एउटा सानो टेबलमाथि केही किताब छन्। रेडियो र मोबाइल सेट पनि छ। भित्ताको टीभीमुनि अर्को टेबल छ, जसमा स्यानिटाइजर, वाइफाइको राउटर र मल्टिप्लग छ।
नजिकै कुर्सीमा बसेर पढिरहेका छन्, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा।
कोरोना भाइरस रोकथामका लागि सरकारले देशभर लकडाउन गरेको छ। घरबाट बाहिर निस्किन नपाइने यो मौकालाई सभामुख सापकोटाले अध्ययनमा उपयोग गरिरहेका छन्। उनी संसद्, संसदीय प्रणाली र सभामुखको भूमिकासँग सम्बन्धित पाएसम्मका पुस्तक पढिरहेका छन्।
लकडाउनको चौथो दिनसम्म उनले यस्ता एकाध पुस्तक सिध्याइसकेका छन्। यतिबेला उनी कृष्ण पोखरेलले लेखेको ‘प्रमुख संसदीय र गैरसंसदीय राजनीतिक प्रणाली’ नामक पुस्तक पनि पढिरहेका छन्। उनको एउटै ध्याउन्न छ, सभामुखको भूमिकालाई सकेसम्म विवादरहित र प्रभावकारी बनाउने।
त्यसो त उनले कार्ल मार्क्सका रचना, लोकतन्त्रको च्याप्टर र गोपालप्रसाद रिमालका कविता पनि पढ्नुपर्ने सूचीमा राखेका छन्।
तर, उनले संसदसम्बन्धी सामग्रीमै विशेष चासो दिइरहेको सभामुखको निजी सचिवालयले जनाएको छ। युट्युबमा पनि उनी बेलायतको संसदीय अभ्यास, त्यहाँको संसदमा हुने गतिविधि र सभामुखको भूमिका हेरिरहेका छन्।
‘लकडाउनको बेला अध्ययनमा जुट्नुभएको छ। उहाँले संसदीय प्रणालीसम्बन्धी पुस्तक अध्ययन गरिरहनुभएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले नेपालखबरसँग भने।
बेलायती संसदको भिडियो हेर्छन्
सापकोटा २०६४ र २०७० को संविधानसभा सदस्य थिए। २०७४ मा समेतगरी उनले तीन पटक संसदको अनुभव लिइसकेका छन्।
तर, माघ १२ गते सभामुख भएपछि संसद् सञ्चालन गर्ने ठाउँमा उनी पहिलो पटक पुगेका हुन्। यो ठाउँमा उनले कानुन, विधि, शासन प्रणाली, सत्तापक्ष, प्रतिपक्ष, आदिबारे राम्रो जानकारी राख्नुका साथै त्यसैअनुसार भूमिका खेल्न सक्षम हुनुपर्छ।
पूर्वमाओवादीमा अध्यक्ष प्रचण्ड निकट रहेर इमान्दार नेताको छवि बनाएका सापकोटा संसद सञ्चालन सम्बन्धि खासगरी बेलायत र भारतको अनुभव अध्ययन गरिरहेका छन्, जसबाट नेपालको संसदीय राजनीति बढी प्रभावित हुँदै आएको छ।
‘बेलायत संसदीय अभ्यास गर्ने सबैभन्दा पुरानो मुलुक हो, त्यसैले त्यहाँ संसदमा हुने गतिविधि, सभामुखको संसद सञ्चालन गर्ने विधि र शैलीबारे अध्ययन गरिरहनुभएको छ,’ छोरा दीपक सापकोटाले भने, ‘केही युट्युबमा भिडियो सामग्री हेरेर र नेटमा खोजेर पनि अध्ययन गरिरहनु भएको छ।’
अडान नछाड्ने छवि, सहमति जुटाउने ठाउँमा
सिन्धुपाल्चोकको कुभिण्डे गाउँका सापकोटा सुरुमा शिक्षण पेसामा संलग्न थिए। गाउँको स्कुलमा प्रधानाध्यापक रहेका उनी जनयुद्ध सुरु भएपछि त्यसमा होमिएका थिए। समाजशास्त्रमा स्नातकोत्तर गरेका उनको युद्ध समाप्तिपछि पनि ‘हार्ड लाइनर’ नेताको छवि थियो। कडा स्वभावका, अडान नछाड्ने नेताका रुपमा उनी परिचित थिए।
सभामुखले सम्झौताको आधारमा संसद चलाउनुपर्ने हुन्छ तर, उनी हत्तपत्त सम्झौताका लागि तयार हुँदैनन, उनी कानुनका विज्ञ पनि होइनन् भन्ने जस्ता आरोप उनीमाथि छन्।
पक्कै पनि सत्तापक्ष र विपक्ष दुवैलाई मिलाएर संसद् सञ्चालन गर्नु सजिलो काम होइन। तर, सभामुख बनेपछिका बैठकहरू नियमपूर्वक चलाएर अग्निपरीक्षा उनी उत्तीर्ण भएको निकटस्थहरु ठान्छन्।
यसपछि पनि कुनै कमजोरी नरहोस् भनेर सभामुखका रुपमा चुस्त भूमिका निर्वाह गर्न उनले तयारी तीव्र पारेको न्यौपानेको भनाइ छ।
‘सभा सञ्चालनका लागि प्रभावकारी सीप चाहिन्छ। उहाँ आफैँले पनि राम्रो अनुभव हासिल गरिसक्नुभएको छ, केही राष्ट्रिय–अन्तराष्ट्रिय अभ्यास पनि उहाँले भिडियोमार्फत हेरिरहनुभएको छ,’ न्यौपानेले भने।
सभामुख भएपछि व्यस्तताका कारण पढ्न नपाएका उनले लकडाउनमा त्यो अवसर पाएका छन्। संसदमा विचाराधीन विधेयक, प्रमाणीकरण भएका ऐन कानुनबारे पनि उनले अध्ययन गरिरहेका छन्।
त्यस्तै पहिलो र दोस्रो संविधानसभामा रेकर्ड भएका गतिविधि पनि उनले अध्ययन गरिरहेका छन्।
राजनीतिक रुपमा अपडेट
सभामुख सापकोटाले राष्ट्रिय अन्तर्राष्ट्रिय समाचार सुन्न, हेर्न र पढ्नको लागि २ घण्टा समय दिने गरेका छन्।
‘बेलुका ८ बजेको समाचार र बिहानको समाचार उहाँले छुटाउनुहुन्न,’ दीपक भन्छन्, ‘अलिअलि समाजिक सञ्जाल र अनलाइनहरूमा न्युज पनि हेर्नुहुन्छ।’
सापकोटा बीबीसी नेपाली सेवा नछुटाइ सुन्छन्। त्यसैले उनको साथमा सधैँ रेडियो हुनेगर्छ।
शीर्ष नेताहरुसँग फोनबाटै संवाद
लकडाउनपछि प्रमुख प्रतिपक्षी दलका नेता, प्रमुख सचेतक लगायत विभिन्न पार्टीका नेताहरुसँग सभामुखले फोनबाटै छलफल गर्ने गरेका छन्।
‘घरबाहिर निस्कन नमिले पनि उहाँ निरन्तर शीर्ष नेताहरुको सम्पर्कमा हुनुहुन्छ, दैनिकजसो कुनै न कुनै नेतासँग छलफल गर्नुहुन्छ,’ न्यौपानेले भने।
जसरी हुन्छ, संसदमा सहमतिको वातावरण बनाउने सभामुख सापकोटाको योजना छ।
चैत १३ गते बोलाइएको संसद बैठक लकडाउनका कारण २३ गतेका लागि सारिएको छ। जुन अझै सर्ने सम्भावना छ।
प्रतिक्रिया