ad ad

राजनीति


प्रधानमन्त्रीको राजीनामाको विषय अब नेकपा केन्द्रीय समितिमा, स्थायी समितिले बैठक मिति तोक्ने

प्रधानमन्त्रीको राजीनामाको विषय अब नेकपा केन्द्रीय समितिमा, स्थायी समितिले बैठक मिति तोक्ने

नेपालखबर
साउन १, २०७७ बिहिबार १५:१५,

सत्तारुढ नेकपाका तीन शीर्ष नेता स्थायी समिति बैठकबाट विवादको टुंगो नलागेपछि केन्द्रीय समिति बैठक बोलाएर छलफल गर्ने निष्कर्षमा पुगेका छन्।

भोली शुक्रबार बस्ने स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको मिति टुंगो लगाउने र एक महिनाभित्र बैठक आयोजना गर्ने तयारी भएको छ।

केन्द्रीय समिति बैठक आयोजना गर्ने सहमति भएपछि भोलीको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको औपचारिक प्रस्ताव नल्याउने निर्णय प्रचण्ड–माधव नेपाल समूहको भेलाले गरेको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा तीन शीर्ष नेताको छलफलमा केन्द्रीय समिति बैठक बोलाउने सहमति भएको नेकपाका एक जना वरिष्ठ स्थायी समिति सदस्यले बताए।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएका श्रृंखलावद्ध छलफल सहमतिमा पुग्न नसकेपछि बिहीबार वरिष्ठ नेता माधवकुमार नेपाल सहित तीन नेताबीच भेटवार्ता भएको थियो।

‘दुई अध्यक्ष, तीन नेता र स्थायी समिति बैठकले पनि सहमति जुटाउन नसकेपछि अब सबै एजेण्डा पार्टीको सर्वोच्च निकाय केन्द्रीय समितिमा लगेर छलफल गर्ने समझदारी आज बालुवाटारमा भएको छ’, प्रचण्ड–नेपाल समूहका एक स्थायी समिति सदस्यले भने, ‘भोली शुक्रबार बस्ने स्थायी समितिले केन्द्रीय समिति कहिले बोलाउने निर्णय गर्छ।’

केन्द्रीय समिति बैठक बोलाउने सहमति भएपछि भोलिको स्थायी समिति बैठक नरोक्ने समझदारी तीन नेताबीच भएको हो।

बालुवाटारमा बिहीबार भएको भेटवार्तामा प्रचण्ड र नेपालले ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिएर अहिलेको विवादको निकास दिन आग्रह गरेका थिए। ओलीले त्यसलाई अस्वीकार गरेपछि शुक्रबार स्थायी समिति बोलाएर केन्द्रीय समिति बैठकको मिति तोक्ने सहमति भएको हो।

सहमति नजुटेपछि बिहीबार साँझ प्रचण्ड–नेपाल समूहका सचिवालय र स्थायी समिति सदस्यहरूको भेला खुमलटार र ओली समूहको भेला बालुवाटारमा भएको छ।

भेला सकेर खुमलटारबाट निस्केका स्थायी समितिका एक जना वरिष्ठ सदस्यका अनुसार भेलामा सचिवालयका ६ जना सहित प्रचण्ड–नेपाल पक्षका प्राय सबै स्थायी समिति सदस्य सहभागी भएका थिए।

‘खुमलटार भेलाले पनि केन्द्रीय समिति बैठकमा जाने भए भोलीको स्थायी समिति बैठकमा प्रधानमन्त्रीको राजीनामाको प्रस्ताव औपचारिक रुपमा नलैजाने सहमति गरेको छ’, ती नेताले भने।

उनका अनुसार राजनीतिक प्रतिवेदन समेत तयार गर्नु पर्ने भएकाले केन्द्रीय समिति बैठक दुई सातादेखि एक महिनाभित्र बस्न सक्ने छ।

‘भोलि स्थायी समिति बैठकमा संभवतः अरु प्रस्ताव जाँदैन, केन्द्रीय समिति बैठक कहिले राख्ने भन्ने विषयमा छलफल भएर मिति पनि तोकिन्छ’, स्थायी समितिका ती सदस्य भन्छन्, ‘स्थायी समितिमा उठेका सबै एजेण्डा अब केन्द्रीय समितिमा जान्छ।’

केन्द्रीय समिति सर्वोच्च निकाय भएकाले त्यहाँ दुई वटा छुट्टाछुट्टै राजनीतिक प्रतिवेदन जान सक्ने नेताहरूले बताएका छन्। त्यस्तै ओली समूह र प्रचण्ड–नेपाल समूहले एजेण्डा पनि छुट्टाछुट्टै लैजान सक्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .