सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले तत्कालीन एमाले र माओवादी केन्द्रबीच ०७५ जेठ ३ गते भएको एकीकरणका बाँकी काम आज साँझसम्म टुंग्याउने भएको छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज ललितपुर जिल्ला कमिटीकाे शपथग्रहण तथा प्रथम पूर्ण बैठकलाइ सम्बाेधन गर्दै यसबारे जानकारी दिएका हुन्।
‘पार्टी एकताको बाँकी काम असार मसान्तमा सक्ने भनेर सार्वजनिक गरिएअनुसार नै अर्का अध्यक्ष केपी ओली र मैले यो महिनाभित्रै पार्टी एकताको काम टुंग्याउने भनेका हौँ। हामी केही दिनदेखि लागिरहेका छौँ’, प्रचण्डले भने, ‘सकेसम्म आज कार्यविभाजन, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार परिषद अनि विशेष कमिटीहरु, विभागहरु, आयोगहरु आजै टुंग्याउने तयारीमा छौँ।’ मूलभूत रुपमा एकताका बाँकी काम आजै टुंग्याउने उनले बताए।
त्यसपछि सचिवालय बैठक र स्थायी समिति बैठक बसेर त्यसलाई अन्तिम रुप दिने र केन्द्रीय समितिको बैठकमार्फत एउटा कार्यक्रम र अभियान बनाई कार्यान्वयनका लागि देशभरि अभियानमा जाने प्रचण्डले जानकारी दिए ।
केही महिनाभित्र पार्टी कमिटी र जनतासँगको सम्बन्धलाई सुदृढ पार्ने सन्दर्भमा नेतृत्वसमेत संलग्न हुनेबारे छलफल गरिरहेको उनले बताए । ‘आज बेलुकासम्म पार्टी एकताका बाँकी काम मूलभूत रुपमा टुँग्याउँछौँ । केही केही बाँकी रहे भने त्यो सामान्य प्राविधिक कुरामात्रै हुन्छ’, प्रचण्डले भने, ‘त्यसलाई अनुमोदन सचिवालयबाट स्थायी समिति हुँदै केन्द्रीय समितिमा लगेर हुन्छ।’
पार्टी एकताको काम ढिलो भएको स्वीकार्दै प्रचण्डले भने, ‘यो खबर खुसीको खबर हो। म तपाईंहरुको शपथग्रहण समारोहमा यो खुसीको खबर साट्न चाहन्छु ।' ढिलै भए पनि काम फत्ते गरेको प्रचण्डले दाबी गरे। ‘अस्तिसम्म आउँदा ज्येष्ठ कम्युनिष्ट मञ्चको सल्लाहकार परिषद्, आयोगहरु, विभागहरुका सबै मुख्य संरचनाहरु टुंग्याएका छौँ’, प्रचण्डले भने, ‘अब खालि फिल इन द ब्ल्यांक भनेजस्तो खाली ठाउँ भर्न मात्रै बाँकी छ ।’ यसलाई सजिलैसँग पूरा गर्न सकिने उनले बताए।
अर्को प्रसंगमा प्रचण्डले नेपालमा कम्युनिष्टहरुको इतिहास, विभाजन र एकताको प्रक्रियालाई देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले यसलाई अवरोध गर्न खोजेको उनले बताए । कम्युनिष्ट पार्टी एक्लै लोकप्रियमत हासिल कसैले माया गरेर नदिएको बताउँदै उनले आफ्नै त्याग, तपस्या, बलिदानको माध्यमबाट प्राप्त भएको बताए। जनताको आकांक्षाअनुसार विकास र निर्माणलाई अगाडि बढाउन र राजनीतिक स्थायित्वका लागि दुई ठूला कम्युनिष्ट पार्टी एक भएको प्रचण्डको दाबी छ।
यही सोचका साथ धेरै हिसाबकिताब गरेर एकीकरण गरेको उनको भनाइ छ। एकीकरणको निर्णयलाई चुनावमा जनताले अनुमोदन गरेको र प्रतिक्रियावादी शक्तिलाई पराजित गर्न सफल भएको प्रचण्डले बताए। एकीकरणको निर्णयले कार्यकर्ताले शतप्रतिशत समर्थन गरेको उनले दाबी गरे। एकीकरणका क्रममा विभिन्न खालका घेराबन्दी र दबाब आएको खुलाउँदै उनले जनता र कार्यकर्तामाझ गरेको प्रतिबद्धतालाई जीवराज आश्रित र मदन भण्डारीको स्मृतिका दिन नै पार्टी एकताको घोषणा गरेको बताए।
एकताबाट जनताले र राष्ट्रले धेरै अपेक्षा गरेको बताउँदै उनले सुशासनको भरोसा भएरै जनमत हासिल भएको उनले दाबी गरे। अगाडि निकै ठूलो चुनौती र जिम्मेवारी रहेको उनको भनाइ छ।
प्रतिक्रिया