ad ad

राजनीति


सहायक नाका हुँदै भारतबाट नेपाली प्रवेश गर्न थालेपछि थपिए सशस्त्र प्रहरीका ११ पोष्ट

सहायक नाका हुँदै भारतबाट नेपाली प्रवेश गर्न थालेपछि थपिए सशस्त्र प्रहरीका ११ पोष्ट

गोकुल जोशी
चैत २५, २०७६ मंगलबार १३:१५,

भारतबाट फर्केका बेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ।

कोरोना भाइरसको संक्रमण देखिए पछि कञ्चनपुरको नेपाल–भारत सीमासँग जोडिएका भूभागमा सतर्कता अपनाइएको हो। कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै नेपाल र भारत दुवै देश लकडाउनमा छन्। नाका भएर आवागमनमा प्रतिबन्ध छ।

लकडाउनका समयमा पनि मुख्य नाका बाहेक विभिन्न अन्य सहायक नाकाको प्रयोग गर्दै मजदुरीका लागि भारतमा रहेका नेपाली भित्रिन थाले पछि सशस्त्र प्रहरीले सीमामा कडाई गरेको हो। लकडाउन कडाईका साथ लागू गर्न कञ्चनपुरस्थित नेपाल–भारत सीमामा ११ वटा अस्थायी पोष्ट थप गरिएको छ।

कञ्चनपुरको पुनर्वास नगरपालिकाको डोकेबजारदेखि भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीसम्म विभिन्न ठाउँमा ११ वटा अस्थायी पोष्ट राखिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गणका एसपी वीरबहादुर साहुले बताए।

‘मुख्य नाका भन्दा पनि अन्य नाका भएर आउने धेरै भए, कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि उनीहरुको आवागमनलाई रोक्न सीमामा सतर्कता अपनाइएको छ’ एसपी साहुले भने।

उनका अनुसार नेपाल–भारत सीमामा ११ वटा अस्थायी पोष्टमा दुई सय २० जना सशस्त्र प्रहरी परिचालन गरिएका छन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका डोकेबजार नजिकै दोदा, पुनर्वास नगरपालिकाकै खल्लाककड, बेलौरी नगरपालिका–१ बसई, बेलौरी नगरपालिका–२ थापाचोक, बेलौरी नगरपालिका–१० भुडा, महाकाली नगरपालिका–१० कुतियाकबर, महाकाली नगरपालिका–२ गडिगोड, झोलुङ्गे, भीमदत्त नगरपालिका–१२ ऐरीघाट, भीमदत्त नगरपालिका–९ जिमुवा र भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीमा सशस्त्रको अस्थायी पोष्ट स्थापना गरिएको हो। 

भारतको उत्तराखण्डस्थित लुहाघाट भन्ने स्थानबाट चैत्र ११ मजदुरी गरी फर्किएका बेदकोट नगरपालिकाका एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका उनको अवस्था सामान्य छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .