ad ad

राजनीति


ओलीले प्रचण्डलाई भनेः प्रधानमन्त्री र अध्यक्ष छोड्दिनँ, अरु कुरा छ भने भन्नुस्

ओलीले प्रचण्डलाई भनेः प्रधानमन्त्री र अध्यक्ष छोड्दिनँ, अरु कुरा छ भने भन्नुस्

सागर न्यौपाने
असार १९, २०७७ शुक्रबार १४:९,

फुटको संघारमा पुगेको सत्तारुढ दल नेकपामा संकट अझै गहिरिने देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछोड्ने अडान लिएपछि सहमतिको प्रयास असफल भएको हो।

ओली र अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार तीन घण्टा लामो वार्ता भएको थियो।

सो भेटमा पनि ओलीले पुरानै अडान दोहोर्‍याउँदै प्रधानमन्त्री र पार्टी अध्यक्ष नछाड्ने बताएका छन्।

बैठकमा सहभागी नेताहरूको ब्रिफिङ सुनेपछि नेकपा स्थायी समिति सदस्य रघु पन्तले ‘कुरा नमिलेको’ बताए।

‘प्रधानमन्त्रीले आजको बैठकमा पनि दुई वटै पद छोड्दिनँ भन्नु भएछ, कुरा मिलेन’, पन्तले नेपालखबरसँग भने, ‘प्रधानमन्त्री र अध्यक्षबाहेक अरु कुरा छ भने गरौं, म तपाईंहरूलाई पर्खेर बसेको छु भन्नु भएछ।’

भेटमा अध्यक्ष प्रचण्डले भने पहिलेका दुई वटा सहमतिलाई आधार बनाएर अगाडि बढ्न आग्रह गरेको उनी निकट एक नेताले बताए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने अध्यक्षद्वयको छलफल सकारात्मक रहेको बताए।

‘आजको छलफलले पार्टीमा तनाव अन्त्य गराउने देखाएको छ, फेरि भोलि बैठक बसेर सबै किसिमका असमझदारी अन्त्य गर्ने प्रयास हुनेछ,’ थापाले नेपालखबरसँग भने।

नेकपामा संकट बढ्दै गएपछि नेताहरुले सहमतिका लागि प्रयास गरिरहेका छन्।

शुक्रबार नै दोस्रो तहका ११ जना नेताहरुले छलफल गरी विगतमा भएका सहमतिका आधारमा समस्या समाधान हुनुपर्ने निष्कर्ष निकालेका छन्।

सो छलफलमा कृषिमन्त्री घनश्याम भुसाल, प्रदेश ५ का मुख्यमन्त्री एवम स्थायी समिति सदस्य शंकर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, उर्जामन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, स्थायी समिति सदस्यहरू सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, र मणि थापा थिए।

‘पार्टी एकताका मूल म्यान्डेटलाई आधार बनाएर यसअघिका सहमति कार्यान्वयन गर्दै जानुपर्ने हामीले निष्कर्ष निकालेका छौं,’ रायमाझीले भने, ‘एकले अर्काेलाई पेलेर जानु हुँदैन, सहमति र सहकार्य गरेर अघि बढ्नुपर्ने सुझाव छ।’

छलफलमा सहभागी एक नेताले विगतका सहमति पालना गर्न ओलीलाई दबाब दिइने बताए।

‘विगतमा दुई वटा सहमति भएका थिए– पहिलो, पार्टी एकता गर्नुअघि २०७५ जेठ २ गते आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने सहमति र दोस्रो, गत मंसिर ४ को पूरै कार्यकाल सरकार ओलीले चलाउने र प्रचण्डले कार्यकारी भएर पार्टी चलाउने सहमति,’ ती नेताले भने, ‘ओलीलाई त्यसमध्ये एउटा सहमति पालना गर्न दबाब दिइनेछ।’

असार १० गतेदेखि सुरु भएको स्थायी समितिको बैठकमा अधिकांश नेताहरुले ओलीको राजीनामा माग गरेका थिए। तर, ओलीले आफू दुवै पदबाट नहट्ने भन्दै संसद अधिवेसन अन्त्य गरेपछि नेकपामा संकट चुलिएको हो।

बिहीबारको स्थायी समिति बैठकमा ओली उपस्थित नै भएनन्। उनले प्रचण्डसँग भएको सहमति विपरीत संसद अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेपछि स्थायी कमिटीको बैठक नै अवरुद्ध भयो। ओलीले दल विभाजन गर्न सहज हुने अध्यादेश फेरि ल्याउने आशंका गर्दै प्रचण्डले राष्ट्रपतिसँग भेट गरेका थिए। ओलीसँगको छलफलबाट पनि कुनै निष्कर्ष ननिस्केपछि स्थायी समिति बैठक दुई दिनका लागि स्थगित गरिएको थियो।

तर, शुक्रबारको वार्ता सहमतिको दिशातर्फ अघि नबढेपछि नेकपामा अन्योल देखिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .