ad ad

राजनीति


प्रचण्डद्वारा नेताहरुसँग छलफल तीब्र, अध्यादेशकाे बिषय अब स्थायी समितिमा लाने तयारी

प्रचण्डद्वारा नेताहरुसँग छलफल तीब्र, अध्यादेशकाे बिषय अब स्थायी समितिमा लाने तयारी

सागर न्यौपाने
बैशाख ९, २०७७ मंगलबार १७:७,

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा छलफल नगरी दीर्घकालीन महत्वको दुई वटा अध्यादेश ल्याएपछि त्यसबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केही प्रमुख नेताहरुसँग छलफल र परामर्श तीव्र पारेका छन्।

मंगलबार प्रचण्डले सचिवालयका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र महासचिव विष्णु पौडेलसँग टेलिफोनमा छलफल गरेका थिए।

सचिवालयका नेताहरुले भने पार्टीलाई दुर्घटनामा जान नदिन प्रचण्डसँग आग्रह गरेको स्रोतले जानकारी दियो।

मंगलबार बिहानै उनले आफ्नै निवास खुमलटारमा केही स्थायी समिति सदस्य र प्रभावशाली केन्द्रीय सदस्यहरुसँग भेट गरेका थिए।

खुमलटार पुगेका नेताहरूसँग प्रचण्डले सुरुमा सचिवालय बैठकको प्रसंगबारे जानकारी गराएका थिए।

‘मेरो जोडबलमा सचिवालय बैठक त डाकियो तर राष्ट्रपतिसँग पहिल्यै सेटिङ मिलाइसकिएको रहेछ। हाम्रो बैठक सुरु हुनेबित्तिकै शीतल निवासबाट अध्यादेश प्रमाणीकरण गरिएछ,’ प्रचण्डको भनाइ उधृत गर्दै खुमलटार गएका एक स्थायी समिति सदस्यले नेपालखबरसँग भने, ‘यस्तो संकटको बेला विवादास्पद अध्यादेश ल्याएर समस्या सिर्जना गर्न खोजियो।’

प्रधानमन्त्री ओलीले पार्टी फुटे फुटोस् भन्ने तरिकाले अध्यादेश ल्याएको अधिकांश सचिवालय सदस्यहरुको बुझाइ रहेको पनि स्रोतले जानकारी दियो।

‘उहाँले सबै नेतासँग कुरा गरिरहनु भएको छ, कार्यकारी अध्यक्षको हैसियतमा पार्टीका सबैसँग उहाँले कुरा गर्नैपर्छ,’ ती स्थायी समिति सदस्यले भने, ‘सचिवालयका धेरै सदस्यले उहाँलाई तपाईंले पहलकदमी लिएर सम्भावित जोखिम रोक्नुपर्छ भन्नुभएको छ। अहिले पार्टी एकढिक्का बनाएर कोरोना भाइरसको संकट समाधान गर्ने बेला विवाद आउन दिनुहुन्न भन्नुभएको छ।’

प्रचण्डले प्रधानमन्त्री ओलीको कदमबारे सचिवालय सदस्यमाझ साझा धारणा बनाउने प्रयास गरेको ती नेताको भनाइ थियो।

‘भैँसेपाटी गठबन्धनमा रहेका सचिवालयका सबैलाई एकताबद्ध गर्न उहाँ सक्रिय हुनुहुन्छ,’ उनकाे दाबी छ। ‘सबैलाई प्रधानमन्त्री ओलीले यस्तो समस्या निम्त्याउँछन् भन्ने थाहा थियो नै। अध्यादेशका कारण भैँसेपाटी गठबन्धन अझ बलियो भएको छ।’

सचिवालयका केही नेताले अध्यादेशबारे आफ्नो धारणा सार्वजनिक गरिसकेका छन्।

वरिष्ठ नेता झलनाथ खनालले अध्यादेश ल्याउनै नहुने बताएका छन्। उनले सचिवालय बैठकबाट रोक्न खोज्दा खोज्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश प्रमाणीकरण गरेको बताए।

यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले पनि विज्ञप्ति जारी गर्दै कोरोना संकटमा देश, राजनीतिक दल एक हुनुपर्ने बेलामा अध्यादेश ल्याउनु गलत भएको बताएका छन्।

पार्टी उपाध्यक्ष वामदेव गौतमले पनि अध्यादेशले पछि नेकपालाई नै खतरामा पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

सोमबारको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री ओलीले पार्टी विभाजन र संवैधानिक परिषदसम्बन्धी दुईवटा अध्यादेश ल्याउने निर्णय गराएका थिए।

लगत्तै केन्द्रीय समिति वा संसदीय दलका ४० प्रतिशत सदस्यले पार्टी विभाजन गर्नसक्ने प्रावधान सहितको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भइसकेको छ।

स्थायी समितिको बैठक माग
नेकपाका नेताहरुले स्थायी समिति बैठक तत्काल बोलाउन माग गरेका छन्।

तत्काल स्थायी समितिको बैठक बोलाएर पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराउनुपर्ने विषयमा छलफल गरिएको स्थायी समिति सदस्य हरिबोल गजुरेलले जानकारी दिए।

‘दुई अध्यादेशले देशमा अस्थिरता निम्त्याएको भन्दै त्यसको विरोध भएको छ,’ उनले भने, ‘नेकपाभित्र पनि यसले समस्या पार्ने खतरा छ, यस्तो बेलामा स्थयी समितिमा यसबारे छलफल गर्नुपर्ने कुरा उठेको छ।’

आफूनिकट नेतालाई काठमाडौँ बोलाए प्रचण्डले
प्रचण्डले उपत्यकाबाहिर रहेका आफूनिकट सबै नेतालाई काठमाडौं डाकेका छन्।

रुकुममा रहेका नेता जनार्दन शर्मा मंगलबार नै काठमाडौं आइसकेका छन् भने कपिलवस्तुमा रहेका चक्रपाणि खनाल र धनुषामा रहेका मातृका यादव पनि काठमाडौं आउने तरखरमा छन्।

‘राजनीतिलाई थप पेचिलो बनाउनेगरी अध्यादेश आएको छ, यसबारे बसेर कुरा गर्नुछ, तपाईंहरु आउनुस् भनेर बोलाउनुभयो,’ प्रचण्ड निकट एक नेताले नेपालखबरसँग भने, ‘गम्भीर विषय नभए प्रचण्डले बोलाउनुहुन्थेन, फोनमा धेरै कुरा नगरौं भेटेरै कुरा गरौं भन्नुभयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .