ad ad

राजनीति


प्रतिपक्षको नाराबाजीबीच सुदूरपश्चिम प्रदेशसभामा प्रस्ताव पारित

प्रतिपक्षको नाराबाजीबीच सुदूरपश्चिम प्रदेशसभामा प्रस्ताव पारित

नेपालखबर
असार २१, २०७७ आइतबार ७:५६,

सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले प्रतिपक्षी दलको नाराबाजीका बीच ‘आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पारित गरेको छ।

बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्यले आ–आफ्नो आसनवाट उठेर विरोध जनाएका थिए।

विरोधकै बीच सभामुख अर्जुनबहादुर थापाले बैठकमा आगामी आर्थिक वर्षको बजेट कार्यक्रम माथिको कारबाही अगाडि बढाउनु भएपछि ती दुई पार्टीका सदस्य रोष्ट्रम अगाडि पुगेर नाराबाजी गरेका थिए।

नाराबाजीकै बीच आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्षको बजेट कार्यक्रममाथि छलफल गरियोस् भनि गरेको प्रस्तावलाई बैठकले पारित गरेको हो।

प्रतिपक्षी दलका सदस्यले बेल घेरेर नाराबाजी गरिरहँदा पनि प्रस्ताव पारित गर्ने कार्य असंसदीय भएको टिप्पणी कांग्रेसका सदस्य भरतबहादुर खड्काले गरे। सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यक्रमबारे प्रतिपक्षी सदस्यको माग सुनुवाइ नभएसम्म प्रदेशसभा बैठकमा विरोध जारी रहने उनले बताए।

प्रतिपक्षी दलले राखेका मागबारे छलफल गर्न सरकार र प्रतिपक्षी दलकाबीच चारपटक वार्ता भए पनि आजसम्म कुनै निष्कर्ष निस्कन नसकेको जनाइएको छ। बैठकलाई पुनः सञ्चालन गर्ने विषयमा छलफल गर्न बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा पनि कुनै सहमति जुट्न नसकेको बताइएको छ।

सरकारले कोरोना भाइरसको रोकथाम र व्यवस्थापनमा प्रभावकारी काम गर्न नसकेको, विभिन्न निकायमा भइरहेको भ्रष्टाचार र अनियमिता रोक्न नसकेको, बजेट बाँडफाँटमा असमान व्यवहार गरिएको, कोरोना भाइरसको रोकथामका लागि भएको रु ५३ करोड खर्चको वास्तविक विवरण सदनलाई जानकारी नदिइएको जनाउँदै प्रतिपक्षीदलले विरोध गर्दै आएका छन्। ५३ सदस्य रहेको प्रदेशसभामा सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ३९, प्रतिपक्षी नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना सदस्य छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .