ईलाम जिल्लाको माई नगरपालिका ३ स्थित रबरडाँडाबाट शसस्त्र प्रहरी टोलीले ०.८० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको माई नगरपालिका ४ कालीखोला बस्ने १९ वर्षीय बिराज लिम्बु र झापा जिल्लाको अर्जुनधारा नगरपालिका ३ बस्ने २९ वर्षीय सन्जिब राई छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस दानाबारीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो। बा ५ प ९६३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो।
एपीएफ टोलीले त्यसवेला उनीहरुको साथबाट मोबाईल सेट दुई वटा र नौ सय रुपैयाँ समेत बरामद गरेको छ। पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ।
यसैगरी सिरहा जिल्लाको नवराजपुर गाँउपालिका ५ स्थित सीमा ईलाकाबाट वैशाख १० गते एपीएफ टोलीले विभिन्न किसिमको लागु औषधसहित लहान नगरपालिका २० बस्ने २२वर्षीय मोहमद मोहोदिन मियाँलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको एपीएफ टोलीले निज मियाँलाई डाईजिल्याब १६ बोतल, प्रोमेजिन १६ बोतल र १५ वटा सेतो बोतलमा पानी जस्तो देखिने लागु औषधसहित पक्राउ गरेको हो।
एपीएफ टोलीले पक्राउ परेका निज मियाँलाई बरामद लागु औषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ।
प्रतिक्रिया