परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अष्ट्रेलियाका परराष्ट्र मन्त्री मरिज पिनलाई त्यहाँ रहेका नेपालीहरुको सुरक्षा गर्न आग्रह गरेका छन्।
अष्ट्रेलियामा बढ्दै गएको कोरोन भाइरस (कोभिड १९) को संक्रमणको सन्दर्भमा त्यहाँ रहेका विद्यार्थीसहित सम्पुर्ण नेपाली नागरिकको सामाजिक सुरक्षाको लागि आग्रह गरेका हुन्।
सोमबार मन्त्री ज्ञवालीले मरिज पिनलाई टेलिफोन गरेर उक्त आग्रह गरेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।
केही दिनअघि अष्ट्रेलियाका प्रधानमन्त्रीले एक वर्षको खर्च जुटाउन नसक्ने विदेशी विद्यार्थीहरु घर फर्किदा राम्रो हुने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिपछि त्यहाँ रहेका हजारौं नेपाली विद्यार्थीको अवस्था के हुने भन्ने प्रश्न उठेको थियो।
उक्त टेलिफोन वार्तामा नेपाल एयरलाइन्सले अष्ट्रेलियामा सिधा उडान गर्न सक्ने बारेमा पनि कुराकानी भएको थियो। केही दिनअघि नेपालमा रहेका अष्ट्रेलियन पर्यटकलाई बोकेर नेपाल एयरलाइन्सको विमान अष्ट्रेलिया उडेको थियो।
यो वर्ष नेपाल र अष्ट्रेलियाले कुटनीतिक सम्बन्धको ६० औं वर्षगाँठ बनाएका छन्। यसै सन्दर्भमा निकट भविष्यमा दुई समकक्षीबीच बैठक गर्ने र दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा पनि कुराकानी भएको विज्ञप्तिमा जनाइएको छ।
प्रतिक्रिया