ad ad

राजनीति


भनाभनमै टुंगियो ओली–प्रचण्ड बैठक, चार दिनयता भेट नै भएन

भनाभनमै टुंगियो ओली–प्रचण्ड बैठक, चार दिनयता भेट नै भएन

नेपालखबर
असार २८, २०७७ आइतबार १७:४७,

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच तीन दिनअघि बालुवाटारमा भएको भेटवार्ता निकै तिक्त अवस्थामा टुंगिएको पाइएको छ।

पार्टीमा देखिएको पछिल्लो विवाद सहमतिमा मिलाउने जिम्मेवारीमा रहेका ओली र प्रचण्डबीच चार दिनयता भेटवार्ता त टाढाकै कुरा बोलचाल पनि भएको छैन। नेपालखबरले बालुवाटारमा ओली–प्रचण्डबीच भएको पछिल्लो एक्लाएक्लै भेटको भित्री कथा पहिल्याएको छ।

नेकपा सचिवालयका एक जना सदस्यलाई अध्यक्ष प्रचण्डले बिहीबार बालुवाटारबाट फर्केर गरेको ब्रिफिङ अनुसार ओलीसँग उनको भेट यति धेरै तिक्त यसअघि कहिल्यै भएको थिएन।

‘तपाईं पहिला हात छोड्नुस् त्यसपछि म जवाफ दिन्छु’, भेटको अन्तमा ओलीले प्रचण्डलाई भनेका थिए।

लगत्तै प्रचण्डले जवाफ फर्काएका थिए, ‘तपाईंलाई त्यत्ति सजिलो हुन कहाँ दिउँला र!’

सचिवालयका ती सदस्यका अनुसार करिब डेढ घन्टा लामो भेटका क्रममा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा गर्नु पर्ने कुरा दोहोर्याएपछि ओलीले निकै आक्रोशित भएर प्रधानमन्त्रीबाट आफुलाई हटाउने प्रस्ताव औपचारिक रुपमा ल्याए पार्टी विभाजन सहज बनाउन अध्यादेश ल्याउने लगायत कदम चाल्न सक्ने संकेत दिएका हुन्।

पार्टीको स्थायी समिति बैठकमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छोड्नु पर्ने माग भएपछि नेकपामा टकराव बढेर गएको छ। त्यसलाई सहमतिमा टुंग्याउने प्रयास अन्तर्गत बिहीबार पनि प्रधानमन्त्री निवासको माथिल्लो तलाको कोठामा ओली र प्रचण्डले करिब डेढ घन्टा एक्लाएक्लै वार्ता गरेका थिए।

‘अघिल्लो दिनको भेटमा नै ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष आफुले नछोड्ने तर अन्य विषयमा छलफल गर्न सकिने बताइसकेका थिए, बिहीबार प्रचण्डको कुरा चित्त नबुझेपछि झोकाझोक परेको हो’, सचिवालयका ती नेता भन्छन्, ‘त्यसपछि ओली जुरुक्क उठेर अर्को कोठामा गएर बस्नु भएछ, अनि प्रचण्डपनि त्यहाँबाट हिंड्नु भयो।’

स्थायी समिति बैठकमा पद छोड्न दबाब परेपनि ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछोड्ने तर अन्य विषयमा छलफल गर्न तयार रहेको बताउँदै आएका छन्। त्यसयता सहमति खोज्ने सबै प्रयास निरर्थक भइरहेका छन्।

त्यही क्रममा ओली र प्रचण्डबीच बिहीबार भएको भेट एकदमै तनावपूर्ण अवस्थामा टुंगिएको हो। त्यस्तो अवस्थामा बैठक टुंगिएपनि दुवै पक्षले त्यसलाई बाहिर ल्याएका थिएनन्। बालुवाटारबाट फर्केपछि प्रचण्डले खुमलटार निवासमा पुगेर केही नेताहरूलाई यसबारे ब्रिफिङ गरेका थिए।

भोलिपल्ट शुक्रबार टेलिफोनमै छोटो कुराकानी गरेर ओली र प्रचण्डले अतिबृष्टि र बाढी पहिरोको कारण देखाउँदै स्थायी समिति बैठक एक सता, साउन २ गतेसम्मका लागि स्थगित गरेका थिए। त्यसयताका चार दिनसम्म ओली र प्रचण्डबीच बोलचाल भएको छैन।

शनिबार र आइतबार काठमाडौंमा ‘नेकपा अब विभाजित नहुने’ र ‘पार्टी विवाद सहमति नजिक पुगेको’ हल्ला चलेपनि अहिलेसम्म सहमति भइसकेको छैन। तर धेरै नेताहरूको भनाइ के छ भने अब पार्टी विभाजन चाहिँ हुँदैन।

शनिबार आफ्नो गृहजिल्ला चितवन पुगेर प्रचण्डले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर सबैको पहलमा नयाँ नक्सा जारी गरिएको बताए। जसबाट प्रचण्डले सडकमा आफ्नो पक्षमा नागरिक उतारिरहेका ओलीलाई जवाफ दिन खोजेको हिसावले कतिपयले लिएका छन्।

‘यहाँ कोही राष्ट्रघाती दलाल कोही महान राष्ट्रवादी भन्ने होइन’, प्रचण्डले आइतबार चितवनको माडीमा भने, ‘हामी सबै मिलेर नाकाबन्दीको सामाना गरेका हौं, सबै मिलेरै नयाँ नक्सा बनाएका हौं।’

चितवनबाट प्रचण्डले ‘अन्तिम अवस्थासम्म पार्टी फुट्न दिन्न’ भनेर ओलीलाई दोस्रो जवाफ दिएको नेकपाका अर्का एक नेता बताउँछन्।

‘अहिले पार्टी फुटाउन सक्ने भनेकै ओली पक्षले हो, अर्को पक्षले फुटाउन सक्दैन, प्रचण्डले पार्टी फुट्न दिन्न भनेर ओलीलाई नै भन्नु भएको हो’, ती नेता भन्छन्।

ओलीसँग संवाद नै अवरुद्ध भएपछि चितवन गएका प्रचण्ड सोमबार साँझ काठमाडौं फर्कने कार्यक्रम छ। त्यसपछि पनि ओली र प्रचण्डबीच भेटवार्ता हुने निश्चित छैन।

प्रचण्ड–माधव नेपाल पक्षका केही नेताले भने साउन २ गते स्थायी समिति बैठक बस्ने र त्यसले केन्द्रीय समिति बैठक डाक्ने तयारी भइरहेको दाबी गरेका छन्।

‘ओली आफ्नो अडानबाट टसमस नगर्ने पक्षमा हुनुहुन्छ, दुई अध्यक्षबीच केही कुरा पनि मिलेको छैन’, स्थायी समितिका एक जना सदस्य भन्छन्, ‘साउन २ गते बस्ने बैठकले संभवतः केन्द्रीय समिति बैठक बोलाउन सक्छ र, सबै विषय त्यहाँबाट नै टुंगो लगाउने हुन सक्छ।’

ओली पक्ष भने अहिलेकै अवस्था लम्ब्याउँदै, स्थायी समिति बैठक सार्दै जाने र अर्को पक्षलाई थकाउने मनस्थितिमा रहेको देखिन्छ।

ओली पक्षका एक जना केन्द्रीय सदस्यका अनुसार प्रधानमन्त्री ओली पार्टीको बैठक सार्दै जाने र मन्त्रीपरिषद पुनर्गठन गर्ने तयारीमा छन्।

‘सकेसम्म वामदेव गौतम र रामबहादुर थापालाई आफ्नो पक्षमा ल्याएर सचिवालयमा बहुमत पुर्याउने हुन सक्छ’, ती केन्द्रीय सदस्य भन्छन्, ‘मन्त्रीपरिषद पुनर्गठन गर्ने क्रममा स्थायी समितिका सदस्य पनि ओली पक्षमा थपिन सक्छन्, जसले एउटा फरक माहोल बनाउन सक्छ।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .