ad ad

राजनीति


केहीलाई आर्थिक प्रलोभन दिइएकाे रहेछ, मलाई मन्त्री बनाइदिन्छु भन्ने आशय थियो: डा. यादव

केहीलाई आर्थिक प्रलोभन दिइएकाे रहेछ, मलाई मन्त्री बनाइदिन्छु भन्ने आशय थियो: डा. यादव

शैलेन्द्र महतो
बैशाख ११, २०७७ बिहिबार ११:४२,

सरकारले समाजवादी पार्टीलाई विभाजन गर्ने गरी रातारात अध्यादेश ल्यायो। समाजवादी पार्टी फुटाउन असन्तुष्ट सांसदको आवश्यक संख्या सरकारलाई पुगेन।

डा. सुरेन्द्र यादवसंग प्रतिनिधि सभा सदस्यहरु डा. सूर्यनारायण यादव र रामबाबु यादव पनि साथमा छन् भन्ने कुनै माध्यमबाट प्रधानमन्त्रीलाई जानकारी दिइयो।

तीनजना छन् भनेपछि आवश्यक संख्या पुर्याउन सकिन्छ भन्ने योजना बनाएर मलाई ‘टार्गेट’ गरिएछ।

मंगलबार मलाई निबर्तमान आइजीपी सर्वेन्द्र खनालले फोन गर्नुभयो। उहाँले प्रधानमन्त्रीजी मसँग भेट्न चाहेकाे कुरा गर्नु भयो। मैले भनेँ ठीकै छ। अहिले लकडाउन छ। लकडाउन पश्चात म आएर भेट गर्छु भनेँ।

मसंग पिएसओ छन। प्रहरीमार्फत पत्ता लगाएर बुधबार मेरो घर महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ४ गैढाभेटपुरमै सर्वेन्द्र खनालसहित आइपुग्नु भयो।

मलाई खनालले फोन गरेर कहाँ हुनुहुन्छ भनी सोध्नुभयो? मैले घरमै छु भनेँ। म गाउँतिर गएको थिएँ। एकछिनमै म घरमा आइपुगेँ।

बिहान करिब १० बजेको थियो। मेरो घरमा सर्वेन्द्रसहित उहाँसंगै नेकपाका युवानेता महेश बस्नेत र नेकपाकै सांसद कृष्ण श्रेष्ठ हुनुहुन्थ्यो। एउटै गाडीमा आउनु भएको थियो।

उहाँहरुलाई खाना खुवाएर आतिथ्य सत्कार गरेँ। त्यसपछि उहाँहरुले भन्नुभयो, प्रधानमन्त्रीजीले भेट्न बोलाउनु भएको छ। अनि समाजवादी पार्टी बिभाजनको विषयमा कुराकानी सुरु गर्नु भयाे।

अहिले कोरोनाको महामारी छ। देशलाई तपाईको आवश्यकता छ। सरकारलाई सहयोग गरिदिनु पर्याे लगायतको कुराहरु राख्नुभयो।

म उहाँहरुबाट उम्किन खोजेँ। तर मलाई जानैपर्छ भनेर मिठै कुराकानीले दबाब दिन थाल्नुभयो।

उहाँहरुले कम्तिमा बारासम्म हिड्नुपर्याे भन्नुभयो। मैले म बारासम्म जान्न भनेँ। बर्दिबासम्म पुग्छु, त्यहाँ बसेर कुरा बुझ्छु, त्यसपछि मात्रै जाने नजाने निर्णय लिन्छु भनेँ। मेरो आफ्नै निजी गाडी छ। म त्यसमै बसेर बिर्दिबासम्म जान खोजे।

तर उहाँहरुले चढेर आएकै गाडीमा बस्न आग्रह गर्दै कर गर्नुभयो। त्यहि गाडीमा बसेँ। 

मेरो गाडीमा सुरक्षा गार्ड, मेरो भतिज राजिव यादव र चालक थिए। मलाई शंका लागेर मैले उनीहरुलाई मेरै निजी गाडीमा पछाडि पछाडि हिँड्न भनेँ। बर्दिबास पुग्दा गाडी नै रोकिएन। केहि बेरमा सिन्धुली पुग्यौं। सिन्धुलीमा खाजा खायौं। हिडेपछि पार्टी बिभाजन गर्ने योजनामा को को छन भनेर बुझ्न खोजे।

केहि व्यक्तिहरुको नामावली हेरेँ। मलाई पत्यार लागेन। कसैले पार्टी नै फुटाउनु छ भने हामीसंग कुरा गथ्र्याे नि। अथवा सरकार पक्षले पनि सांसदहरुसंग कुरा गर्थ्याे।

नामावलीमा हुनेहरु केहिलाई आर्थिक प्रलोभन दिएको जस्तो लाग्यो। मलाई आर्थिक प्रलोभन दिइएन। तर मन्त्री बनाइदिन्छु भने जस्तो उनीहरुको भनाइको तात्पर्य थियो।

मैले यिनीहरुले पार्टी बिभाजन षडयन्त्र गरेको सुइँको पाएपछि काठमाडौं हिड्ने बेला नै आफ्नो पार्टी समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पोन गरेको थिएँ।

यी–यी व्यक्तिहरु मलाई लिन आउनु भएको छ भनेर जानकारी गराएँ। सिन्धुलीमा खाजा खान रोकिँदा त्यहिँ अर्का अध्यक्ष उपेन्द्र यादवलाई फोन गरेँ।

एउटा नितान्त गोप्य निजी नम्बर भएको मोबाइल मेरो साथमा थियो। अबेर राति ३ बजे काठमाडौं पुगेँ। काठमाडौैको एउटा होटलमा बासको व्यवस्था गरेको थियो। त्यहाँ पुग्ने बित्तिकै फेरी पार्टी अध्यक्ष यादवलाई फोन गरेर म फलानो होटेलको यति नम्बर कोठामा छु भनी जानकारी दिए। बिहान छिटै उठेँ। असन्तुष्टहरुसंग कुरा गरेँ। यसरी समन्वय गरेर पार्टी फुट्नबाट जोगाएँ।

बिहानै पुनः अध्यक्ष उपेन्द्र यादवलाई फोन गरेँ। उहाँले भन्नुभयो- सिधै हामी कहाँ आउनुस्। डा. बाबुराम भट्टराईको घरमा पुगेँ।

मसंग कुनै मिटिंग–सिटिंग भएन। मलाई कसैले अपहरण पनि गरेको होइन। मिडियामा आएका कुराहरु हल्ला हो। मैले प्रयोग गर्ने एउटा पोस्टपेड र एनसेलको नम्बर भएको मोबाइल मेरो निजी गाडीमै छुटेको थियो। त्यो स्वीच अफ भइसकेको थियो। होटेलमा पुग्दा जब मेरो गाडी आयो। त्यो मोबाइलबाट घरमा फोन गर्दा अपहरण भएको भन्ने हल्ला सुनेर रुवाबासी थियो।

बरिष्ठ उपाध्यक्ष रणु यादवको पार्टीमा ठुलो योगदान छ। पार्टी फुटाउने र बनाउने सामान्य कुरा होइन। रेणु यादव परिपक्व व्यक्तित्व हुनुहुन्छ। उहाँले पार्टी फुटाउने कुरा कदापि गर्नु हुन्न। मेराे इस्तियाक राइ लगायतसँग कुरा भएन। रेणु यादवसंग कुरा भएको थियो।

प्रदेश २ को पार्टीको अधिवेशनको बेलादेखि उहाँ असन्तुष्ट हुनुहुन्छ। पार्टीको गतिविधि र प्रदेश २ सरकारको क्रियाकलाप बारेमा उहाँले असन्तुष्टि पोख्नु भयो। असन्तुष्टि भए पनि पार्टी भित्रै लड्नुपर्ने, संघर्ष गर्नुपर्ने हो। उहाँले पार्टी फुटाउने कुरा गर्नु भएन। पार्टी टुक्रयाउन सरकार भिडेको थियो। तर पार्टी फुट्नबाट जोगाएँ।

पार्टीबाट मैले विद्रोह गर्ने कुरा सपनामा पनि सोँचेको छैन। पार्टीबाट छुट्टिएर जाने कुरै भएन।

पार्टी एकता भएको कुराले म निकै हर्षित छु। मधेशी, आदिबासी, जनजाती र पिछडा वर्गको नेतृत्व गर्ने दलहरु एकठाउँमा आएको देख्ने मेरो पहिलेदेखिकै सपना थियो।

म २०७२ को मधेश आन्दोलनमा सक्रिय भूमिका खेलेको हुँ। आन्दोलनपछि डा. बाबुराम भट्टराईले तत्कालिन एकीकृत नेकपा माओवादीबाट विद्रोह गरी खोल्नु भएको नयाँ शक्तिमा आवद्ध भएँ।

डा. भट्टराईकै आग्रहमा चुनाबको बेलामा त्यस्तै बिचारधाराको संघीय समाजवादी पार्टी फोरममा प्रवेश गरेँ। त्यतिबेला गठबन्धन बनाएर प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजपा र फोरम गएपछि मैले महोत्तरी क्षेत्र नं. ४ बाट चुनाव जितेँ।

ती दुबै दलकै योगदानले आज म सांसद छु। र आज दुबै दल एकासाथ हुँदा म मेरो सपना साकार भएको अनुभूति भइरहेको छ।

अब पार्टी झनै बलियो भएको छ। संविधानमा संशोधन नभएका पिछडिएको समुदाय र मधेशको हक अधिकारको कुराको मुद्दालाई जोड दिएर अघि बढ्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .