रै हिँड्ने, भीडमा नजाने र जानैपरे दूरी राखेर जाने, काम नपरी घरबाट ननिस्कने अभ्यास थाल्नुभएको छ,’ राप्रपाका नेता मोहन श्रेष्ठले भने।

राप्रपाको बिहीबार बसेको बैठकले खुला रुपमा गरिने सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको श्रेष्ठले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .