ad ad

समाज


कोरोना लाग्दैन भन्ने भ्रममा कडा रक्सी खाँदा ७ सय जनाको मृत्यु

कोरोना लाग्दैन भन्ने भ्रममा कडा रक्सी खाँदा ७ सय जनाको मृत्यु

नेपालखबर
बैशाख १७, २०७७ बुधबार १६:३०,

कोरोना भाइरस लाग्दैन भन्ने अन्धविश्वासमा परेर अत्यधिक रक्सी खाँदा इरानमा सात सयभन्दा बढी जनाको मृत्यु भएको छ।

त्यहाँका सरकारी अधिकारीले दिएको जानकारीअनुसार विषाक्त रक्सी पिउँदा ७ सय २८ जनाको ज्यान गएको हो।

अल्जजिराले सम्प्रेषण गरेको समाचारअनुसार इरानमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि उनीहरूले अत्यधिक मात्रामा रक्सी पिएका थिए। रक्सी खाँदा कोरोनाबाट बच्न सकिन्छ भन्ने गलत हल्ला फैलिएपछि उनीहरूले कैयौं कडा प्रकारका रक्सी खाएका थिए।

विषाक्त रक्सीले सुरुमा मस्तिष्कलाई असर गरेर शरीरका अन्य अंगलाई पनि काम गर्न नसक्ने बनाउने गरेको अधिकारीले जनाएका छन्। रक्सी खाएका उनीहरूलाई छाती दुख्ने, वान्ता हुने, आँखामा समस्या हुनेलगायतका लक्षण देखिएका थिए।

गत फेब्रुअरी २० देखि अप्रिल ७ सम्ममा उनीहरूले अत्यधिक रक्सी पिएका थिए। इरानमा गत वर्ष पनि विषाक्त रक्सीका ६६ जनाको मृत्यु भएको थियो।

इरान कोरोना भाइरसको संक्रमणबाट मध्यपूर्वकै सबैभन्दा बढी प्रभावित देशमा पर्छ।

इरानमा अहिलेसम्म कोरोना भाइरसका कारण ५ हजार ८ सय ६ जनाको मृत्यु भइसकेको छ भने ९१ हजार जनाभन्दा बढी संक्रमित भएका छन्। यो संख्या मध्य पूर्वकै सबभन्दा धेरै भएको जनाइएको छ। रासस/एएनआई

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .