ad ad

राजनीति


सुनसान कञ्चनपुर, घरबाहिर निस्के कारबाही

सुनसान कञ्चनपुर, घरबाहिर निस्के कारबाही

गोकुल जोशी
चैत १०, २०७६ सोमबार ५:१,

कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिँदै स्थानीय प्रशासनले कसैलाई घरबाहिर ननिस्कन भनेपछि यतिबेला कञ्चनपुर सुनसान बनेको छ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले सर्वसाधारण सबैलाई आकस्मिक उपचार र अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आह्वान गरेको हो।

जसका कारण बिहानैदेखि कञ्चनपुर सुनसान बनेको हो। सदरमुकामसमेत रहेको महेन्द्रनगर, झलारी, दैजी, बेलौरीलगायत साना-ठूला सबै बजार बन्द छन्।

खाद्यान्न, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको काममा संलग्न यातायातबाहेक सबै प्रकारका पसल, व्यवसाय, उद्योग, कलकारखाना बन्द गरिएका छन्। महेन्द्रनगरमा फाट्टफुट्ट मोटरसाइकल र अटो रिक्सा मात्रै चलिरहेका छन्।

सूचनाको बर्खिलाप गरी घरबाहिर निस्किए सुरक्षाकर्मीले कानुनबमोजिम कारबाही गर्न सक्ने प्रशासन कार्यालयले चेतावनी जारी गरेको छ।

प्रशासनले आइतबार रातिदेखि खाद्यान्न, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको काममा संलग्न यातायातबाहेक सबै प्रकारका पसल, ब्यवसाय, उद्योग, कलकारखाना बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।

प्रशासनको निर्णय कार्यान्वयनका लागि ठाउँठाउँमा सुरक्षाकर्मी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रविन्द्र पौडेलले बताए।

‘बजारमा देखिएकालाई सम्झाउने तथा माइकिङ गरेर सूचित गर्दै छौँ, बजारमा क्षेत्र सुनसान छ’ डिएसपी पौडेलले भने, ‘प्रशासनको निर्णय कार्यान्वयका लागि ठाउँ ठाउँमा नेपाल प्रहरी, शसस्त्र प्रहरी खटिएका छन् ।’

मंगलबारदेखि बन्द हुँदै गड्डाचौकी नाका
भारतबाट फर्केने नेपालीको अत्यधिक चाप हुन थालेपछि गड्डाचौकी नाका मंगलबार बिहानदेखि पूर्ण रूपमा बन्द गरिने भएको छ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मंगलबार बिहान ७ बजेदेखि नाकामा पैदल यात्रुसमेत आवतजावत बन्द गर्ने निर्णय गरेको हो।

नाका बन्द हुने भएपछि भारतमा रहेका नेपाली धमाधम घर फर्किन थालेका छन्। अन्य दिनको तुलनामा सोमबार गड्डाचौकी नाका भएर भित्रिनेको संख्या कम छ।

शनिबार ९ बजेसम्म २ सयभन्दा बढी मानिस भित्रिएको गड्डाचौकीस्थित हेल्थ डेस्कले जनाएको छ। भारतबाट स्वदेश भित्रिएकालाई घरसम्म पु¥याउन विभिन्न निकायले सहयोग गरिरहेका छन्।

सबै व्यवसाय बन्द
कञ्चनपुर उद्योग वाणिज्य संघले अतिआवश्यक बाहेकका सबै व्यवसाय बन्द गर्ने निर्णय गरेको छ।

उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले अतिआवश्यकबाहेक सबै व्यवसाय आजदेखि चैत २१ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको जानकारी दिए।

मल्लका अनुसार अति आवश्यक सेवामूलक व्यवसाय भने खुलै रहनेछन्। खाद्यान्न र मेडिकल सेवा बन्द नहुने मल्लले जानकारी दिए।

भारतीयलाई व्यापार गर्न रोक
बेलौरीमा भारतीय व्यापारीलाई व्यापार गर्न रोक लगाइएको छ। विश्व महामारीको रुप लिएको कारोना भाइरस रोकथाम तथा नेपाल भित्रिन नदिन बैलौरीमा भारतीयलाई व्यापार तथा प्रवेशमा रोक लगाइएको छ।

बेलौरी उद्योग वाणिज्य संघको आइतबार बसेको बैठकले भारतीय बजारतर्फ आवतजावत गर्दा कोरोना संक्रमण फैलिने खतरा भएकाले त्यस्ता व्यापारीलाई नेपाल प्रवेशमा पूर्ण रोक लगाउने निर्णय गरिएको बेलौरी उद्योग वाणिज्य संघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .