ad ad

राजनीति


तिब्र बनेको कोरोनाको सुस्त परीक्षणप्रति गण्डकीका सांसदहरुको आपत्ति

तिब्र बनेको कोरोनाको सुस्त परीक्षणप्रति गण्डकीका सांसदहरुको आपत्ति

वाशुदेव मिश्र
जेठ २५, २०७७ आइतबार १३:३९,

गण्डकी प्रदेशका सांसदहरुले कोरोना संक्रमण बढ्दै जाँदा परीक्षणमा देखिएको सुस्तताप्रति तीव्र असन्तुष्टी जनाएका छन्। उनीहरुले स्थानीय तहलाई पीसीआर मेसिन किन्नको लागि सहजिकरण तथा परीक्षणको गति तीब्र बनाउन माग पनि गरेका छन्। 

सभासद ईन्द्रलाल सापकोटाले बागलुङमा भारतबाट फर्केका १५६८ जना क्वारेन्टिनमा भएको र तीमध्ये २९ जना बागलुङको धौलागिरी अस्पतालमा उपचार गराइरहेको तथ्यांक पेश गर्दै परीक्षणको गति ढिला भएकोमा असन्तुष्टी जनाए।

‘यी क्वारेन्टिनमा १३ दिन, १४ दिन १५ दिन बसेको भएको छ। गण्डकी प्रदेशको हस्पिटलमा रहेको जामको कुरा गरिएको छ। अस्तिसम्म भिटीएमको अभावको कुरा गरिएको छ’,आइतबारको प्रदेशसभाको विशेष समयमा बोल्दै उनले भने, ‘चाहे जामको कुरा होस् वा भीटिएम अभावको कुरा होस्, १५ दिन हुँदासम्म क्वारेन्टिनमा स्वाब लिने काम गरिएको छैन, जसले गर्दा गाउँपालिकालाई खुवाउने र राख्न समस्या भएको छ, यसमा म गण्डकी प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

उनले पोखरामा रहेको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले ५/७ दिनसम्म पनि परीक्षणको नतिजा दिन नसकेको गुनासो पनि गरे।

सत्तापक्षको प्रतिनिधित्व गर्ने उनले बागलुङ ठूलो जिल्ला भएको दलिल पेश गर्दै बागलुङ अस्पताल भरिएकाले बागलुङ बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पताल बनाउन माग गरे। त्यसमा लगानी गर्न वरपरका गाउँपालिका तयार भएको उनको भनाई थियो। बागलुङमा संक्रमित बढ्दै गएपछि थप आइसोलेसन केन्द्र बनाउनको लागि सहयोग मात्रै मागेनन्, बागलुङ अस्पतालको लागि पीसीआर मेसिन खरिद गरेर माइक्रो बाइलोजिष्टको व्यवस्था गर्न माग गरे।

संक्रमण फैलेको स्याङ्जाका सांसद भागवतप्रकाश मल्लले पीसीआर मेसिन किन्न वालिङ नगरपालिका तयार रहे पनि मेसिनका दलालहरुको अवरोधले त्यसमा समस्या परेको जिकिर गरे।

‘हामी आफै किन्छु भन्दा त्यसको मूल्य डेढ करोडसम्म भनियो, जबकि त्यसको मूल्य ३६ लाखजति पर्छ भन्ने सुनेको छु’, उनले भने, ‘प्रदेशले यसको व्यवस्थापन गर्नुपर्यो।

अर्का सांसद विन्दुकुमार थापाले संक्रमण फैलँदै गर्दा प्रदेशमा स्रोत साधन सम्पन्न अस्पताल बनाउन अत्यावश्यक देखिएको बताए। उनले पोखराको वडा नम्बर ८ मा संक्रमण देखिनु समुदायमा संक्रमण फैलेको प्रमाण भएको जिकिर गर्दै आइसोलेसन वार्ड बढाउन र परीक्षण बढाउन माग गरे। उनले बनाइएका क्वारेन्टिनहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको हुनुपर्ने सुझाव पनि दिए।

धनमाया पोखरेल लामाले पनि गोर्खामा लकडाउनसँगै भोकमरी फैलनसक्ने बताउँदै राहतको कार्यक्रम ल्याउन माग गरिन्। स्वदेश फर्कने क्रम बढेको र गोर्खामा आइसोलेसन वार्ड नै नभएको बताउँदै उनले तत्काल आइसोलेसन बेड बनाउन माग गरिन्।

यस्तै, पर्वतबाट प्रतिनिधित्व गर्ने सांसद जुनादेवी नेपालीले कोरोना परीक्षणको दायरा बढाउन र अविरल वर्षाबाट भएको क्षतिमा ध्यान दिन माग गरिन्।

सांसद दोबाटे विश्वकर्माले पनि स्थानीय निकायहरुले पीसीआर मेसिन किन्न पाए किन्छौँ भन्दा पनि किन्न नपाएको गुनासो गरे।

सांसद राजिव पहारीले कोरोना कम्युनिटीमा फैलिन नदिन ध्यानाकर्षण गराए।

बैठकले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रतिष्ठानको स्थापना र सञ्चालन विधेयक बहुमतले पारित गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .