ad ad

राजनीति


दूतावास पुगेर बास्कोटाले भेटे भारतीय राजदूत, भन्छन्ः कुरा बुझ्न भेटेको हुँ

दूतावास पुगेर बास्कोटाले भेटे भारतीय राजदूत, भन्छन्ः कुरा बुझ्न भेटेको हुँ

नेपालखबर
जेठ २२, २०७७ बिहिबार १५:५५,

प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले भारतीय राजदूत विनयमोहन क्वात्रासँग हालै भएको भेटवार्तामा दुई पक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको बताएका छन्।

बास्कोटाले आफुले सरकारी प्रतिनिधिभन्दा पनि सत्तारुढ दलको सांसदको हिसावले भारतीय राजदूत क्वात्रासँग भेटेर एक डेढ घण्टा छलफल गरेको स्वीकार गरे। केही दिनअघि भारतीय दूतावास नै गएर बास्कोटाले राजदूतसँग भेटवार्ता गरेका थिए, जसबारे चर्चा भइरहेका बेला उनले चाहिँ कहिले र कहाँ भेट गरेको भन्ने खुलाउन चाहेनन्।

‘भेट भएपछि एक डेढ घण्टा कुराकानी हुने नै भयो, नेपाल–भारत सम्बन्धका बहुपक्षीय आयामका बारेमा विचार, दृष्टिकोण आदानप्रदान भयो’, बास्कोटाले बिहीबार साँझ नेपालखबरसँग भने, ‘घनिष्ठ मित्रराष्ट्र भएपछि (जस्तोसुकै परिस्थितिमा पनि) कुरा बुझ्नु पर्छ, ट्रयाक टु, ट्रयाक थ्री जस्तै गरी भेट भएको हो।’

भारतले करिब ६ महिनाअघि नेपालको कालापानी क्षेत्रसमेत आफ्नो नक्सामा राखेपछि काठमाडौंले त्यसको विरोध गर्दै सीमा वार्ताको प्रस्ताव गरेको थियो। त्यसपछि झन् नेपालको भूभाग नै मिचेर बनाइएको बाटो उद्घाटन गरेपछि परराष्ट्र मन्त्रालयले यिनै राजदूत क्वात्रालाई बोलाएर विरोध जनाउँदै ‘कुटनीतिक नोट’ दिएको थियो।

भारतले दार्चुला जिल्लाको नेपाली भूभाग हुँदै लिपुलेकबाट तिब्बतको मानसरोवर पुग्ने सडकको ट्रयाक उद्घाटन गरेपछि नेपालले कालपानी, लिपुलेक, लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेको छ, जस अनुसार निशान छाप परिवर्तन गर्न संविधान संशोधन गर्ने प्रक्रिया अगाडि बढाइएको छ।

नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय रक्षामन्त्री राजनाथ सिंह र सेनाका प्रमुखले चीनतिर संकेत गर्दै ‘अरु कसैको उक्साहट’ मा नेपालले त्यस्तो निर्णय गरेको प्रतिक्रिया दिएका छन्।

नेपालले सीमा समस्याको समाधान खोज्न बारम्बार परराष्ट्र सचिव तथा मन्त्री तहमा वार्ता गर्न राखेको प्रस्ताव भारतले पन्छाउँदै आएको छ। पछिल्लो सयम कोभिड–१९ को महामारीपछि वार्ता गर्ने जनाएको भारतीय पक्षले अहिले आएर भने ‘सकारात्मक वातावरण’ भएमात्र वार्ता गर्न सकिने बताउँदै आएको छ।

नेपाल र भारतबीच सरकारी तहमा औपचारिक वार्ता नै हुन नसकिरहेका बेला प्रधानमन्त्री ओलीले अनौपचारिक भेटवार्ता मार्फत दिल्लीसँग संवाद पनि गरिरहेका छन्।

नेकपा सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले अघिल्लो हप्ता एक साँझ भारतीय राजदूत क्वात्रासँग बालुवाटारस्थित आफ्नो निवासमा लामो वार्ता गरेका थिए, जसबारे प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूले पुष्टि गर्न चाहेका छैनन्।

‘प्रधानमन्त्रीले बोलाएपछि राजदूत क्वात्रा राती नौ बजे बालुवाटार पुगेका थिए, जहाँ एक डेढ घण्टा भेटवार्ता भएको थियो’, नेकपाका ती नेताले भने।

ती नेताका अनुसार प्रधानमन्त्री ओली र राजदूत क्वात्राबीच भेटवार्ता भएको केही दिनपछि बास्कोटाले दूतावास नै पुगेर राजदूतसँग भेटेका हुन्। केही स्रोतहरूले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सीमा समस्याको विषयमा टेलिफोन कुराकानी गराउने प्रयास अन्तर्गत यी भेटघाटहरू भएको दाबी गरेका छन्।

‘भारतीय पक्षबाट पनि वार्ताबाट समस्याको समाधान गर्नुपर्छ भन्ने कुरा नै आइरहेको छ, तर त्यसमा अहिले हतार गरेर हुँदैन’, बास्कोटाले भने, ‘विकल्प वार्ता नै हो तर वातावरण तातेका बेला वार्ता हुँदैन।’

भारतले नेपाली भूभाग मिचेको विषय पुरानो समस्या भएपनि आफ्नो भूभाग समेटेर चुच्चे नक्सा ल्याउने काम ओलीले नै गरेको उनले बताए।

‘चाहिने चुच्चे नक्सा नै हो, त्यो त प्रधानमन्त्री ओलीले नै दिनु भयो नि’, बास्कोटाले भने।

संविधान संशोधन गरेर निशान छाप परिवर्तन गर्ने एउटा प्रक्रिया बाँकी नै रहेको भन्दै बास्कोटाले अहिले ‘बहकिने होइन, विचार गरेर चल्नु पर्ने’ बताए।

यो भेटवार्ताको उपलब्धी स्वरुप के अब प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच सीमा समस्याबारे टेलिफोन वार्ता हुन्छ त?

नेपालखबरको प्रश्नमा बास्कोटाले भने,‘तालिवानसँग त अमेरिकाले वार्ता गर्यो, हामी त छिमेकी हौं।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .