ad ad

राजनीति


वामदेवलाई प्रधानमन्त्री बनाउँः ओली, औपचारिक प्रस्ताव ल्याउनुस्ः वामदेव

वामदेवलाई प्रधानमन्त्री बनाउँः ओली, औपचारिक प्रस्ताव ल्याउनुस्ः वामदेव

सागर न्यौपाने
बैशाख १७, २०७७ बुधबार १७:४२,

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्यासित रुपमा वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव गरेका छन्। प्रत्युत्तरमा गौतमले औपचारिक प्रस्ताव ल्याउन ओलीसँग आग्रह गरेका छन्।

पार्टीभित्र बढ्दै गएको विवादको समाधान खोज्ने उद्देश्यले बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको बैठकमा ओलीले केही समयपछि गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधव नेपाललाई पार्टीको अध्यक्ष बनाउन सकिने प्रस्ताव गरेको सचविालयका एक सदस्यले बताए।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अन्य सदस्यहरूले घुमाउरो भाषामा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएपछि ओलीले यस्तो जवाफ फर्काएका हुन्।

ओलीले आफुले प्रधानमन्त्री छाड्नै पर्ने भए पहिले प्रधानमन्त्री भैसकेका नेतालाई होइन, नयाँलाई बनाउने प्रस्ताव गरेको ती सचिवालय सदस्यले बताए।

‘अहिले त कोरोनाको महामारी छ, मैले छाड्नु पर्ने हो भने अहिलेसम्म प्रधानमन्त्री नभएको वामदेव गौतम हुनुहुन्छ, कुनै क्षेत्र खाली गराएर चुनाव जिताएर ल्याएर प्रधानमन्त्री बनाउँ’, प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै ती सचिवालय सदस्यले भने।

डेढ महिनाअघि गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय समेत कार्यान्वयन गर्न अस्वीकार गरेका ओलीबाट आएको यस्तो प्रस्ताव स्वयं गौतम र सचिवालयका अन्य सदस्यका लागि अप्रत्यासित थियो।

यो अप्रत्यासित प्रस्तावलाई प्रायः सचिवालय सदस्यले प्रचण्ड–नेपाल नेतृत्वको भैंसेपाटी गठबन्धन भत्काउने ओलीको कार्डका रुपमा लिएको देखिन्छ। उनीहरूले बैठक सकिएपछि आफु निकटका नेताहरूलाई त्यही ब्रिफिङ गरेका छन्। त्यो किनभने ओलीले कुन क्षेत्रबाट वामदेवलाई कहिले निर्वाचित गराएर ल्याउने र प्रधानमन्त्री बनाउने भन्ने स्पष्ट उल्लेख गरेका छैनन्।

ओलीको प्रस्ताव पार्टी उपाध्यक्ष गौतमले पनि त्यत्ति भरपर्दो मानेको देखिँदैन। गौतमले विधि र प्रक्रियाअनुसार निर्णय गर्नुपर्ने बताउँदै जवाफ फर्काए, ‘औपचारिक प्रस्ताव ल्याउनुस् न त।’

नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि अब गौतमलाई प्रधानमन्त्री बनाउने पहिलेदेखि नै बताउँदे आएका थिए। तर एक वर्षअघि काठमाडौं वा अन्य कुनै क्षेत्र खाली गराएर उनलाई चुनाव जिताएर प्रतिनिधिसभामा ल्याउने प्रयास ओलीकै कारण असफल भएको थियो।

वामदेवलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलले पनि बैठकमा समर्थन जनाएका थिए।।

बैठकमा ओलीले केही समयपछि माधव नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेको अर्का एक सचिवालय सदस्यले बताए। त्यसको अर्थ ओलीले बरु प्रधानमन्त्री पद गौतमलाई दिने तर आफुले पार्टी अध्यक्ष नछाड्ने संकेत हो। माधव नेपालले भने पार्टी अध्यक्ष आफुलाई छाड्न तयार भए ओलीलाई प्रधानमन्त्री रहिरहन सहयोग गर्न सकिने प्रस्ताव ओली समक्ष पुर्याएका थिए।

पार्टीभित्र विवाद चुलिएका बेला बसेको यो बैठक निर्णायक हुने मानिएपनि कुनै निर्णय हुन नसकेको अध्यक्ष प्रचण्डले बताएका छन्।

‘आजको बैठकमा बहस राम्रो भयो, धेरै विषयमा छलफल भएको छ, २० गतेको बैठकले निष्कर्षतिर लैजान्छ र स्थायी समिति बैठक पनि तोकिन्छ’, प्रचण्डले राती खुमलटार निवास फर्केर आफ्नो सचिवालयलाई ब्रिफिङ गर्दै भने।

प्रचण्डले बैठकमा सचिवालयका नौ जना सबैले आफ्नो धारणा राखेको र प्रधानमन्त्री ओली नरम रुपमा प्रस्तुत भएको बताएको उनी निकट एक नेताले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .