ad ad

राजनीति


वैवाहिक अंगिकृत नागरिकताबारे जुटेन सहमति, गृहमन्त्री थापाले मागे पाँच दिनको समय

वैवाहिक अंगिकृत नागरिकताबारे जुटेन सहमति, गृहमन्त्री थापाले मागे पाँच दिनको समय

नेपालखबर
असार ३, २०७७ बुधबार ११:४,

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ।

नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई अंगीकृत नागरिकता दिने सम्बन्धमा राजनीतिक दलहरुबीच सहममति जुटाउन गृह मन्त्री रामबहादुर थापाले समय मागेपछि समितिले पाँच दिनको समय दिएको हो। नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई अंगीकृत नागरिकता दिने सम्बन्धमा विवाद हुँदा करिब २ वर्ष यता यो विधेयक रोकिएको छ।

समितिमा मंगलबारबाट पुनः सुरु भएको छलफलमा नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाइ ७ वर्ष पछि मात्र अंगीकृत नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिने प्रस्ताव पेश भएको थियो।

जसमा नेपाली कांग्रेसका सांसदहरुले थप छलफल गर्न समय मागेपछि बैठक आज (बुधबार) का लागि सारिएको थियो। सांसदहरुबीच सहमति जुटन नसकेपछि गृहमन्त्री थापाले राजनीतिक तहमा सहमति जुटाउन समय मागेका थिए। समिति सभापति शशी श्रेष्ठले चालु अधिवेशनबाट नै विधेयक पास गर्नका लागि जसरी भएपनि पाँचदिन भित्रमा सहमति जुटाएर आउन गृहमन्त्री थापालाई समय दिएकी हुन्। 

उनले भनिन्, ‘यसको गाम्भिर्यतालाई लिएर छलफल चलाउने हो भने एक दिन पनि काफि हुन्छ भन्ने लाग्दछ। फेरि पनि यो आइतबार भित्रमा सम्भव भएसम्म भोलिपर्सि नै पाँच दिन भित्रमा यसलाई टुंगो लगाउने र यदि हाउस छिटो टुङ्गिने भएको खण्डमा त्यो भन्दा अगाडि पनि हुनु पर्दछ। यो हाउसमै लाने गरेर, प्रस्तुत हुने, यहि अधिवेशन मै यसलाई पास गर्ने र सम्पूर्ण प्रक्रिया टुंग्याउने हिसाबबाट सरकारले पहल कदमी लेओस।’

गृहमन्त्री रामबहादुर थापाले यसै अधिवेसनमा पठाउने गरी राजनीतिक तहमा सहमति जुटाउन समय मागेका थिए। उनले भने, ‘छिटो भन्दा छिटो सकेसम्म यहि सत्र भित्र प्रस्तुत गर्ने ढंगले नै गर्ने कुरा हुन्छ। यही सत्रमा ल्याउने हो विधेयकलाई। त्यही नै होला। त्यसकारणले अहिले मिति तोक्ने भन्दा पनि किन भने यता यो सदन कहिले अन्त्य गर्ने भन्ने कुराको पनि टुङ्गो भएको छैन। त्यसलाई हेरेर नै समय निर्धारण गर्दा यहि समितिले नै निर्धारण गर्दा ठिक होला।’

बैठकमा कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले नागरिकताको विषयमा उच्च राजनीतिक नेतृत्वबीच नै सहमतिको आवस्यकता रहेको बताए। उनले अंगीकृत नागरिकतामा संविधानले रोक लगाएका विषय भन्दा माथि गएर फेरि विधेयकले रोक लगाउँदा संवैधानिक प्रश्न उठ्ने भएकाले राजनीतिक सहमति नै आवश्यक रहेको बताए।

२०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको विधेयक २०७५ भदौ ५ गतेदेखि समितिमा विचाराधीन छ। समितिले अंगीकृत नागरिकता दिने विषयमा सहमति जुटाउन नसक्दा विधेयक रोकिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .